|

मुगु : कर्णाली प्रदेशको १० जिल्लामध्ये एक हो मुगु। मानव विकास सूचकांकमा देशकै सबैभन्दा पछाडि रहेको मुगु जिल्लामा धेरै बहुमूल्य वस्तुहरू पाइन्छन्। तर, पनि यहाँका नागरिक भने भोकमरीको समस्या खेप्न बाध्य छन्।

यहाँ पाइने बहुमूल्य वस्तु हो, यार्सागुम्बा। कतिले यसलाई बहुमूल्य धातु सुनसँग तुलना गर्ने गरेका छन्। हुन पनि यार्साको मूल्य सुनकै हाराहारीमा छ। यति महँगो वस्तु पाइने जिल्लामा नागरिक सुखी र अभावमुक्त हुन पर्ने हो।

तर, यहाँको अवस्था त्यस्तो छैन स्थानीय संरचनाअनुसार मुगु जिल्लामा एक नगरपालिका र तीन गाउँपालिका छन्। जिल्लामा रहेको छायानाथ रारा नगरपालिका, सोरुगाउँपालिका, खत्याड गाउँपालिका, मुगुम कार्मारोङ गाउँपालिकासहित चार स्थानीय तहमा विभाजित भएको छ।

सानो जिल्ला भए पनि यहाँका नागरिकका समस्या भने धेरै छ। शिक्षा, स्वास्थ्य र भौतिक संरचना लगायतका विकासका हिसाबले जिल्ला निकै पछाडि परेको छ। तर प्राकृतिक सम्पदाले भने धनी छ मुगु।

यहाँ नेपालकै सबैभन्दा ठूलो र चर्चित राराताल, छायानाथ धाम, चखेली हिमाल, कोइकी हिमाल, कणमोक्ष मन्दिर, खेस्समामालिका, कालिकामालिका, कर्णालीको कुल देवता मष्टोलगायत विभिन्न धार्मिक तथा पर्यटकीय सम्भावानाको अथाह सम्भावना बोकेको जिल्ला हो मुगु।

तर ती सबै सम्पदा भएर पनि यो यहीँ सीमित छ। मुगुमा स्वर्गकी अप्सरा भनिने रारा मात्रै होइन, अझैसम्म नामकरण हुन नसकेका थुप्रै ताल-तलैया छन्। जिल्लामा भएका यस्ता धार्मिक तथा पर्यटकीय स्थलको प्रचार-प्रसार गर्न सकिने हो भने जिल्लाको विकासमा ठूलो टेवा पुग्ने छ।

रारा मान्छेको कल्पना पनि हो। अझ रारासँग साक्षात्कार गर्ने धेरैको अभिलाषा हुन्छ। यो हेर्न आउने हजारौँ स्वदेशी तथा विदेशी पर्यटकलाई अन्य स्थानसँग पनि जोड्न सके मुगुको विकास र समृद्धिमा कायपलट हुने निश्चित छ।

तर, मुगु जिल्लामा बसोबास गर्ने विभिन्न समुदायका मान्छे परनिर्भर बन्दै गएका छन्। शिक्षा र चेतनाको अभावमा यस्ता सम्भावानका बारेमा जान्न बुझ्न र त्यसको महत्त्वका बारेमा थाहा पाएका छैनन्। त्यसैले पनि उनीहरूको चासो यहाँका सम्पदा र सुन्दरतालाई कसरी बढी प्रचार गर्ने भन्नेमागएको छैन। मुगुमा यस्ता धार्मिक तथा पर्यटकीय सम्भावानाका बोकेका धेरै स्थानहरू प्रचार-प्रसारको कमीले ओझेलमा परेका छन्।

यातीत खाद्यान्नको भर

मुगुका नागरिकको आम्दानीको स्रोत भनेको कृषि हो। यहाँका सबै नागरिक कृषिमा निर्भर छन्। तर, भुवा पाखो जमिनको खेतीमा सिँचाइको सुविधा नभएका कारण खेतीपातीबाट खान पुग्ने अवस्थासम्म छैन। खेतीपातीको उब्जाउबाट यहाँका ९० प्रतिशत नागरिकलाई छ महिनाभन्दा बढी खान पुग्दैन। त्यसपछिको समय उनीहरू किनेर खाने गर्छन्।

खेतीबाट खान नपुग्ने भएकाले बाध्य भएर आयातीत खाद्यान्नको भर पर्नुपर्ने अवस्था छ। खाद्यान्नमा बाहिरको भर पर्दै जाँदा थोरै हुने खेतीपातीमा समेत जाँगर कम हुँदै गएका कारण भोकमरी आउनसक्ने अवस्था बढेको गएको छ।

जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिँड

यहाँका मान्छेले सुन जस्तै बहुमूल्य जडिबुटी यार्सा गुम्बालाई चिन्न र बुझ्न नसक्दा बर्सेनि भोकमरीको चेपटामा गुज्रिएर बाँच्न बाध्य भएका छन्। बजार मूल्य महत्त्वका हिसाबले यार्गागुम्बा सुनभन्दा कम मूल्यवान् छैन। त्यही मूल्यवान यार्सा मुगुमा पाइन्छ।

तर, त्यसलाई सही रूपमा यहाँका नागरिकले चिन्न र बुझ्न नसकेका मुगुम कार्मारोङ गाउँपालिकाका सूचना अधिकारी तीर्थ राज शाहीले बताए। उनका अनुसार यहाँ पाइने बहुमूल्य यार्सा संकलन गर्न स्थानीयले धेरै रुचि देखाउँदैनन्। यार्साको मूल्य र महत्त्व बुझेका अन्य छिमेकी जिल्लामा मान्छे आएर संकलन गरी लैजान्छन पैसा कमाउँछन्।

यहाँका स्थानीय महंगो यार्सा खोज्न छाडेर बरु रोजगारीका लागि भारततिर जान्छन्। भारतमा गएर अनेक दुःखले काम गर्नभन्दा यहाँ सम्भावना भएका वस्तुलाई प्रयोग गर्न सके आफू र स्थानीय ठाउँको विकास हुने थियो।

नेपाली उखानमा ‘जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिँड’ भने जस्तै भएको छ यहाँको लागि यार्सा। यही यार्सा संकलन गरेर लाखौँ कमाउनेहरू पनि छ तर, यहीँको माटोमा उत्पादन हुने यार्सालाई यहाँका मान्छेले जीविकोपार्जनमा लगाउन सकेका छैनन्। यसका कारण अनेक समस्या भोग्न बाध्य छन्।

उद्यपि मुगुको छायानाथ रारा नगरपालिकाको वडा नम्बर १०, ११, १२ र १३ का केही स्थानीय र मुगुम कार्मारोङ गाउँपालिकाकमा बसोबास गर्ने लामा समुदाय भने यार्सा संकलन गर्न जाने गरेका छन्। उनीहरूले यार्साकै कारण थोरै भए पनि आफ्नो जीवनलाई व्यवस्थित बनाएका छन्। मुगु जिल्लाको जमिनमा पाइने सुन जस्तै यार्सालाई मुगालीले चिन्न सकेका छैनन्।

त्यसैले मुगुका हरेक क्षेत्रमा सम्भावना धेरै भएर पनि यहाँको नागरिक र स्थानको विकास हुन सकेको छैन। आफ्नै माटोका सुन चिन्न नसकेर मुगुका स्थानीय नुनको खोजी गर्दै भौतारिने गरेका छन्। यार्सा गुम्बा मात्र नभई यहाँ अन्य जडीबुटी बन लसुन, चिराइतो, अतिस, भुल्ते, काकँरशिलो, शिलाजितलगायत अन्य धेरै जडिबुटी पाइन्छन्।

मुगुमा समस्या मात्रै होइन, अथाह सम्भावाना पनि छ। तर, यहाँ भएका सम्भावानालाई समृद्धिमा कसरी प्रयोग गर्दै लागे भन्ने कुराको पहिचान गर्न नसक्दा मुगु पछाडि परेको हो।

राष्ट्रिय राजनीतिमा पहुँच कम

अर्को कुरा समाज विकासमा राजनैतिक प्रभाव र नेतृत्वले ठूलो भूमिका खेल्छ। तर, मुगुको राजनैतिक नेतृत्वको राष्ट्रिय राजनीतिमा नेतृत्वको पहुँच कम हुदाँ पनि यहाँको विकासका सम्भावाना ओझलमा परेका कर्णाली प्रदेशका सासंद दानसिह परियारले बताए। यहाँको नेतृत्वको कुनै पनि पार्टीको राष्ट्रिय राजनीतिमा पहुँच नभएकै कारण मुगुमा रहेका सम्भावाना पछि परेका हुन्।

यहाँको दोल्फुमा रहेको तामाखानी, फलामखानी धार्मिक तथा पर्यटकीय स्थल, जडीबुटीलाई मुगुका मान्छेले उपभोग गर्न पाएका छैनन्। ती सबै कुरामा राजनीति नेतृत्वको भूमिका र सक्रियताले ठूलो प्रभाव पर्छ। तर, यहाँको नेतृत्वले त्यसो गर्न सकेको छैन।

मुलुक संघीय संरचनामा गएपछि भएको निर्वाचनमा एक क्षेत्र रहेको मुगुमा ६ जना स्थानीय नेताले केन्द्र र प्रदेश सासंद्को रूपमा नेतृत्व गरेका छन्। यहाँको निर्वाचन क्षेत्रका आधारमा यो ठूलो संख्या हो। तर, ६ जनाले नेतृत्व गरेको भए पनि मुगुको विकास भने पहिलेकै जस्तै छ। कुनै परिवर्तन हुन सकेको छैन।

यहाँको शैक्षिक अवस्था कहाँलीलाग्दो छ। मुगुमा धार्मिक तथा पर्यटकीय स्थल, जडीबुटी तामाखानी, बहुमूल्य यार्सा छ। यति भएर पनि नेतृत्वको राष्ट्रिय राजनीतिमा पहुँच कम र अक्षम भएका कारण होला मुगुका नागरिक सुन सिरानीमा राखेर भोकमरीको सामना गर्न बाध्य छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.