तराई अनुहार भएका र धोति कुर्ता लगाउने २०/२५ जनालाई केन्द्रमा ल्याउने प्रस्ताव

|

काठमाडौं : युवा संघ नेपालको केन्द्रीय प्राकृतिक स्रोतसाधन व्यवस्था विभागले आइतबार गरेको कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री बामदेव गौतम कडा रुपमा प्रस्तुत भए।

सत्तारुढ दलले दर्ता गरेको संविधान संशोधन विधेयक फिर्ता नहुने सत्तापक्षको अडानतर्फ इंगित गर्दै गौतमले संसदमा भिड्न एमाले तयार रहेको बताए।कार्यक्रमको विषयवस्तुमा कमै बोलेका नेता गौतमले अधिकांश समय नेपालको संविधानले अँगालेको संघीयताले मुलुक द्वन्द्वतिर धकेलिएको सङ्केत गरे। गौतमको भनाईको अंशः 

संघीयताले भयङ्कर द्वन्द्वतिर धकेल्दैछ

संघीयता भनेको मेलमिलाप हो, संगठन हो। तपाईँको र मेरो विचार नमिलिकन, मेलमिलाप नभइकन एउटै संगठनमा बस्‍न सकिँदैन। त्यसकारण संघीयतामा तिनीहरु मात्र बस्‍न सक्छन्, जो मेलमिलाप गर्छन्। जो मेलमिलाप गर्न सक्दैनन्, तिनीहरु बस्‍न सक्दैनन्। संघीयतामा बस्‍नेहरुले अंकमालै गरेर बस्छन्।

तर संघीयतामा म तँसित बस्छु तर तेरो हात काटेर मात्र बस्छु भनेर कसैले भनेको छैन र त्यस्तो कहीँ भएको पनि छैन। संघीयतामा गइसकेपछि संघीयताबाट फर्किँदा संसारमा कतिपय देशमा गृहयुद्ध समेत भएको छ।

वास्तवमा हाम्रो देश ताना र बानामा बनेको देश हो। यो भनेको दक्षिणतिरबाट उत्तरतिर मान्छेको प्रवेश र उत्तरतिरबाट दक्षिणतिर मान्छेको प्रवेश, पुर्वबाट पश्‍चिमतिर र पश्चिमबाट पूर्वतिर मान्छेको प्रवेश। कपडा बुन्‍ने ताना र बाना जस्तो हाम्रो समाजको सामाजिक साङ्ला जातीय बनोट, सांस्कृतिक अवस्था त्यस्तो छ।

संघीयता द्वन्द्वको समाधान हो तर हाम्रो देशमा संघीयता द्वन्द्वको समाधान होइन, द्वन्द्वको सिर्जना भइरहेको छ। हामी संघीयतामा गएका छौँ। यो संघीयताले हामीलाई भयंकर द्वन्द्वतिर धकेलिरहेको छ। द्वन्द्व भइसकेपछि त्यसको समाधानले जे निष्कर्ष निकाल्छ नेपाल त्यो बाटोमा मात्र हिँड्न सक्छ भन्‍ने किसिमको अवस्था सिर्जना भएको छ। 

अब नेपालमा अर्को द्वन्द्व हुन्छ, भयङ्कर द्वन्द्व हुन्छ। त्यो द्वन्द्व हुन नदिनको निम्ति कोसिस त होला तर त्यो अनिवार्य जस्तै बन्दै गइरहेको छ। कसले जित्‍ने? कसले हार्ने? त्यो अवस्था सिर्जना भइरहेको छ।

त्यो अवस्था यही संघीयताको डिमान्डमा संघीयताको विष भरेपछि त्यसले विष ओकलिरहेको छ र त्यो ठाउँमा पुर्‍याइँदैछ। तर हामीले समृद्धि खोजिरहेका छौँ। हामीले यी सबै कुरा समाधान नगरी समृद्धि कायम गर्न सक्दैनौँ।

२०६५ साल जेठ १५ गतेका दिन संघीय लोकतान्त्रिक घोषणा गरेपछि नेपालका राजनीतिक समस्या समाधान भए। हुन पनि २००७ सालदेखि त्यसबेलासम्म हामीले उठाएका राजनीतिक समस्या समाधान भएका थिए। म धेरै खुसी भएँ। धेरै मानिसहरु खुसी भए कि अब नेपाल ५८ वर्षको राजनीतिक यात्रालाई समाधान गर्दै नेपालको समृद्धिको दिशा पकड्छ। यस्तो निष्कर्ष निकालेँ। धेरैले त्यो आशा गरे।

तर त्यसयता हामीले देख्यौँ ८/९ वर्ष बित्न लाइसक्यो। तर यो बिचमा हामी नयाँ नक्कली द्वन्द्वमा भिडिरहेका छौँ। आज जे समस्या सिर्जना गरेर यो समाजलाई द्वन्द्वतिर लगिँदैछ यो समस्या होइन सिर्जना गरिएको नक्कली समस्या हो। 

हामी संघीयतामा गइसकेर राज्यको पुनर्संरचनाको आधारहरु तयार गरिसकेका छौँ। संविधान पनि जारी गरेका छौँ। संविधानमा संविधानसभाका ९० प्रतिशत सदस्यहरुले हस्ताक्षर गरेर त्यसलाई अगाडि सारिसकेका छन्। अब त्यो संविधानको कार्यान्वयन हो कि संविधानलाई छ्यानम्यान पारेर त्यसलाई टुक्राटुक्रा बनाउँदै त्यसलाई समाधान गर्ने हो? अहिले यहाँ त्यही भइरहेको छ। 

हामीले राजनीतिक समस्या समाधान गर्‍यौं तर हामीलाई नक्कली समस्यामा फसाएर फेरि समाजलाई द्वन्द्वतर्फ लिएर जाने र कसैको बाह्य निर्देशनलाई पालना नगर्दासम्म हामीलाई द्वन्द्वमा फसाउने र यो समाजमा तहसनहस पार्ने। एकतावद्ध भएर अगाडि बढिरहेको नेपाली समाजलाई आज जातजातमा टुक्राटुक्रा बनाउने अवस्थातर्फ लैजाने काम भइरहेको छ। 

हिजो संविधान मान्दैनौँ भनेर कतिपयले राजीनामा समेत गरे। ती कुराहरु वास्तवमा पछि प्रकट भयो। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संविधान जारी भएको कुरालाई स्वागत गर्न सक्नुभएन। के कारणले यो सबै भइराखेको छ भन्‍ने कुरा त्यहाँ प्रष्ट भइरहेको छ। यसरी हामीलाई नक्कली समस्यामा फसाएर अहिले द्वन्द्व सिर्जना गर्ने कार्य भइरहेको छ। 

हामीले गल्ती गर्‍यौं

नेपालको संघीयताका सम्बन्धमा नेकपा एमालेलाई अपच भइरहेको छ भनिएको छ। एमालेले अहिलेसम्म संघीयता बेठिक छ भनेर भनेकै छैन। एमालेभित्र म जस्ता मान्छेहरुले कतै गल्ती त गरिएन भन्‍न सम्म सकेका छन् अरु त बोल्या पनि छैनन्। 

तर हामीले गल्ती गरेकै हो। हामीलाई अवसर भएन र हामी यो ठाउँमा पुग्यौं। संघीयता पनि त थरीथरीका छन्। २७ वटा देशमा ५० किसिमका संघीयताका मोडालिटी छन्। हाम्रो जस्तो देशका निम्ति पनि संरचनामा संघीयता र सारमा विकेन्द्रीकरणको आधारमा सबै शक्तिहरु तल प्रवाहित गरेको भए त्यो किसिमले जाने कुरा भएको भएपनि त हुन्थ्यो नि। 

अहिले हामीले ल्याएको जस्तो संघीयता लागू हुँदै हुन्‍न। लागू नभएपछि आपसमा मारामार काटाकार गर्ने भन्दा अर्को विकल्प निस्कँदैन। यो ठाउँमा हामी पुगेका छौँ। देश अत्यन्त गम्भीर सङ्कटपूर्ण अवस्थामा खडा छ। भविष्य के हुन्छ ? हामी त्यसलाई सही बाटोमा लैजाने कोसिस गर्दैछौँ। 

समृद्धिको सपना अधुरै

हामीलाई ठूलो भड्खालोतर्फ लगिँदैछ। यस्तो अवस्थामा समृद्धिको त के कुरा गर्नु। हामीले के बुझ्‍न जरुरी छ भने यो देशलाई द्वन्द्ववतर्फ लैजाने व्यवहार/विचार विरुद्ध लडाईँ गर्ने मनस्थिति साथ हामी सडकमा गइसकेका छौँ। यसलाई अझ सशक्त बनाउनुपर्ने आवश्यकता छ। त्यो भन्दा अर्को विकल्प हामीसँग छैन। 

हामी संसदभित्र लडिरहेका छौँ। संसदभित्र हामी मरौँला। हाम्रो रगत बग्ला तर हामी चुक्नेवाला छैनौँ। सडकमा लड्नेहरु जानुस्। कहाँ-कहाँ लडाईँ गर्नुपर्ने हो। सडक हामीले २० हजार किलोमिटर बनाएका छौँ। ती सबै ठाउँमा जानुस्। खेत, खल्याण जहाँ जनता छन् त्यो ठाउँमा जाने हो हामी। त्यहाँबाट हामी उठ्ने हो। 

समृद्धि हाम्रो चाहना हो। हामी समृद्धि कायम गर्न सक्छौँ। त्यो समृद्धिका निम्ति हामीले सबैभन्दा पहिले उत्पादन गर्नतिर लाग्‍नैपर्छ। हाम्रो देशमा उत्पादन भएको दानापानीबाट हाम्रो छाक टर्ने र हामीले लगाउने लुगा, जुत्ता हामी आफैले उत्पादन गर्ने अवस्था सिर्जना गरौँ। 

तराईमा एमाले विस्थापित भएका छैन

तराईका प्रत्येक क्षेत्रमा हाम्रो काम छ। तराईका २० वटै जिल्लामा एमालेलको सशक्त काम छ। एमाले विस्थापित भएको छैन। कसैले एमाले मुक्त मधेस बनाउछौँ भनेर कुरा गर्दैछ। के त्यो मधेस भारतबाट कसैले आउँदा सँगै गोजीमा हालेर ल्याएर आएको मधेस हो? तिनीहरुले एमाले मुक्त मधेस बनाउँछन् ? यी वाइयात, बहुलट्ठीपूर्ण पागलपन बाहेक केही होइनन्। यिनी पराजीत हुनु स्वभाविक छ। पराजित हुन्छन्। 

गुटबन्दीले विगतमा गल्ती गर्‍यौं

हामीले विगतमा गल्ती गरेका छौँ। पार्टीभित्र गुटबन्दी खडा गरेर सातौँ महाधिवेशनमा केही तराईका हाम्रा अत्यन्त लोकप्रिय नेताहरुलाई पराजित गरियो। आठौं महाधिवेशन गर्‍यौँ र बाँकी केहीलाई बिदाइ गर्‍यौँ। नवौं महाधिवेशन गर्‍यौँ र भएका जति छन् सबैलाई पराजित गर्‍यौँ र केन्द्रीय कमिटिमा बल्ल-बल्ल २/४ जना हुनुहुन्छ। 

यो गुट पनि तराईतिरकै नेतालाई जिताउने गुट भए हुन्थ्यो नि । तराई अनुहार भएकालाई जिताउने भए हुन्थ्यो नि। गुट पनि पहाडी अनुहार भएकालाई जिताउने। पार्टी अध्यक्ष (केपी ओली) लाई विधानका कुरा छाड्दिनुस् अब। २०/२५ जना (साँच्चिकै धोती र कुर्ता लगाएर हिँड्ने, यहाँ आउँदा पनि धोति कुर्ता नै लगाउने, यहाँ आउँदा दौरा सुरुवाल लगाएर हिँड्ने होइन, त्यस्ता किसिमका, नेताहरुलाई हाम्रो पार्टीको केन्द्रीय कमिटिमा ल्याउनुपर्‍यो भने प्रस्ताव गरेको छु। 

मैले भनेको छु र लगातार भन्छु पनि, हाम्रो केन्द्रीय कमिटि जति छ त्यसमा अरु २५/३० जना थपिँदा के फरक पर्छ? ११२/१४ त अहिले पनि छँदैछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.