१५ सय बढी युवाले रोजगार पाउने

|

पाल्पा : जिल्लाको रिब्दीकोट गाउँपालिका र रम्भा गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ। अन्य स्थानीय तहमा भने काम गर्ने युवाको छनोट प्रक्रिया टुंगिएको छैन। 

यद्यपि प्रत्येक वडाबाट काम गर्न इच्छुक युवाको आवेदन संकलन गर्ने काम भइरहेको छ। जिल्ला भरीको पछिल्लो आवेदनको संख्या सात हजारभन्दा बढी रहेको पाइएको छ। तर काम गर्न इच्छुक युवाको संख्या भने जेनतेन दुइहजार पुग्न कठिन देखिएको छ। रिब्दीकोट गाउँपालिकामा केन्द्रीय सरकारबाट प्राप्त बजेट अनुसार ६३ जना युवाले काम गर्न थालेका छन्। तर गाउँपालिकाले छुट्टै पाँच लाख बजेट विनियोजन गरेर थप ४७ जना गरी एकसय १० जना युवालाई रोजगार दिएको छ। 

युवाले शनिबारदेखि काम गर्न थालेको रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले बताए। उनका अनुसार केन्द्र सरकारबाट प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत १४ लाख बजेट प्राप्त भएको छ। यस्तै रम्भा गाउँपालिकाले ९० जना युवालाई रोजगार दिने लक्ष्यक साथ प्रधानमन्त्री रोजगार कार्यक्रम शुक्रबारदेखि संचालन गरेको छ। 

अहिले २० जना युवाले काम गर्न थालिसकेका छन् गाउँपालिका अध्यक्ष विष्णु भण्डारीले भने बाँकी ६० जना युवालेपनि केही दिनमै काम गर्न सुरु गर्नेछन्। रम्भा गाउँपालिकालाई यो कार्यक्रमअन्तर्गत १४ लाख बजेट प्राप्त भएको उनले बताए। सबैभन्दा धेरै बजेट प्राप्त भएको तानसेन नगरपालिकामा पनि कामदार छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

४२ लाख बजेट अन्तर्गत रहेर १८५ जना युवालाई रोजगार दिने लक्ष्य राखिएको प्रमुख अशोक कुमार शाहीले बताए। यस्तै रामपुर नगरपालिकामा २५ लाख बजेट प्राप्त भएको छ। करिब १०० जना युवालाई रोजगार दिइने नगरप्रमुख रमणबहादुर थापाले बताए। उनका अनुसार आगामी असार एकगतेदेखि प्रधामन्त्री रोजगार कार्यक्रमअन्तर्गत यहाँका युवाले काम गर्नेछन्। 

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई १६ लाख प्राप्त भएको बगनासकाली गाउँपालिकामा कामदार छनोट प्रक्रिया थालिएको प्रमुख प्रशासकिय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले बताए। उनका अनुसार असार पहिलो साताबाट यो कार्यक्रम संचालन हुनेछ। 

माथागढी गाउँपालिकामा १६ लाख बजेट प्राप्त भएको छ। १२ सय बढीले फारम भरेको भए पनि करिब तीनसय जना युवालाई छनोट गरी रोजगार दिइने गाउँपालिका अध्यक्ष सन्तोष थापाले बताए। यस्तै १३ लाख बजेट पाएको पूर्वखोला गाउँपालिकाले तीनसय युवालाई रोजगार दिने बताएको छ। अहिले आवेदन संकलन गर्ने र छनोट गर्ने काम भइरहेको गाउँपालिका अध्यक्ष नुनबहदुर थापाले बताए।

निस्दी गाउँपालिकामा १३ लाख बजेट प्राप्त भएको छ। गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुका अनुसार यहाँका ९८ जना युवालाई रोजगार दिइनेछ। यस्तै १२ लाख बजेट प्राप्त भएको तिनाउ गाउँपालिकामा २०० जना युवालाई रोजगार दिने गरी छनोट प्रक्रिया चलिरहेको गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तिमगरले बताए।

रैनादेवी छहरा गाउँपालिकामा १९ लाख बजेटअन्तर्गत रहेर ३२० जना युवालाई रोजगार दिने गरी प्रक्रिया अगाडि बढेको गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले बताए। प्रधानमन्त्री रोजगार कार्यक्रममा आवेदन दिने युवाको संख्या बढी देखिए पनि काम गर्न इच्छुक युवा भने निकै कम रहेका छन्।

विभिन्न सेवा सुविधा पाइने आशामा आवेदन दिएका रहेछन् माथागढी गाउँपालिका अध्यक्ष सन्तोष थापाले भने विकास निर्माणको काम गर्नुपर्छ भनेपछि उनीहरू निस्क्रिय देखिएका छन्। 

रोजगार गर्न अएका युवालाई मोटरबाटो सफा गर्न, नाली खन्न, बनजंगल सफा गरेर महत्वपूर्ण जडिबुटी रोप्ने काम गर्न लगाइने रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले बताए। उनका अनुसार मिहिनेत युवालाई यो कार्यक्रम पश्चात अर्को आर्थिक वर्षदेखि गाउँपालिकाले नै बजेटको व्यवस्था गरेर निरन्तर रोजगार दिनेछ। 

रोजगारको शिलशिलामा भारतको पञ्जावमा बस्दै आएका रिब्दीकोट गाउँपालिका ७ का निलबहादुर सारुले गाउँमै काम गर्न पाउँदा खुसी लागेको बताए। थोरै तलबमा धेरै मिहिनेत गर्नुपर्ने र परिवारसँग समेत टाढा रहनुपर्ने बाध्यता थियो उनले भने निरन्तर ज्याला पाएर आफ्नै गाउँमा काम गर्न राम्रो हुन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.