|

ओखलढुंगा : जिल्लाको चम्पादेवी गाउँपालिका–२ ओदेखोलामा शव फेला परेको छ। भीरमुनिको खोल्सामा फेला परेको शव चम्पादेवी गाउँपालिका–७ का ४६ वर्षीय रुद्धबहादुर थापाको रहेको प्रहरीले जनाएको छ।

थापासँगै हिँडेका चम्पादेवी गाउँपालिका–३ का २८ वर्षीय दीपक बुढाथोकी भने घाइते अवस्थामा फेला परेका छन्। बुधबार राति भीरबाट लडेर उनको मृत्यु भएको बताइए पनि घटनाको प्रकृति हेर्दा शंकास्पद रहेको र यसबारे थप अनुसन्धान गरीपाऊँ भनी मृतकका आफन्तले जाहेरी गरेपछि अनुसन्धन थालिएको प्रहरीको भनाइ छ।

चम्पादेवी–२ स्थित ओदेखोला भीरबाट दुवैजना लडेको घाइते दीपक बुढाथोकीले बताएका छन्। लडेकामध्ये रुद्र बहादुरको मृत्यु भयो भने दीपक बुढाथोकी घाइते भए। गाउँपालिका अध्यक्ष नवराज केसीले घटनाको प्रकृतिले भीरबाट लडेको जस्तो नदेखिने बताए। 'भीरबाट लडेको भए माथि धस्रेको जस्तो देखिन्थ्यो त्यस्तो केही देखिँदैन, घटना शंकास्पद छ' उनले भने।

भीरबाट दुवैजना लडेको भनिए पनि एउटाको मृत्यु हुनु र अर्को सामान्य घाइते मात्र हुनुले घटना शंकास्पद रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ। घटनाका सम्बन्धमा घाइते भएका बुढाथोकी प्रहरी हिरासतमा रहेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले बताए। मृतकको शव पोष्टमार्टमका लागि रामेछाप सदरमुकाम मन्थली पठाइएको पनि उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.