प्रधानमन्त्रीले पठाउँदै छन् खर्च

|

काठमाडौं : सबै बालबालिकालाई विद्यालय भर्ना अभियान गर्ने क्रममा धेरै विशिष्ट व्यक्तिहरुले अभिभावकत्व ग्रहण गरे। नेतादेखि प्रधानमन्त्रीसम्मले बालबालिकालाई हातमा पुस्तक थमाएर विद्यालयमा भर्ना त गरे। तर त्यसपछिको दायित्व भने उनीहरुले भुले। 

आफूलाई बाबुआमामको रुपमा प्रस्तुत गर्दै विद्यालयमा भर्ना गरिएका ती छोराछोरी अहिले के गर्दैछन्? उनीहरुमध्ये कमैले त्यसको खोजीनिति गरेका छन्।

यार्सा टिप्‍न प्रधानमन्त्रीकी छोरी

प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक अवस्था कमजोर र बुवा गुमाएकी मुगुको कर्मारोङ गाउँपालिका-८ की ठिन्ले साङ्मु तामाङलाई छोरी बनाएर विद्यालयमा भर्ना गरेका थिए। २०७५ बैशाख १ गते विद्यार्थी अभियानको अवसरमा मुगु पुगेका प्रधानमन्त्री ओलीले सबै पढाई खर्च व्यहोर्ने भन्दै ८ वर्षीया उनीलाई कक्षा १ मा भर्ना गरे अभिभावकत्व ग्रहण गरेका थिए।

प्रधानमन्त्री ओलीले उनलाई छोरीको दर्जा दिएर कपी कलम थमाउँदै अभिभावकत्व त ग्रहण गरे तर असली अभिभावकको भूमिका निभाउन सकेनन्। फलस्वरुप उनकी छोरी अहिले पढाई छाडेर खर्चको जोहो गर्न एक महिनाका लागि यार्सागुम्बा पाइने हिमाली पाटन क्षेत्र पुगेकी छन्। 

प्रधानमन्त्रीले अभिभावकत्व लिएपछि उनको पठनपाठन र दिनचर्या फेरिने भरोसा आफन्तले गरेका थिए। उनी १ कक्षाबाट राम्रै नतिजा ल्याएर कक्षा २ मा पनि पुगिन्। तर २ मा पुगेको २ महिना नबित्दै खर्च जुटाउन उनी लागिन् हिमाली पाटनतिर।

प्रधानमन्त्री धर्मपत्नी राधिका शाक्यले पनि छिरिङ छोङ्जुम तामाङको अभिभावकत्व ग्रहण गरेकी थिइन। शाक्यले आभिभावकत्व ग्रहण गरेकी छोराी पनि यार्सा टिप्न पहाड चढेकी छन्। वर्षभरिको पढाई र  घरायसी खर्च जुटाउन उनलाई पाटनले तानेको हो।

पढ्दैछन् पवन र खत्वे

गत वर्ष नै ओलीले सिरहास्थित रुपाकुमारी खत्वे मण्डल र पवन मल्लिक डोमलाई रामदुलारी माध्यमिक विद्यालयमा भर्ना गरी अभिभावकत्व ग्रहण गरेका थिए।

विद्यालयका प्राध्यानध्यापक लालदेव शाहले दुवै विद्यार्थी अहिले कक्षा २ मा अध्ययनरत रहेको बताए। ‘विद्यालयको अवस्था अनुसार विद्यार्थीको पढाई राम्रै देखिन्छ,’ उनले भने, ‘प्रधानमन्त्रीज्यूले विद्यार्थीको हेरचाह गरिरहनु भएको छ। विद्यार्थीका लागि लत्ताकपडा, खर्च, शैक्षिक सामग्री र खाजाको व्यवस्था गर्दै आउनु भएको छ।’

राहुल पढ्दैछन्, मुख्यमन्त्रीले माया मारे

त्यही विद्यालयमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले राहुलकुमार महरालाई भर्ना गर्दै अभिभावकत्व ग्रहण गरेका थिए। राहुलकुमार अहिले २ कक्षामा पढ्दैछन्। तर मुख्यमन्त्री राउतले अभिभावकको भूमिका पुरा गर्न सकेनन्।

‘विद्यार्थी भर्ना गरेपछि मुख्यमन्त्री राउत एक पटक पनि विद्यालयमा पनि आउनु भएको छैन', प्रअ साहले भने, 'विद्यार्थीले अहिलेसम्म केही पाएका छैनन्। मुख्यमन्त्रीज्यू आउनुभो, भर्ना गरेर जानुभो। फर्किएर आउनु भएन।'

प्रअ साहका अनुसार राहुलकुमार विपन्‍न परिवारका बच्चा हुन्। मुख्यमन्त्रीले भर्ना गरेर छोडे पनि राहुल विद्यालय भने गइरहेका छन्। तर मुख्यमन्त्रीबाट उनले कुनै सहयोग पाएका छैनन्।

दोस्रो भए सञ्चारमन्त्रीका छोरा

प्रधानमन्त्रीसँगै सञ्चारमन्त्री गोकुल बाँस्कोटाले पनि गत वर्ष काभ्रेस्थित रिजन दनुवारलाई आजाद माध्यमिक विद्यालयमा भर्ना गरी अभिभावकत्व ग्रहण गरेका थिए। उनले दनुवारलाई १ कक्षामा भर्ना गरेका थिए। सञ्चारमन्त्री बास्कोटाले दनुवारलाई भर्ना गरेपछि हेरचाह गर्दै आएका छन्।

प्राध्यानध्यापक प्रहलाद तिमिल्सिनाले दनुवारको पढाई निरन्तर चलिरहेको बताए । कक्षामा दोस्रो हुन सफल भएको बताए। 'सञ्चारमन्त्रीले उनको पढाईको सबै जिम्मा लिनुभएको छ', प्रअ तिमिल्सिनाले भने, ‘नयाँ शैक्षिक सत्रमा मन्त्री आफैँ विद्यालयमा आएर बच्चाको लागि आवश्यक शैक्षिक सामाग्री उपलब्ध गराएर जानु भएको छ। समयसमयमा बच्चाको हेरचाह पढाईको अवस्थाबारे बुझिराख्नुहुन्छ।’ उनका अनुसार आजाद दनुवार समुदाय र गरिब परिवारका बच्चा हुन्। भूकम्पले घर भत्काएपछि उनी टहरामुनि बस्दै आएका छन्।

अरुण र पत्रुस के गर्दैछन्?

नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको भरतपुरका अरुण मुसहर र प्रत्रुस माझीलाई साझापुर माध्यमिक विद्यालयमा भर्ना गरी अभिभावकत्व ग्रहण गरेका थिए।

दुवैजनालाई भर्ना गरेपछि उनले अभिभावकको भूमिका निभाउनमा कन्जुस्याईँ गरेका छैनन्। दुवै बच्चाका लागि आवश्यक खर्च र शैक्षिक साम्राग्री उनले निरन्तर उपलब्ध गराउँदै आएका छन्।

साझापुर माध्यमिक विद्यालयका प्राध्यानध्यापक तेजेन्द्र भुसालले पूर्वप्रधानमन्त्री दाहालले अभिभावकत्व ग्रहण गरेपछि दुवै बच्चाको हेरचाह गर्दै आएको बताए । उनले दुवै विद्यार्थी नियमित विद्यालय आइरहेको जानकारी दिए।

‘प्रचण्डले अरुण मुसहरलाई कक्षा १ मा र प्रत्रुस माझीलाई नर्सरीमा भर्ना गर्नु भएको हो,’ उनले भने, ‘उहाँले आफू विद्यालयमै आउन नसके पनि सचिवालयका कर्मचारीले विद्यार्थीको अवस्था बुझ्दै शैक्षिक समाग्री, खर्च उपलब्ध गराउँदै आउनु भएको छ।’ उनले दुवै विद्यार्थीको पढाई राम्रो भएको जानकारी दिँदै विद्यालय पनि नियमित आउने गरेको बताए।

विद्यालयका विशेष कार्यक्रममा दाहाल आफैं पुगेर विद्यार्थीसँग बस्ने, भेट्ने गरेको प्रअ भुसालले बताए। दाहालले भर्ना गरेका विद्यार्थीमार्फत् अन्य मुसहर र माझी समुदायका विद्यार्थीको सङ्ख्या बढेको उनको भनाइ छ।

दाहालले विद्यालयका उक्त विद्यालयमा अध्ययनरत चेपाङ र मुसहर समुदायका २३ विद्यार्थीलाई जिल्ला शिक्षा कार्यालयमार्फत् दिवा खाजाको व्यवस्था गरिदिएका छन्। दुवै विद्यार्थीका लागि पुस्तक र विद्यालयको पोशाक दाहालको निजी सचिवालयबाट उपलब्ध हुँदै आएको छ।

शक्तिकी छोरी अन्तै गइन्

वन तथा वातावरणमन्त्री शक्ति बस्‍नेतले जाजारकोटस्थित शिव माध्यमिक विद्यालयमा प्रमोद रावत र शर्मिला विकलाई विद्यालयमा भर्ना गरी अभिभावकत्व ग्रहण गरेका थिए।

विद्यालयका प्रध्यानध्यापक तिलक खत्रीले मन्त्री बस्‍नेतकी छोरी शर्मिलाले उक्त विद्यालय छोडेर अन्यत्र गएकी छन्। प्रमोद रावत त्यही विद्यालयमै बस्नतेको खर्चमा अध्ययनरत छन्।

रक्षामन्त्रीले बिर्सिए

रक्षामन्त्री ईश्वर पोखरेलले मुगुस्थित नेपाल राष्ट्रिय माविमा सूर्यदेवी रोकाया र पुष्कर रोकायालाई भर्ना गर्दै अभिभावकत्व ग्रहण गरेका थिए। विद्यालयका प्रधानाद्यापक हसजङ्ग शाहले रक्षामन्त्री पोखरेलबाट भर्ना भएका पुष्कर रोकाया अन्त पढ्न गएको बताए।

सूर्यदेवी रोकायाले अहिले कक्षा २ मा अध्ययन गरिरहेको बताउँछन् उनी। ‘विद्यार्थीको पढाई राम्रो छ तर रक्षामन्त्रीले भर्ना गरेर गएदेखि उनीहरुको लागि केही उपलब्ध भएको छैन,’ उनले भने ‘रारामा प्रधानमन्त्रीसँगै आएर रक्षामन्त्रीले अभिभावकत्व ग्रहण गर्नुभएको हो, भर्नापछि हेरविचार गर्नुभएन, उहाँले अभिभावकत्व नै बिर्सनुभयो।’

प्रथमभइन् भगवता

प्रदेश सभा ५ का सदस्य चेतनारायण आचार्यले गत वर्ष भगवता खनाललाई अर्घाखाँचीस्थित दीप आधारभूत विद्यालयमा भर्ना गर्दै अभिभावकत्व ग्रहण गरेका थिए।

उनले भगवतालाई ३ कक्षामा भर्ना गरेका थिए। प्रध्यानध्यापक ओमनारायण आचार्यले उनी कक्षामा प्रथम भएको बताए। ‘उनका बुबा हुनुहुन्‍न। आर्थिक अवस्था कमजोर भएको परिवारकी सदस्य हुन् उनी,’ उनले भने, ‘चेतनारायणले भर्ना गरेपछि भगवतालाई वार्षिक विद्यालयको पोसाक, खाजा खर्च, शैक्षिक सामाग्री सबै दिँदै आउनुभएको छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.