|

रुकुम : रोजगारीको सिलसिलामा नेपालबाट बर्सेनि धेरै युवा विदेश पलायन हुन्छन्। जसमा अधिकांश देशमा रोजगारी नहुनु, व्यवसायका लागि लगानी नहुनु र आफ्नो गाउँठाउँमा काम गरेर ठूलो प्रगति गर्न सकिँदैन भन्ने निरासाबादी सोच नै धेरैको पाइन्छ। 

शारीरिकरूपमा सक्षम युवाले नै यसरी विभिन्न वहानामा वैदेशिक रोजगारी रोजिरहेको बेलामा रुकुम पश्चिमका एक शारीरिकरूपमा अशक्त युवा भने गाउँमै कुखुरापालन गरेर रमाएका छन्। उनीसँग 'ख' वर्गको अपांग परिचयपत्र छ। जिल्लाको बाँफीकोट गाउँपालिका २, जिपुका एक शारीरिक असक्त युवा भीमबहादुर पुनको ब्रोइलर कुखुरा व्यवसाय फस्टाएको छ। २७ वर्षीय पुनले एक वर्ष पहिेलेदेखि ब्रोइलर कुखुरा व्यवसाय गर्दै आएका  हुन्।

गाउँमा कुखुरा व्यवसाय गरेर राम्रो आम्दानी मात्र होइन अन्य युवालाई प्रेरणा पनि दिइरहेका छन्। ‘त्यतिकै बस्नुभन्दा कुखुरा व्यवसाय गरेर बस्छु भन्ने विचारले यो पेसा गरिरहेको छु’ उनले भने, ‘अहिले मेरो एक महिनामा करिब २८/२९ हजार जति आम्दानी हुन्छ। म अरूलाई पनि विदेश जानुभन्दा आफ्नै गाउँमा केही गरेर बस्नुपर्छ भन्ने सल्लाह दिँदै आएको छु।’ उनले फर्ममा हाल करिब ३०० जति कुखुरा पालेका छन्। 

२० हजारको लगानीबाट तीनलाख

गाउँमा जिउँदो ब्रोइलरको कुखुराको मूल्य ३००  र काटेको ब्रोइलर कुखुराको मूल्य ३५० रुपैयाँ छ। सदरमुकाम लगायतका अन्य मुख्य बजार केन्द्रमा लिएर बिक्री गरे त थप मूल्य पनि हुन्छ।  शारीरिकरूपमा अशक्त भए पनि कुखुरा व्यवसायमा लागेपछि पुनलाई घर परिवारले सहयोग र हौसला पनि दिइरहेका छन्।

त्यस्तै, समाजमा उनी उदाहरणीय युवा पनि बनेका छन्। सुरुमा २० हजार रुपैयाँको लगानीबाट सुरु गरेको कुखुरा व्यवसाय अहिले करिब तीनलाख बढीको भइरहेको छ। 

यसरी हुन पुगे शारीरिक अशक्त

पुन १४ वर्षको उमेरको हुँदा दुईवटै खुट्टामा समस्या आयो।  सुरु सुरुमा खुट्टा दुख्ने झमझमाउने लक्षण देखिएको केही महिनामै विस्तारै खुट्टा खुम्चिएको थियो। ‘मेरो खुट्टा २०६२ सालमा  खुम्चिएका हुन्। त्यतिखेर अहिलेको जस्तो गाउँघरमा अस्पताल मेडिकलहरू थिएनन्’ उनले भने,‘घरको आर्थिक अवस्था कमजोर भएकाले होला परिवारले ठूलो अस्पतालमा लिएर उपचार गर्न सकेन। रोगभन्दा पनि अन्य लगान लागेकाे हो कि भनेर घरायसी उपचार र धामीझाँक्री गरियो। तर, जसका कराण खुट्टा पहिले जस्तो भएन।’ 

पुनले आफ्नो शारीरिक समस्याले गर्दा उच्च शिक्षासम्म अध्ययन गर्न पनि नपाएको गुनासो गर्दछन। छ कक्षासम्म मात्र अध्ययन गरेका उनले पछि समस्या आएपछि स्कुल जान छोडे। उनको गाँठादेखि तलतिरको खुट्टा खुम्चिएका छन्। हात र खुम्चिएको खुट्टाले हिँडेर उनी कुखुरालाई चारोपानी खुलाउनेदेखि अन्य काम आफैँ गर्न सक्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.