'इतिहास भजाएर मात्रै कांग्रेसलाई पत्याउँदैनन्'

|

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले इतिहास भजाएर मात्रै कांग्रेसलाई जनताले विश्वास गर्न नसक्ने बताएका छन्। 

कांग्रेसले आफूलाई विधि विधान अनुसार नचलाएमा, नयाँ संरचनामा नलगेमा र आन्तरिक कलह समाप्त नपारेसम्म  इतिहासलाई भजाएर आफूतिर जनता तान्‍न नसकिने उल्लेख गरेका छन्। 

 आइतवार नेपाली कांग्रेस सुर्खेतले गरेको कार्यकर्ता भेटघाटमा बोल्दै पार्टीका पूर्वमहामन्त्रीसमेत रहेका नेता सिंहले कांग्रेस आफू पनि सच्चिनँ तयार रहनुपर्ने बताए।

उनले २००७ साल, २०३६ साल, २०४६ सालको इतिहास भजाएर जनताले विश्वास गर्न नसक्ने र त्यसका लागि पार्टीभित्र संस्थागत सुधार गरी विधि विधानबाट चलाएर कांग्रेसलाई एकढिक्का बनाउनुपर्ने उल्लेख गरे।

गाउँ जागरण अभियानका क्रममा कार्यकर्ताहरुले कांग्रेसलाई संस्थागत सुधार र पार्टीको आन्तरिक कलह मेटाउनुपर्नेजस्ता सुझाव दिएकाले नेतृत्व तहले गम्भीर भएर सोच्नुपर्ने बताए। उनले जनताबाट प्राप्त सुझाव अनुसार कांग्रेस परिवर्तन हुनुपर्ने जिकिर गरे। 

यसैगरी उनले संसदमा कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गरेको दावी गरे। दुईतिहाइको सरकारको मनपरी र अधिनायकवाद शैली सशक्त प्रतिकार गर्दै आएको उनले दाबी गरे।

ओली सरकारले एकपछि अर्को गर्दै विभिन्‍न विधेयक ल्याएर अधिनायकवाद लाद्‍न खोजेको आरोप लगाउँदै नेता सिंहले त्यसका विरुद्ध कांग्रेसले संसदमा सशक्त प्रतिकार गरेको उल्लेख गरे।  'चुनावमा कम्युनिष्टले जिते रुन पनि पाइँदैन, अधिनायकवाद लाद्छन भन्दा कांग्रेसले के के बोलेको भन्थे', उनले भने, 'आज प्रेसमाथि अंकुश लगाउने मिडिया काउन्सिसल विधेयक ल्याएपछि बल्ल संचार जगतको होस खुलेको छ।'

सरकारको पक्षमा समाचार नलेखे जेल जानुपर्ने अवस्था आएपछि सञ्चारकर्मी नै रुनु परिरहेको उनले बताए। कांग्रेस पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा दृढताकासाथ उभिने समेत उनले बताए । 

कांग्रेसले नै संविधान जारी गरेकाले त्यसको पालना र रक्षा गर्ने प्रमुख दायित्व पनि कांग्रेसकै भएको उनको भनाइ थियो। संविधानमाथि धावा बोल्नेविरुद्ध कांग्रेस जाइलाग्ने पनि उनले बताए । 

कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री हृदयराम थानी, पूर्वमन्त्री खड्गबहादुर बस्याल, पार्टीका पूर्वसभापति गोविन्दबहादुर मल्लसहित नेता कार्यकर्ता उपस्थित थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.