|

काठमाडौं :  पछिल्लो तीन साताको अवधिमा सुनसरीका विभिन्न ठाउँमा एकैपटक धेरैजनामा डेंगु देखिएपछि उच्च सतर्कता अपनाइएको छ।

धरानमा  केही दिनदेखि फैलिएको डेंगु नियन्त्रणबाहिर गएपछि  स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहोनी नै डेंगु प्रभावित क्षेत्रमा पुगेका थिए।

डेंगु फैलिएपछि  केन्द्रबाट  २०० थान डेंगु किट  लिएर महानिर्देशक सुनसरी पुगेका उनले डेंगु नियन्त्रणका लागि पुन पाँच सय थान किट मागिएको बताए। पहिलेको भन्दा केही कम संक्रमण फैलिए पनि अझै डेंगु नियन्त्रणमा नआएको सुनसरीस्थित डेंगु प्रभावित क्षेत्रमै रहेका महानिर्देशक डा लोहोनीले बताए। उनले भने, ‘केहीलाई आइसियुमा समेत राखेर उपचार गरिएको छ, पहिलेको भन्दा कम डेंगु फैलिए पनि अझै नियन्त्रणमा आएको छैन।'

पछिल्लो तीन सातायता धरानका विभिन्न अस्पतालमा परीक्षण गरिएका मध्ये ७५ जनामा डेंगु पोजेटिभ देखिएको समेत डा लोहोनीले बताए। महानिर्देशक डा लोहोनीले भने, ‘गत ३० वैशाखमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पहिलो डेंगु रोग निदान भएको थियो। त्यसपछिको २१ दिनमा आजसम्म प्रतिष्ठानमा परीक्षण गराएका ११३ जनामध्ये ६२ जनामा डेंगु पोजेटिभ देखिएको छ।

यस्तै, धरानकै विजयपुर अस्पतालमा परीक्षण गरेकामध्ये १३ जनामा पनि डेंगु पोजेटिभ देखिएको छ। ‘अहिले धरान नगरपालिकाको ८ र १५ नम्बर वडा बढी प्रभावित भएको र ७,९ र १३ वडामा समेत डेंगु फैलन थालेको डा लोहोनीको भनाइ छ।

बिरामीको संख्या बढ्दै गए पनि मृत्यु भने कसैको नभएको महानिर्देशक डा लोहोनीले बताए। महाशाखाले डेंगु नियन्त्रणका लागि प्रतिष्ठानमा हेल्थ डेस्‍क स्थापना गरिएको र थप डेंगु फैलन नदिन जिल्लाका विभिन्न स्वास्थ्य संस्था, अस्पताल,  र नगरपालिकाका स्वास्थ्य क्षेत्रका फोकल पर्सनहरूसँग समन्‍वयन गरिरहेको समेत महानिर्देशक डा लोहोनीले बताए।

के हो डेंगु?

काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरहादुर पुनका अनुसार डेंगु लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। एडिस प्रजातिको लामखुट्टेको टोकाइबाट डेंगुको संक्रमण हुने गर्छ। डेंगु सार्ने लामखुट्टेले पानी जमेको स्थानमा फूल पार्छ। अन्य लामखुट्टेले लामो समयदेखि जमेको पानी, फोहोर पानी, हिलोमा जमेको पानीमा फूल पार्ने भए पनि एडिस प्रजातिको लामखुट्टेले ३/ ४ दिनदेखि जमेको पानीमा मात्र फूल पार्ने गर्छ।

के हो लक्षण?

एडिस प्रजातिको लामखुट्टेले मानिसलाई टोकेपछि डेंगुको संक्रमण हुने गर्छ। डा. पुनका अनुसार लामखुट्टेले टोकेको मानिसलाई दुई दिनसम्म सामान्य टाउको दुख्ने गर्छ, दुई तीन दिनपछि लगातार ज्वरो आउँछ, टाउको दुख्ने, जोर्नी र मांशपेशी दुख्ने जस्ता लक्षण देखिन्छन्।

यसका साथै आँखाको पछाडिपट्टिको भाग दुख्ने, वाकवाकी लाग्ने, खाना खान मन नलाग्ने लक्षण पनि देखिने डा. पुनले बताए। उनले भने, ‘ डेंगुको  लक्षण देखापर्नेबित्तिकै स्वास्थ्य परीक्षण गर्नुपर्ने सुझाव दिन्छन्। यसलाई बेवास्ता गरियो भने संक्रमण बढ्दै गएर रगतमा प्लेटलेट्सको मात्रा कम हुन गई शरीरका विभिन्न अंग नाक, गिजाबाट रगत बग्‍न थाल्ने, दिशा र पिसाबमा पनि रगत देखिनुका साथै रक्तचाप कम हुने, शरीरमा रगतको कमी हुने, मिर्गौला तथा मुटुमा समेत असर गर्छ त्यसैले सचेत रहनुपर्छ।'

कसरी बच्ने डेंगुबाट?

डेंगुको लक्षण देखिनासाथ चिकित्सकलाई देखाउन डा‍. पुनले सल्लाह दिएका छन्। उनका अनुसार घर वरपर रहेको पानी जम्ने खाल्डाखुल्डी पुर्ने, लामखुट्टेको टोकाइबाट जोगिन झुल टाँगेर सुत्ने, घरबाहिर करेसाबारीमा काम गर्न जाँदा सकेसम्म शरीर पुरै छोपिने गरी लुगा लगाउने, घर वरपर सफा राख्ने, लामखुट्टे भएका स्थानमा किटनाशक औषधिको प्रयोग गर्नाले डेंगुको संक्रमणबाट बच्न सकिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.