|

ओखलढुंगा : ओखलढुंगाको चम्पादेवी गाउँपालिका १ र २ मा पर्ने पलापुका किसानलाई वर्सेनी खडेरीले सताउँदै आएको छ। लामो समयसम्म पानी नपरेपछि यहाँका किसानलाई खडेरीले सताएको हो। यो वर्ष पनि समय मै पानी परेर समयमै मकै रोप्न पाए पनि खडेरीले किसानले लगाएको मकै सुकाउन थालेको छ।

समयमै पानी परेका कारण विगतमा सुख्खा भएर बाँझै रहने बारी समेत यसवर्ष मकैका बेर्नाले ढकमक्क ढाकिएको थियो। तर मकै रोप्ने बेलामा पानी परे पनि यहाँ मकै रोपी सकेपछि पानी परेको छैन। जसका कारण मकै सुक्न थालेको चम्पादेवी १ पलापुका किसान नापे मगरले बताए। कुनै समय पलापु क्षेत्रमा कपास खेती हुने गरेको भए पनि पछिल्लो समय बजारमा पाईने कपाडाका कारण खाडीको कपडा उत्पादनमा कमि भएसँगै कपास खेती नै गर्न छाडिएको छ।

गाउँमै उत्पादित कपासबाट बनाइने खाडीका कपडाले बजार नपाएपछि यो खेती एकाएक विस्थापित भएको र सुख्खा सहने कपास खेती छाडेर किसानहरू निर्वाहमुखी खाद्य बालीतिर आकर्षित भएको चम्पादेवी २ का वडा अध्यक्ष विष्णु पुलामी मगरले बताए। तर किसानले राहत पाउन नसकेको र अहिले चम्पादेवी गाउँपालिकाले यो क्षेत्रका किसानलाई कपास खेतीमा आकर्षित गराउने अभियान थालेको उनको भनाई छ।

गाउँपालिकाले चालु आर्थिक वर्षमा कपास खेतीका लागि पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेर काम थालेको चम्पादेवी गाउँपालिकाका अध्यक्ष नवराज केसीले बताए। गाउँपालिकाले आउँदो आर्थिक वर्षमा पनि कपास खेतीलाई प्राथमिकता दिएर बजेट विनियोजन गर्ने योजना अगाडि सारेको उनको भनाई छ। 

कपास खेती, कपडा बुन्ने तालिम दिएर किसानलाई उद्यमी बनाउने गाउँपालिकाको योजना छ। जसले सुख्खाकै कारण वर्षभरि खान नपुग्ने किसान र रोजीरोटीका लागि वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता हटाउने अध्यक्ष केसीको भनाई छ। ओखलढुंगाको लिखु नदी, सुनकोशी र दूधकोशीको किनार र आसपासमा आकासे पानीको भरमा खेती गर्नु पर्ने यहाँका किसानको बाध्यता रहेको छ।

चम्पादेवी गाउँपालिकाको पश्चिमी क्षेत्र, लिखु गाउँपालिकाको दक्षिणी क्षेत्र, सुनकोशी गाउँपालिकाको दक्षिण पस्चिम क्षेत्र, मानेभञ्ज्याङ गाउँपालिकाको पूर्वी तथा पस्चिमी क्षेत्र, सिद्धिचरण नगरपालिकाको दक्षिण क्षेत्र र चिसंखुगढी गाउँपालिकाको अधिकांश भू-भागमा किसानहरू खडेरीको मारमा पर्ने गरेका छन्।

खडेरीका कारण किसानले लगाउने निर्वाहमुखी खाद्यबाली नै जोगाउन मुश्किल हुने गरेको छ। फोटो क्याप्सनः ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ थाक्लको सुख्खा ठाउँ र सिद्धिचरण नगरपालिका ४ रुम्जाटारमा मकै उम्री सकेपछि भएको खडेरीले सुकेका मकै।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.