|

तनहुँ : व्यास नगरपालिका–५ स्थित १२ किलोमिटर तीन सय मिटर लामो सिन्धु मोटरमार्गको स्तरोन्नतीको काम तीन वर्ष हुँदासम्म पनि पूरा भएको छैन।

निर्माणको जिम्मेवारी लिएको वाइ पी कन्स्ट्रक्सनको लापरबाहीले गर्दा काम अलपत्र परेको हो। निर्माणको काम अलपत्र परेपछि ढिलाई भयो भन्दै उपभोक्ताहरु आक्रोशित बनेका छन्।

स्तरोन्नतिका लागि ग्रामीण सडक सुदृढीकरण आयोजनाअन्तर्गत (एसएनआरटिपी) परियोजनाले नौँ करोड ८५ लाख रुपैयाँ वजेट विनियोजित गरिएको थियो। साँगे खोलाको पुलदेखि श्याम्घा हटियासम्मको सडकमा चार मिटर स्तरोन्नती (वटासिल) गर्ने जिम्मेवारी सो कन्स्ट्रक्सनले पाएको थियो।

सो कन्स्ट्रक्सनले ठेक्का लिएको करिव तीन वर्ष भइसक्दा समेत स्तरोन्नतीको काम पूरा गर्न नसकेको स्थानीयवासीको भनाई छ। गतवर्षको दशैंमा सक्नुपर्ने काम अहिलेसम्म पनि पूरा हुन नसकेको उपभोक्ताहरुले बताउँछन्। उक्त मार्गमा दैनिक दुई दर्जन बढी सवारी साधनहरु आवातजावात गर्ने गर्दछन्।

जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिले वाइ पि कन्स्ट्रक्सनका सञ्चालक रत्न प्रधानलाई पटक–पटक स्पष्टीकरण लिइसकेपनि काम पूरा हुन नसक्दा त्यस क्षेत्रका बासिन्दाहरु निराश समेत बन्दै गएका छन्।

व्यास नगरपालिका–६ का वडा अध्यक्ष सूर्यभक्त भण्डारीले काम समयमै पूरा नहुँदा त्यस क्षेत्रवासीको खप्की आफूले झेलिरहनु परेको बताए। उपभोक्ता समितिका अध्यक्ष समेत रहेका भण्डारीले भने ‘पटक–पटक समयमै काम पुरा गर्न  भनेपनि ठेगदारले अटेर गरेको छ।’

व्यास नगरपालिकाका प्रवक्ता तथा ५ नम्बर वडाका अध्यक्ष मोहनकुमार श्रेष्ठले उक्त मार्गको स्तरोन्नतीको काम समयमै पूरा गर्न ताकेता गरेपनि ठेकेदारले वेवास्ता गरेको बताए।

उनले भने ‘हामीले ठेकेदारलाई धेरै पटक भेटेर सम्झाइसकेका छौं, सो मार्गमा स्तरोन्नतीको काम हुन नसक्दा उपभोक्ताहरुले दैनिक जस्तो धुलोमा हिड्न बाध्यता छन्, धुलो गर्दा सर्वसाधारण रोगी हुँदै गएका छन्, छिटो मार्गको स्तरोन्नती गर्नका लागि ठेक्का रद्ध गर्न भनिए पनि अटेर गरेर बसेका छन्।’

जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले ठेकेदारलाई कार्यालयमै झिकाइ पटक–पटक सचेत गराइसकेको बताए। ‘आफुहरु समयमै बाटो पुरा गर्ने तयारीमा रहेपनि ठेकेदार कम्पनीको लापरवाहीले गर्दा उपभोक्ताहरुले मर्का परेको छ,’ वाग्लेको भने। समयमै काम नसक्ने उक्त ठेकेदारलाई तीन पटक भन्दा बढी जरिवाना गराउने, प्रशासन समक्ष स्पष्टीकरण लिने काम समेत भइसकेको जिल्ला समन्वय समितिले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले ठेकेदार रत्न प्रधानलाई झिकाइ स्पष्टीकरण लिइसकेको बताए। ‘उपभोक्ताबाट व्यापक गुनासो आएपछि स्थलगत रुपमा मार्गको अवलोकन गरेका थियौँ, काम कछुवा गतिमा भएको पाइयो, तर स्तरोन्नतीको काम पुरा गर्न नसक्दा वर्षायाममा बढी हिलो हुने हुँदा व्यास नगरपालिका वडा

नम्बर ५ र ६ का अधिकांश वासिन्दा, म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिकाका केही वासिन्दालाई आवतजावतमा समस्या परेको छ,’ उनले भने। यस मार्गले तनहुँको सदरमुकाम दमौली देखि गलेखामकोट जोडेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.