|

बुटवलः बुटवल उपमहानगरपालिकाले यहाँका १९ वटै वडा र छिमेकका अरु स्थानीय तहसँगसमेतलाई सञ्जालमा जोड्ने गरी वाइपाससहितको चक्रपथ निर्माण गरेको छ। आउँदो दशैंसम्ममा नगर बस सञ्चालन गर्ने गरी चक्रपथ निर्माणको काम भइरहेको नगरपालिकाले जनाएकाे छ। 

उपमहानगरका १९ वटै वडालाई एउटै सडक सञ्जालले जोडेर सार्वजनिक सवारी साधन सञ्चालन गर्ने र सबै बस्तीलाई सहरसँग जोड्ने तयारी स्वरुप चक्रपथ निर्माण थालिएको नगर प्रमुख शिवराज सुवेदीले जानकारी दिए। यो चक्रपथलाई बुद्धबल्लीको जितगढी हुँदै लुम्बिनी र विमानस्थलसम्मका सिधा सडकसँगसमेत जोड्ने र आन्तरिक वाइपासहरूलाई पनि यहीँ सडक सञ्जालमा जोड्ने गरी निर्माण भइरहेको छ। 

बस्ती तथा बजार क्षेत्र र खुला क्षेत्रहरूलाई जोड्दै निर्माण भइरहेको चक्रपथले बुटवलका पार्क, खुला चौर, शैक्षिक क्षेत्र, अस्पताल तथा स्वास्थ्य संस्था, कृषि फार्म, औद्योगिक क्षेत्र, बैंकिङ क्षेत्र, खेलमैदान, सामुदायिक तथा साझेदारी वन र नदी तटका बस्तीलाई सञ्जालमा जोड्ने गरी निर्माण भइरहेको प्रमुख सुवेदीले बताए।यसका अतिरिक्त केही स्थानमा हरियालीसहितको पदमार्गसमेत बनाइने छ। 

४० किलोमिटर लम्बाइको चक्रपथले ऐतिहासिक सम्पदा बुटवल जितगढी किल्ला, पुरातात्विक सहरका रुपमा विकास गर्न लागिएको पुरानो बुटवल हुँदै तिनाउ र दानव वारिपारिका सबै क्षेत्रहरूलाई सडक सञ्जालमा जोड्ने छ। गोलपार्कबाट सुरु हुने चक्रपथले पुरातात्विक सहरका रुपमा संरक्षण भइरहेको पारी बुटवल हुँदै ऐतिहासिक मणिमुकुन्द सेन उद्यान क्षेत्र, जितगढी हुँदै चुरेको फेँदीबाट जवई मैदानसम्म पुग्ने छ।

गोलपार्क पुलचोकमा नयाँ पक्की पुल निर्माण कार्य पूरा भइसकेको छ भने त्यसबीचमा पर्ने विभिन्न ठाउँमा कल्भर्ट निर्माण भइसकेका छन्। जवाई मैदानलाई बुटवलले प्रदेश सरकारको सहकार्यमा अन्तर्राष्ट्रिय स्तरको स्टेडियम बनाइरहेको छ। जवई खेल मैदानमा पुगेको चक्रपथलाई मिलनपार्क हुँदै बुटवल ग्लोबल पीसपार्कसम्म पुर्‍याइने छ। यी दुबै यहाँका शान्ति र मनोरञ्जनका महत्वपूर्ण क्षेत्रका रुपमा विकास भएका पार्कहरु हुन्।

मिलनपार्कलाई उपमहानगरकै नमुना पार्क बनाउनेगरी काम भइरहेको वडा १२ का अध्यक्ष दुर्गा सुवेदीले बताए। पिसपार्कबाट अगाडि बढेको सडक सोइलहार, सैनामैना नगरपालिकाको सिमाना कर्साघाट हुँदै रतनपुर, डहरगाउँबाट ऐतिहासिक नरैनापुर धाम क्षेत्रमा पुग्ने छ। कर्साघाटमा पुल निर्माणको काम चलिरहेको छ भने सोही ठाउँमा बुटवल उपमहानगर र सैनामैनालाई जोडेर केन्द्रीय स्तरको कृषि उपज केन्द्र बनाउने तयारी स्वरुप डीपीआर बनिरहेको छ।

नरैनापुरलाई बुद्धबलीको (बुद्ध खेल्ने, डुल्ने र हिंड्ने ठाउँ) महत्वपूर्ण ठाउँ र पशुपतिनाथ भन्दा पनि पुरानो धामका रुपमा लिइन्छ। यहाँ धाममा अध्यय्न केन्द्रसहितको भ्यू टावर बनाउने र त्यसलाई सिमसार क्षेत्र कपरकट्टी ताल (बैठौलियाको नरेश्वर ताल नाम प्रस्ताव गरिएको) सम्म जोडेर गुरुयोजना बनिरहेको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले बताए। 

चक्रपथले नरेनापुर धाम र कपरकट्टी ताल हुँदै त्यहाँका पुराना बस्ती केद्ली डाँडा, हिरा चोक हुँदै फर्साटिकर रोडमा जोड्ने छ। फर्साटिकर रोड बुटवल–बेलबास–बेथरी सडकमा जोडिएको विमानस्थल र लुम्बिनी जाने वाइपास सडक हो। यहीँ सडकले वडा १३ को नुवाकोट गढी प्रवेशद्वार हुँदै अगाडि बढेको १३ का अध्यक्ष नारायणप्रसाद पुनले बताए। 

यहाँका बस्तीमा सार्वजनिक यातायात पु¥याउने र त्यसका माध्यमबाट कृषि उपजको बजार विस्तार, बुटवलको भिडभाडलाई कम गर्ने विश्राम स्थलका रुपमा विकास गर्नका लागि चक्रपथ निर्माण गरिएको प्रवक्ता रेग्मीले बताए। फर्साटिकर रोडमा जोडिएको चक्रपथलाई बाझापुर, विनायकपुर, भाटा, मनोहरापुर, सातकुला हुँदै मोतिपुर चोकमा लगिएको छ।

मोतिपुर पुरानो बस्ती र खेतीयोग्य क्षेत्र भएको ठाउँ हो। मोतिपुरदेखि झण्डापुर, हरिहरपुर, रानीगञ्ज हुँदै योगिकुटीको तिलोत्तमा घाट (मगरघाट) मा जोडिने छ। तिलोत्तमा घाटमा पुलको निर्माण कार्य सम्पन्न भइसकेको छ। यहाँबाट योगीकुटीचोक हुँदै रामनगर पुगेको चक्रपथलाई आम्दा अस्पताल, शिवनरग वन क्षेत्रबाट हिलपार्क गेटसम्म पुर्‍याइएको छ।

हिलपार्कलाई बुटवलले बुद्धपार्कका रुपमा विकास गरिरहेको छ। हिलपार्क जोड्दै अगाडि बढेको सडकले चन्द्रनगर, आदर्शनगर र लक्ष्मीनगर पनि जोड्ने छ। लक्ष्मीपार्कलाई गुरुयोजनासहित उच्च स्थानको विशेष पार्कका रुपमा विकास गर्न लागिएको वडा ४ का अध्यक्ष टंक पराजुलीले बताए। चक्रपथको पहिलो चरणको कामका लागि ५० करोड लागत अनुमान गरिएको छ। यद्यपि नगर यातायात गुरुयोजना भने कम्तिमा डेढ अर्ब बराबरको छ।

चक्रपथको हालसम्म ३० प्रतिशत काम पूरा भइसकेको र ट्रयाक खोल्दै पिच र ग्राभेलका काम चलिरहेका छन्। करिब १२ वटा कल्भर्ट मध्ये छ वटाको निर्माण पूरा भइसकेको छ। दुई ठूला नदीमा पुल निर्माण भइसकेका छन् भने सेमलारमा पुल निर्माणको काम चलिरहेको छ।

कम्तीमा दुई वर्ष भित्रमा चक्रपथ निर्माण पूरा गर्ने गरी काम भइरहेको उपमहानगरका योजना प्रमुख वरिष्ठ अधिकृत इन्जिनियर सुमन श्रेष्ठले बताए। प्रदेश सरकारले भने एउटै योजनामा दुई वटा सरकारको थोरै–थोरै बजेट लगाउनुभन्दा एउटै सरकारले सम्पन्न गर्ने गरी काम गर्ने इच्छा देखाएको श्रेष्ठको भनाइ छ।

नगरको आफ्नै गुरुयोजना 

बुटवल उपमहानगरले नगर यातायात गुरुयोजना नै निर्माण गरेर चक्रपथ बनाउन बजेट छुटाएको थियो। हालसम्म ग्राभेल र पीचसमेत गरी करिब पाँच करोड बराबरको काम भइसकेको छ। यसमा जनसहभागितासमेत जोडिएको छ। चक्रपथ र पैदलपथको प्राविधिक अध्यय्न तथा परामर्शको काम नेष्ट र इकोकोड नामका कम्पनीका प्राविधिकहरुको सहकार्यमा भएको थियो।

गुरुयोजनाका लागि दुई अर्ब ४३ करोड ३४ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। यसमा बसपार्कदेखि विश्रामस्थल र ग्यारेजसम्मको योजना छ। एक वर्ष लगाएर यो नगर गुरुयोजना बनेको थियो। उपमहानगरपालिकाले दुई वर्षदेखि चक्रपथ निर्माणका लागि बजेट छुट्याएर सडक निर्माणलाई तीब्रता दिएको छ। अबको कम्तिमा छ महिनामा धेरै स्थानमा नगर माइक्रो बस सञ्चालन गर्न मिल्ने गरी सडक निर्माणको काम अगाडि बढेको छ।

अघिल्लो आवमा उपमहानगरले एक करोड बजेट छुट्याएर सडक निर्माण गरेको थियो। चालु वर्ष उपमहानगरले वडा १२, १३ मोतीपुर सेमलार क्षेत्रका लागि दुई करोड रुपैयाँ चक्रपथका लागि छुट्टाएको थियो। यसको काम अहिले भइरहेको छ। यसैगरि प्रदेश सरकारले बुटवल वडा ११ र १३ का लागि ५० लाख रुपैयाँ बजेट छुटाएको थियो।

उपमहानगरभित्र  १९३ सडक रहेको र अधिकांश कालोपत्रे भइसकेको योजना, अनुगमन तथा मूल्यांकन महाशाखाका प्रमुख शिवनारायण शाहले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.