|

दाङ : दाङको व्‍यापारी केन्द्रमध्ये घोराही पनि एक हो।  जिल्ला उद्योग वाणिज्य संघ पनि यहीँ छ। जिल्लाको उद्योगी व्‍यवसायीको अभिभावकका रूपमा वि.स.२०२७ सालमा वाणिज्य संघ स्थापना भएको हो।

वाणिज्य संघका संस्थापक अध्यक्ष तोरणध्वज श्रेष्ठ हुन्। त्यसैगरी दाङ जिल्ला उद्योग वाणिज्य संघले अभिभावकको भूमिका निर्वाह गर्दै अहिले जिल्लाको अन्य स्थानीय तहहरूमा पनि केन्द्रमातहत रहनेगरी संघहरू स्थापना भएका छन्। दाङको देउखुरी उपत्यकामा राप्ती उद्योग वाणिज्य संघ र गढवा उद्योग वाणिज्य संघ छन्।

त्यसैगरी, नारायणपुर  उद्योग वाणिज्य संघ, बिजौरी उद्योग वाणिज्य संघ, शान्तिनगर उद्योग वाणिज्य संघ, हापुर उद्योग वाणिज्य संघ र बंगलाचुली उद्योग वाणिज्य संघ शाखा छन्।

त्यस्तै, दाङ जिल्ला उद्योग वाणिज्य संघमा पाँच हजार १०० सदस्य छन्, भने अन्य शाखाहरूमा गरी १६ हजारभन्दा बढी व्‍यवसायी छन्।

त्यही संघमा २०७४ सालमा नारायण भुसाल अध्यक्षमा निर्वाचित भएका हुन्। जिल्लाको उद्योग व्‍यवसायीबारे उनै अध्यक्ष भुसालसँग थाहाकर्मी विकाश डाँगीले गरेका कुराकानी प्रस्तुत छ :

देश संघीयता जानुअघि र पछिको दाङ जिल्लाको व्यवसाय कस्तो छ?

देशमा केही परिवर्तन भइसकेपछि उद्योगी व्‍यवसायीहरूलाई काम गर्न केही सहज हुन्छ, भन्ने अनुभूति लिएका थियौँ। तर, देश संघीयतामा गइसकेपछि स्थानीय, प्रदेश र संघीय सरकारहरू निर्माण भए। तर, यी तीनवटै सरकारको कानुन बन्न करिब डेढ वर्ष लाग्यो।

अझै केही बन्ने क्रममै छन्। त्यसैले स्थानीय तहको निर्वाचन भएको २ वर्षसम्ममा पनि कानुन नबन्दा आफूहरूलाई समस्या भएको छ।  कुनै पनि वस्तु निर्यात गर्दा ट्याक्स लगाउने कुरादेखि व्‍यवसायी कर, वहाल कर जस्तामा समस्या आएका छन्। काननुहरू बाजिएका कारण पनि उद्योगी व्‍यवसायीहरूलाई समस्या भएको छ।

त्यसैगरी, संघीयताअघिको समयभन्दा पछाडिको समयमा व्‍यवसायीहरूमा जागरूकता आएको छ। विदेशमा जाने युवाहरूले पनि स्वदेशमै विभिन्न व्‍यवसाय गर्न थालेका छन्। त्यस्तै देशमा द्वन्द्व भएका बेलामा चाहिँ व्‍यवसायीहरूले धेरै सास्ती भोग्नुपरेको थियो। यहाँबाट व्‍यवसायीहरूले सामाग्रीहरू पहाडी जिल्लामा पठाउनु पर्दथ्यो। त्यतिबेला जिल्ला प्रशासनदेखि अन्य निकायहरूसँग अनुमति लिएर सामान पठाउनु पर्दथ्यो। तर, अहिले त्यो अवस्था चाहिँ छैन।

जिल्लामा उत्पादन भएका वस्तु निर्यात र बाहिर उत्पादन भएका वस्तु आयात गर्न हामीलाई सहज भएको छ। त्यसैगरी, केही वर्ष पहिले विभिन्न ठाउँहरूमा सडक सञ्‍जाल थिएन्। पछिल्लो समय सडक सञ्‍जाल जोडिएका कारणले पनि व्‍यवसायीहरूलाई सहज भएको छ। त्यस्तै, अहिले पहिलेको तुलनामा व्‍यवसायीहरूको शान्ति सुरक्षाको राम्रो व्‍यवस्था छ।

अहिले चन्दा, आंतकको डर नभए पनि विप्लव र सरकारपक्षबीचको विषयले तंरगित बनाउँछ कि भन्ने व्‍यवसायीहरूको मनमा लागेको छ। नत्र भने जिल्लामा अहिले उत्पादनमा वृद्धि र व्‍यवसायीहरू वृद्धि भएको पाइन्छ।

जिल्लामा उद्योग व्‍यवसायमा लगानीको अवस्था कस्तो छ?

जिल्लामा उद्योग व्‍यवसायीमा लगानी एकदमै राम्रो छ। विभिन्न घरेलु उत्पादनदेखि ठूला उद्योगहरू जिल्लामा आउने क्रम जारी छ।  यहाँ दाङमा उत्पादन भएका वस्तुहरू बाहिर जिल्ला निर्यात भएका छन्।

जिल्लामा पछिल्लो समय होटल व्‍यवसायीमा लगानी गर्नेहरूको क्रम बढ्दो छ। यहाँ थ्री स्टारसम्मका होटलहरू सञ्‍चालन भएका छन्। त्यसैगरी विभिन्न सिमेन्ट उद्योगहरू सञ्‍चालनमा आएका छन्। नेपालमा गनिएका उद्योगी व्‍यवसायीहरू पनि दाङमा लगानी गर्न उत्सुक हुनुभएको छ। जिल्लामा पोल्ट्रिफर्मतर्फ पनि  धेरै नै लगानी भएको छ। त्यस्तै, अन्य क्षेत्रमा पनि लगानी बढ्ने क्रम छ।

साथै दाङले अबको केही समयपछि उद्योगिक क्षेत्र पाउँदै छ। जसले गर्दा विभिन्न ठाउँमा भएका उद्योग व्‍यवसायलाई एक ठाउँमा ल्याउन मद्दत गर्नेछ। यसो भयो भने अझ दाङमा लगानीको अवस्था बढ्नेछ।

जिल्लामा व्‍यवसायीहरूका के कस्ता समस्या छन्?

व्‍यवसायीहरूको समस्या भन्नुपर्दा यहाँ उत्पादन भएका वस्तुहरू बिक्री हुन्छ कि हुँदैन् भन्ने चिन्ता छ। त्यस्तै, मार्केटिङको समस्या छ। त्यस्तै, यहाँ वस्तु उत्पादन गर्न र मेट्रियलहरू बाहिरबाट ल्याउनुपर्ने समस्या छ। त्यति मात्रै नभई मेनपावरसमेत बाहिरबाट ल्याएर काम गराउनुपर्ने मुख्य समस्या छ। जस्तै इँटामा दाङ आत्मनिर्भर छ। तर, काम गर्नका लागि बाहिरैबाट जनशक्ति ल्याउनुपर्ने अवस्था छ।

जिल्लाका व्‍यवसायीहरूको सुरक्षा अवस्था कस्तो छ?

दाङमा व्‍यवसायीहरूको सुरक्षाको अवस्था भन्नुपर्दा हामीले केही समयअगाडि विभिन्न घटनाहरू पाएका छौँ। तुलसीपुरका कपडा व्‍यवसायीको अपहरण गरी हत्या भयो। त्यस्तै, घोराहीमा एकजना हार्डवेयर व्‍यवसायीको पनि केही महिनाअगाडि हत्या भयो। यी २ घटनाबाहेक अन्य छिटपुट घटनाहरू भएता पनि व्‍यवसायीहरूले सुरक्षा अनुभूति पाएका छन्।

व्‍यापारीहरूले धेरै नाफा लिने र कालोबजारी गरी समान बेच्ने आरोप लाग्छ नि?

सबै व्‍यापारीले यस्तो गर्दछन् भन्न सकिँदैन। तर, कही कतै हुनसक्छ। उत्पादित सबै वस्तु दाङमा उत्पादन हुने हैन। हामीले बाहिरबाट समानहरू निर्यात गर्दा भन्सारको दर रेटको कारण अन्डरविलिङ हुन्छ।

जस्तो कि हामीले काठमाडौंमा एक हजारको पाइन्ट किन्दा ट्रेडिङ बिजनेसबाट हामीलाई २ सयको बिल पाइन्छ। दाङको त्यो समान बेच्न हामीले किनेको मूल्यको २० प्रतिशत मात्र मार्जिन लिनुपर्ने हुन्छ।

हामीलाई १ हजार नै समानमा पर्ने भएकाले त्यसको २० प्रतिशत मार्जिन लिँदा बढी लिए भन्ने लागेको हुनसक्छ। यदि व्‍यवसायीले नाफा लिएर कमाउने भए घोराहीबाट  वर्षमा २/४ जना व्‍यवसायीहरू व्‍यवसाय धरापका कारण किन बाहिर भागिरहेका हुन्थे?

जिल्लामा उद्योग व्‍यवसायको सम्भावना के छ?

दाङलाई औद्योगिक क्षेत्रको घोषणा हुँदै छ। यदि त्यो भयो भने यहाँको कच्चा पदार्थको उपयोग हुन्छ। त्यसैगरी, जग्गा सरकारले लिजमा दिने भएकाले यहाँ विभिन्न उद्योगहरू सञ्‍चालन हुन सक्छ। त्यसैगरी, दाङमा कच्चा पदार्थहरू धेरै भएकाले यहाँबाट बाहिर पठाएका छौँ।

जडीबुटी र पर्यटकीय सम्भावना भएको ठाउँ भएकाले दाङमा पर्यटन क्षेत्रमा पनि लगानी हुनसक्छ। प्रदेश ५ को केन्द्र विन्दुमा पर्ने र दाङमै नेपालको दोस्रो ठूलो कोइलाबास भन्सार पनि केही समयपछि सञ्‍चालनमा आउन लागेकाले पनि अझ बढी व्‍यापार व्‍यवसायीको लागि दाङमा सम्भावना छ।

व्‍यापारीहरू दोहोर करको मार परेका छौँ भन्छन्, तपाईंलाई के लाग्छ?

व्‍यवसायीहरू दोहोर मात्र नभई तेहेरो करको मारमा छन। स्थानीय तह, प्रदेश र केन्द्रमा बाहिरबाट वस्तु आयात र निर्यात गर्दा कर बुझाउनुपर्ने भएकाले अहिले तहेरो करको मारमा छन्। त्यसैगरी, व्‍यवसायीहरू व्‍यवसायी कर, घर बाहल कर तिर्न बाध्य भएका छन्। त्यो कारणले गर्दा पनि व्‍यवसायीहरू मारमा छन्।

दाङमा उद्योग व्‍वसायको भविष्य कस्तो देख्नुभएको छ?

दाङमा उद्योग व्‍यवसायको भविष्य एकदमै राम्रो छ। लगानीकर्ताहरूलाई आकर्षण गर्नका लागि हामीले विभिन्न किसिमका छलफलहरू गरेका छौँ। नेपालका उद्योगी व्‍यवसायहरूलाई दाङमा लगानी गर्न अनुरोध गरेका छौँ। यहाँ लगानीका सम्भावना धेरै छन् त्यसैले पनि दाङको भविष्य छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.