प्रशासन भन्छ : हतियारधारी देखिएकाले प्रहरी उतार्यौं

|

सोलुखुम्बु : आइतबार राति नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताबाट छेस्काम प्रहरी चौकीमा आक्रमणको प्रयास असफल भएको समाचारले सनसनी मच्चियो। छेस्काममा हेलिकप्टरबाट जनपथ र सशस्त्रको टोली उतारिएपछि अर्को तरंग भएको छ ।

यो समाचारले छेस्काममा राज्यकै ध्यान केन्द्रित भएको छ। यो घटनालाई लिएर विभिन्न कोणबाट विश्लेषणसमेत गरिएको छ । यसैलाई लिएर गृहमन्त्री रामबहादुर थापा बादलले तीनवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन् । 

गएरातिको उक्त घटनापछि सोमबार दिउँसो गृहमन्त्री थापाले सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई गृहमन्त्रालयमा बोलाएर घटनाबारे जानकारी लिएका हुन् । 

तीनवटै सुरक्षा निकायका प्रमुखले विप्लवका कार्यकर्ताले सोलुखुम्बुको महाकुलुङ गाउँपालिका-३ छेस्कामस्थित प्रहरी चौकी कब्जाको प्रयास गरेको रिपोर्ट आफूहरुकहाँ आएको बताएका थिए।

विप्लव नेकपाले यसो भन्यो

छेस्काम घटनाले देशभर तरंग भएका बेला नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सुरक्षाकर्मीमाथि आक्रमण गर्ने कुनै योजना नभएको स्पष्टिकरण दिएको छ । 

छेस्काम प्रहरी चौकी कब्जा प्रयास भएको समाचार सार्वजनिक भएपछि विप्लवका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले विज्ञप्ति निकाल्दै यस्तो स्पष्टिकरण दिएका हुन् ।

ओली-प्रचण्ड सामाजिक दलाल सरकारले नेपाल कम्युनिष्ट पार्टीमाथि दमनको अनेक षड्यन्त्र र हत्या गरिरहेको उनीहरुको आरोप छ ।

प्रकाण्डले निकालेको विज्ञप्तिमा सोलुखुम्बुमा चौकी आक्रमण गर्ने प्रयास भएको भन्ने नियोजित र षडयन्त्रपूर्ण प्रचारबाजीप्रति पार्टीको ध्यानाकर्षण भएको उल्लेख छ । विज्ञप्तिमा सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको कुनै नीति नभएको पनि दाबी गरिएको छ । 

सोलुखुम्बुमा त्यस प्रकारको कुनै घटना नभएको दावी सहित पूर्वी नेपालमा दमन गर्ने सरकारी षड्यन्त्र अनुरुप त्यस प्रकारको समाचार ल्याएको स्पष्ट पार्न खोजिएको छ ।

प्रशासन भन्छ : घटना भएको छैन

विप्लवले छेस्काम प्रहरी चौकी कब्जा गर्ने प्रयास गरेको भन्ने समाचारमा सत्यता नभएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले दाबी गरेको छ । 

प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले सामाजिक सञ्जालमा आएको अपुष्ट कुरालाई आधार बनाई समाचार सम्प्रेसन गरिएको जिकिर गरे । उनले महाकुलुङ क्षेत्रमा विप्लवको गतिविधि बढेको कुरा स्वीकारे । त्यहीकारण त्यसक्षेत्रमा सुरक्षा सतर्कता अपनाइएको जवाफ दिए। 

केही दिन अघिदेखि त्यस क्षेत्रमा हतियारधारी समुह आएको स्थानीयले बताएका छन् । ती समुह विप्लवकै कार्यकर्ता हुनसक्ने आशंका अनुसार सुरक्षा व्यवस्था मजबुत बनाइएको प्रशासनले जनाएको छ।

समाचार कति सत्य ?     

सोलुखुम्बु प्रहरी-प्रशासनले इन्कार गरे पनि सोमबार दिनभर चौकीमा आक्रमण् भएको समाचार विभिन्न सञ्चारमाध्यममा आइरहे। ती समाचारमा गएराति करिब ३० जनाको समूहमा आएका विप्लव समुहका कार्यकर्ताले प्रहरी चौकी कब्जा प्रयास गरेको दाबी गरिएको छ। 

समाचारमा उल्लेख भएअनुसार मध्यराति करिब १२ बजेको समयमा माओवादीका कार्यकर्ता चौकी पुगे पनि त्यसअघि नै प्रहरी हतियारसहित सुरक्षित स्थानमा गएकाले मानवीय तथा भौतिक क्षति नभएको हो । 

उनीहरु प्रहरी चौकीमा बिहान ३ बजेसम्म त्यही आसपासमा बसेको बताइएको छ।  यो घटनाक्रमलाई प्रहरी-प्रशासनले अझै पुष्टि गरेको छैन । 

गाउँपालिका अध्यक्ष के भन्छन् ?

तीन दिनदेखि सदरमुकाममा रहेका महाकुलुङ गाउँपालिका अध्यक्ष सागर किरातीले पनि छेस्काम चौकी आक्रमणको प्रयास भन्ने समाचारमा सत्याता नभएको बताए । 

उक्त क्षेत्रमा अहिले टेलिफोन सेवा अबरुद्ध भएको छ । गुदेलमा रहेको विद्युत अवरुद्ध हुँदा टेलिकमको रिपिटर टावरले काम गर्ननसक्दा त्यस क्षेत्रमा फोन सम्पर्क हुदैन ।

सेना गएको छैन : सैनिक प्रवक्ता

छेस्काममा अहिले प्रदेश र जिल्लाबाट नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली क्षेत्रमा हेलिकप्टरमार्फत् पुगिसकेका छन्। उक्त क्षेत्रमा सेनाको टोली खटिएको भन्ने समाचारलाई नेपाली सेनाले भने अस्वीकार गरेको छ । 

छेस्काम घटनापछि नेपाली सेनाको टोली परिचालन नभएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताए। विभिन्न सञ्चार माध्यममा आएको समाचारमा नेपाली सेनासमेत परिचालन गरिएको उल्लेख थियो। 

सशस्त्र प्रहरी भन्छ : कम्ब्याट लगाएका देखिए

यता सशस्त्र प्रहरी बलले भने छेस्काम प्रहरी चौकीमा सैन्य पोशाक लगाएका करिब २५ जनाको समूह पसेको पुष्टि गरेको छ । सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी सुरज श्रेष्ठले प्राप्त सूचना अनुसार कम्ब्याट लगाएका करिब २५ जना हतियारधारी समूह चौकी क्षेत्रमा देखिएको बताए

कम्ब्याटसहितका हतियारधारी कुन समूहका हुन् भन्ने नखुलेको बताउँदै उनले आशंका विप्लवकै कार्यकर्तामाथि रहेको श्रेष्ठले बताए ।

कब्याट लाउने खोजिँदै

अहिले त्यस क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले सैन्य पोशाक लगाउने टोलीको खोजी गरिरहेको छ । जिल्ला सदरमुकाम सल्लेरी, काठमाडौं र प्रदेश राजधानी विराटनगरबाट दुवै प्रहरीको टोली पुगेको हो। टोलीले महाकुलुङ क्षेत्रमा केन्द्रित भएर खोजतलास गरिरहेको हो । 

गाउँले भन्छन् : गाउँ गाउँमा प्रहरी पसे

महाकुलुङस्थित गुदेलकी तारा राईका अनुसार  गाउँ गाउँमा दुवै प्रहरी खटिएका छन् । उनका अनुसार केही दिनदेखि गाउँघरमा प्रहरीले गस्ती बढाइरहेको छ । 

आइतवार र सोमबार काठमाडौंबाट सशस्त्र प्रहरीको ११ र जनपथ प्रहरीको २० जनाको टोली यहाँ आएको छ। प्रदेश राजधानीबाट सशस्त्रको १६ जनाको टोली पनि महाकुलुङ्ग क्षेत्रमा पुगेका छन्।    

त्यस क्षेत्रमा अप्रिय घटना हुन नदिन सुरक्षा  व्यवस्था मजबुत बनाइएको प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले बताए । ‘जनताको जीउधन सरक्षा गर्न र शान्ति कायम राख्ने जिम्मा प्रहरी प्रशासनको हो’, उनले भने, ‘त्यही अनुसार व्यवस्था मिलाइएको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.