|
शंकर ठाकुर

  • रमेश रावल

कालिकोट : आफूसँगैका साथीभाइ रोजगारीका लागि विदेशतिर हान्निएका बेला महोत्तरीका शंकर ठाकुर (४०) भने पहाडी जिल्ला कालिकोट उक्लिएका थिए। सुखको खोजीमा दुख काट्न उनी विदेश गएनन् बरु मानिसहरुको कपाल काट्न कालिकोट उक्लिए। 

मधेसको जिल्ला महोत्तरीको सुगा गाविस ५ का शंकर रोजगारी खोज्दै हिमाली जिल्ला कालिकोट आइपुगेको १० वर्षभन्दा बढी भयो। कालिकोटमा उनले सञ्चालन गरेको हेयर कटिङ सेन्टरले उनलाई नाम र दाम दुबै दिएको छ।

‘कमाईका लागि भारत र खाडी मुलुकमा जाने लहर नै चलेको थियो’, उनले सम्झिए, ‘देशमै कसरी स्वरोजगार हुन सकिन्छ भनेर हिमाली जिल्ला पसेको हुँ।’ शंकर हेयर कटिङ सेन्टरको कमाईबाट उनले आफ्नो गाउँमा राम्रो घर बनाएका छन्। दुई छोरा र एक छोरीको राम्रोसँग लालनपालन गरेका छन्।

जागिरका लागि विदेश जानुभन्दा सीप सिकेर नेपालमै काम गर्नुपर्ने शंकरको धारणा छ। ‘हिनताबोध नमान्ने हो भने स–साना कामले पनि नेपालमै स्वरोजगार हुन सकिन्छ’ उनले भने, ‘सीप सिके कोही पनि बेरोजगार बस्नु पर्दैन।’

नेपालमा रोजगारीका प्रशस्त सम्भावना देखेको बताउने शंकरले हेयर कटिङ सेन्टरमा ४ जनालाई रोजगारी दिएका छन्। आफ्नो व्यावसायको सबै खर्च कटाएर मासिक ३० हजारदेखि ४० हजार रुपैयाँसम्म नाफा हुने गरेको उनले बताए। ‘मैले हेयर कटिङ सेन्टरमा ४ जनालाई रोजगारी दिएको छु। विदेशमा कमाउने जति मासिक ३० हजारदेखि ४० हजार रुपैयाँ यही पेशाबाट कमाएको छु’, उनले भने।

राजनीतिमा त्यति चासो नभएका ठाकुर राजनीति नेताहरुको विषय भएको र सबै क्षेत्रका नागरिकको समस्या समान भएको बताउँछन्। ‘राजनीति नेताहरुले आफ्ना लागि गर्छन्। साधारण काम गरी खाने मान्छेका लागि के हिमाल, के मधेस, के पहाड? सबै एउटै हो।’

महोत्तरीका शंकर ठाकुर जस्तै  रौतहट पर्सा गाविसका राज ठाकुर (२६) पनि कालिकोटमै हेयर कटिङ सेन्टर चलाउँछन्।

६ महिनादेखि कालिकोटमा हेयर कटिङ सेन्टर चलाइरहेका राज ठाुकर।

राज पनि कामको खोजीमा विदेश जानुभन्दा कालिकोट आउनुलाई सुखद् मान्छन्। ‘सबै साथीभाई विदेश जान थाले। मलाई पनि विदेश जाउँ जस्तो लागेको थियो’, उनले भने, ‘तर, नेपालमै केही गरौँ भन्ने भयो। काम खोज्ने क्रममा हिमालको काखमा रहेको कालिकोट आइपुगेँ।’

अविवाहित राजले कालिकोटमा हेयर कटिङ सेन्टर चलाएको ६ महिनामै १ लाख ५० हजारमा  मोटरसाइकल किनेका थिए।

‘कालिकोट आएको छोटै समयमा नाम र दाम दुबै कमाएको छुँ। विदेश जानुभन्दा आफ्नै देशमा काम गरे रोजगारी पाइँदो रहेछ’, राज हेयर कटिङ सेन्टरका सञ्चालक राजले भने। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.