|

  • यस पटक सजिलै राजिनामा दिनेवाला छैन, यस पटक भावनामा बगिँदैन 
  • संघीयता र गणतन्त्रका विरुद्धमा प्रतिगामी सल्बलाएका छन्, पुराना पार्टी पुरानै मुद्दामा फर्किंदैछन् 
  • एकै पटक केन्द्र संसदको चुनाव गरौं भनेको राजतन्त्र फर्काउँ भनेको हो 
  • अख्तियारलाई उचालेर मेरा विरुद्ध पत्र काट्ने र कु गर्ने सम्मका योजना बनाएका थिए
  • हामी माओवादीहरु दुस्मनले मेसिन गन पड्काउँदा भएको भरुवा पनि लुकाएर बसेका छौं 
  • अर्जुन आचार्य-

विराटनगर : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेले महिनौं संसद अवरुद्ध गरेपनि संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव फिर्ता नगरिने बताएका छन्। 

माओवादी केन्द्रको १ नम्बर प्रदेशद्वारा विराटनगरमा आयोजित प्रदेशस्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण तथा बैठक कार्यक्रममा उनले संविधान संशोधन प्रस्ताव फिर्ता पनि नलिने र थाती पनि नराख्ने बताए। ‘संविधान संशोधन प्रस्ताव कसैले फिर्ता लिनुपर्ने र कसैले थाती राख्नुपर्ने प्रस्ताव राखेका छन्,’ प्रचण्डले भने, ‘प्रस्ताव फिर्ता पनि लिइँदैन र थाती पनि राखिँदैन संसदको छलफलमा लगिन्छ, एमालेले यस पटक कतिदिन, कति महिना संसद अवरुद्ध गर्दोरहेछ हेरौंला।’ 

एमालेलाई चेतावनी दिँदै प्रचण्डले विगतमा जस्तो भावनामा बगेर आफूले कुर्सी नछोड्ने बताए। ‘अघिल्लो पटक भावनामा बगेर कुर्सी छोडियो, यो पटक छोडिँदैन,’ प्रधानमन्त्रीले भने, ‘उनीहरुले मेरा विरुद्ध अविश्वासको प्रस्ताव हालेर संसदबाट गलहत्याए भने मात्रै छोडिन्छ, तर संघीयता र गणतन्त्रको विरुद्धमा दायाँ बायाँ गर्न दिइँदैन।’

जनयुद्धको उपलब्धीस्वरुप प्राप्त संघीयता, गणतन्त्र, समावेशी, समानुपातिक, धर्मनिरपेक्षता, सामाजिक न्याय र मौलिक अधिकारका विरुद्धमा एमालेले षड्यन्त्र गरिरहेको बताउँदै प्रचण्डले त्यसका विरुद्धमा चिन्ता भन्दा पनि डटेर सामना गर्ने तर्फ लाग्न कार्यकर्तालाई निर्देशन दिए।  

संविधान संशोधन प्रस्ताव राष्ट्रवादी भएको दाबी गर्दै प्रचण्डले हिमाल, पहाड र तराईलाई एकतामा जोड्ने संशोधन प्रस्तावको विरोध गर्नेहरु नै राष्ट्रघाती भएको आरोप लगाए। ‘एमालेले एकातिर देखाएर अर्कातिर तीर हानिरहेको छ,’ प्रधानमन्त्री  प्रचण्डले भने, ‘५ नं. प्रदेशको सीमांकनको विषयलाई लिएर संघीयता समाप्त पार्ने गरि एमालेले प्रतिगामी कदम चाल्दैछ।’

विराटनगरको होटल एसियाटिकको सभाहलमा खचाखच भरिएका कार्यकर्तालाई प्रशिक्षण दिँदै प्रचण्डले माओवादीहरु विभाजित र कमजोर हुँदै गएको फाइदा उठाएर प्रतिगामीहरु चलखेलमा उत्रिएको दाबी गरे। 

‘एकातिर किरण, अर्कातिर बाबुराम, विप्लव पार्टी फरक फरक दृष्टिकोणका साथ अलग भएका छन्,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘हामी कमजोर भएकै बेला विरोधीले आक्रमण गर्नु नौलो होइन, अब पुनः माओवादी केन्द्रीकरणमा लागौं।’ 

आफूले पाएको सूचना र राजनीतिक परिघटनाको विश्लेषण गर्दा अहिले राजनीतिक आकाशमा खतराको घण्टी बजेको भन्दै उनले स्थानीय तहको निर्वाचन नगरी केन्द्र संसदको निर्वाचन गरौं भन्नु त्यही षड्यन्त्रबाट आएको बताए। ‘एमालेले स्थानीय र प्रदेशको निर्वाचन नगरी केन्द्रको निर्वाचन गराऔं भनेको छ, यो प्रतिगामी कदम हो, त्यसो गर्न दिइँदैन’ प्रधानमन्त्री प्रचण्डले भने।  

पुराना पार्टीहरु पुरानै मुद्दामा फर्किन लागेको बताउँदै प्रचण्डले एमाले अध्यक्ष केपी ओलीले खुलेआम संघीयता आफूले मन नपरी नपरी आएको भन्नुले अझै स्पष्ट पारेको बताए। ‘एमालेका शीर्ष नेताबाट खुलेआम संघीयताका विरुद्धमा अभिव्यक्ति आउन थालेको छ,’ उनले भने, ‘त्यही पार्टीका भित्री कोठामा संघीयता र गणतन्त्रका विरुद्धमा छलफल भएको मलाई सूचना आएको छ, विषय गम्भिर छ।’ 

अख्तियारलाई एमालेले उचालेको आशंका

प्रधानमन्त्री प्रचण्डले आफू भारत भ्रमणका बेलामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्रकार सम्मेलन गर्नु एउटा ‘कु’को प्रयास भएको दाबी गरे।

‘भारत भ्रमणका बेला अख्तियारलाई उचालेर एउटा कु गर्ने प्रयास भएको थियो, तर, कांग्रेसबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुले त्यसलाई रोकेको पछि थाहा भयो,’ उनले भने, ‘लडाकु शिविरको छानविनको नाममा अख्तियारलाई उचालेर प्रधानमन्त्रीलाई पक्राउ पुर्जी थमाउने योजना भएको रहेछ, पत्र पनि तयार पारेर खाममा ठिक्क पारेपछि रोकिएछ।’ अहिले जसरी हुन्छ प्रधानमन्त्रीबाट आफूलाई हटाउन एमालेले न्वारानदेखिको बल लगाइरहेको दाबी गर्दै प्रचण्डले त्यस्तो सपना नदेख्न एमालेलाई आग्रह गरे।  

नेतृत्वको रक्षा भएन

प्रचण्डले कार्यकर्तालाई नेतृत्वको रक्षा गर्न आग्रह गरे। एमालेले आफ्नो नेतृत्वमा सरकार बनेदेखि नै विभिन्न अनग्रल प्रचार गरिरहेको तर, आफ्ना कार्यकर्ताले भने नेतृत्वको रक्षामा कुनै कदम नचालेको प्रचण्डले गुनासो गरे। ‘दुश्मनहरुले मेसिनगन पड्काएका छन्, हामीलाई निसाना लगाइरहेका छन्, तर हामी माओवादीहरु भएका भरुवा पनि लुकाएर बसेका छौं किन?’ उनले प्रश्न गरे। 

सरकारले गरेका राम्रा कामको प्रचार नभएको भन्दै प्रधानमन्त्री प्रचण्डले देशमा लोडसेडिङ अन्त्य गरिएको, मूल्य वृद्धि रोकिएको, ढल्केवर प्रसारण लाइन युद्धस्तरमा काम गरिएको, मेलम्ची खानेपानी आयोजना सम्पन्न हुन लागेको, सिक्टा सिंचाइ आयोजना, किमाथांका–जोगमनी सडक निर्माण, कुलेखानी जलविद्युत् आयोजना लगायतका राष्ट्रिय महत्वका आयोजना सम्पन्न सरकार लागेको विषयमा आफ्नो उपलब्धीको रुपमा लिन कार्यकर्तालाई आग्रह गरे। 

‘सरकारले थुप्रै जनप्रिय काम सुरु गरेको छ, जनता पेन्सन कार्यक्रम, लोडसेडिङ अन्त्य देखि राष्ट्रिय गौरवका आयोजना तीब्र गतिमा सम्पन्न भइरहेको छ, म बिहानदेखि बेलुकैसम्म देशभरका यस्ता आयोजनाको विषयमा रिपोर्ट लिइरहेको छु र आवश्यक निर्देशन दिइरहेको छु, यस्ता कामको विषयमा पनि प्रचार गर्नुपर्‍यो, प्रतिपक्षीको हल्लाका पछि लाग्नु भएन’ उनले भने। 

गोपाल किराँतीको प्रश्न

प्रशिक्षण सुरु हुनुभन्दा अघि माओवादी केन्द्र १ नम्बर प्रदेशका इन्चार्ज गोपाल किरातीले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डलाई पुरानै संरचना अनुसार निर्वाचन गर्न लागिएको हो? भनेर प्रश्न गरे। ‘हामीले जनसत्ता पनि गुमायौं, जनसेना पनि गुमायौं, पार्टी संगठन पनि अस्तव्यस्त बनायौं,’ प्रचण्डलाई लक्षित गर्दै किराँतीले भने, ‘अध्यक्ष कमरेड अब पुरानै संरचनामा निर्वाचन गराएर गणतन्त्र पनि गुमाउने हो?, यस्तो कामको मतियार कतै तपाई त बन्दै हुनुहुन्न, त्यस्तो निर्वाचनमा हामी चाहिँ सहभागी हुँदैनौं।’ 

किराँतीले ४ हजारको केन्द्रीय अधिवेशन आयोजक समिति बनाएर के तमासा गरेको भन्दै प्रश्न गरे। ‘विचार र कार्यदिशाको विषयमा हामी कमजोर भयौं, त्यसै कारण हामीले सांगठनीक भद्रगोलताको अवस्था व्यहोरिरहेका छौं,’ किराँतीले भने, ‘इतिहासकै हाँसोको पात्र हामीलाई किन बनाइयो?’ किराँतीको प्रश्नको उत्तर दिँदै अध्यक्ष प्रचण्डले भने धेरै चिन्ता नगर्न आग्रह गरे। ‘गोपालजीको चिन्ता धेरै भयो, मैले स्थानीय निकायको निर्वाचन पुरानै संरचना अनुसार गर्ने कुनै सहमति गरेको छैन, संघीयता र गणतन्त्र कमजोर बनाउने हिसावले त्यस्तो काम गरिँदैन’ उनले भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.