०७७ पुससम्म सबै काम सक्ने लक्ष्य

|

पोखरा : पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट जहाज उडान र अवतरण गर्न समस्या हुने भएपछि पोखरा २६ मा रहेको रिट्ठेपानी डाँडा काट्नुपर्ने भएको छ।

जहाज उडान र अवतरण सहज बनाउन पोखरा २६ मा रहेको रिठ्ठेपानी डाँडा २५ मिटर काट्नुपर्ने भएको क्षेत्रीय विमानस्थल आयोजना प्रमुख इन्जिनियर बिनेस मुनान्कर्मीले जानकारी दिए। ‘उडानको लागिभन्दा पनि ल्याण्ड गर्न समस्या देखिने भएपछि डाँडा काट्नुपर्ने भएको हो’ मुनान्कर्मीले भने, ‘त्यसको लागि आवश्यक वातावरणीय मूल्यांकन गरेर सहज वातावरण बनाउनको लागि पोखरा महानगरलाई आग्रह गरेका छौँ।’

मुनान्कर्मीका अनुसार डाँडा काट्नका लागि वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार भइसकेको छ। करिब चारसय रोपनी क्षेत्रमारहेको डाँडा २५ मिटर तास्नु पर्ने भएको हो। त्यसको लागि विमानस्थल निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना सिएएमसी इन्जिनियरिङले स्थानीयसँग समन्व गरेको छ। त्यहाँ निस्कने ढुंगा,माटो विमानस्थलमै प्रयोग गर्ने तयारी भइरहेको छ।

डाँडा काट्नको लागि स्थानीयलाई नै दिनेकी विमानस्थल निर्माण कम्पनीले नै जिम्मा लिने विषयमा टुंगो लागिनसकेको बताइएको छ। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणको कामले तिव्र गति लिइरहको छ। इमर्जेन्सी ल्याण्ड गर्न मिल्ने गरी धावनमार्ग (रनवे) निर्माण भइसकेको छ। यो विमानस्थलको निर्माण तोकिएको मितिभन्दा ६ महिनाअघि नै सक्ने लक्ष्य रहेको छ।

आयोजनाका अनुसार काम सोहीअनुसार भइरहेको छ। यस आर्थिक वर्ष असार मसान्तसम्म रनवे बाहेकका प्रगति ३५ प्रतिशत हुने अनुमान गरेको आयोजनाले आर्थिक वर्ष सकिँदा ४० प्रतिशतभन्दा धेरै काम हुने आंकलन गरिरहेको छ।

विमानस्थल बनाउन चिनियाँ कम्पनी चाइना सिएएमसी इन्जिनियरिङ र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) सम्झौता भएर काम अघि बढेको हो।

नेपालकै नयाँ प्रयोगमा रनवे 

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा रनवेको काम सम्पन्न भइसकेको छ। नेपालमा रहेका सबै विमानस्थलमा रनवे बनाउँदा पिच गर्ने गरिए पनि यो विमानस्थलमा भने ढलान गरिएको आयोजनाले जनाएको छ।

२५ सय मिटर लामो दूरीको विमानस्थलमा पहिलोपटक ढलान गरिएको हो। ‘पहिलोपटक ढलान गरेर रनवे बनाइएको छ। यो रनवेको ढलानको ३० वर्षे वारेन्टी छ’ विमानस्थलका प्रोजेक्ट म्यानेजर विनेश मुनाकर्मीले भने। रनवे सकेपछि अहिले विभिन्न प्रयोजनको लागि प्रयोग हुने आठ वटा भवनहरू धमाधम निर्माण भइरहेका छन्। 

आपतकालीन ल्याण्ड गर्न सकिने

विमानस्थलको धावनमार्गले पुग्ने क्षमताका विमानहरू आपतकालीन ल्याण्ड गर्न सकिने मुनाकर्मीले जानकारी दिए। ‘धावनमार्गले पुग्ने विमानले आपत्कालीन ल्याण्ड गर्न सक्छन्’ ,उनले भने। चालु आर्थिक वर्षको असार मसान्तसम्म ३५ प्रतिशत काम सक्ने लक्ष्यका साथ काम भइरहेको आयोजनाको अहिलेको गतिले ४० प्रतिशत पुग्नेमा आयोजना कम्पनी ढुक्क छ। यो प्रगति रनवे निर्माण बाहेकको हो। 

‘हामीले जहिले नी काम गर्दा यति समयमा यति काम सक्ने भनेर लक्ष्य राखेर गरेका छौँ’, उनले भने, ‘हामीले यो आगामी असार मसान्तसम्म ३५ प्रतिशत काम हुन्छ भन्ने अनुमान थियो। तर हामीले तीनमहिना अघि  नै ३५ प्रतिशत लक्ष्य पूरा गर्‍यौँ।’ २२ अर्ब रुपैयाँको लागतमा बन्ने विमानस्थल अन्तर्राष्ट्रिय नागरिक उड्ययन संस्था आइकाओको मापदण्डअनुरूपको हुनेछ।

०७७ पुससम्म सबै काम सक्ने लक्ष्य

आयोजनाले विमानस्थल निर्माणको सम्पूर्ण काम २०७७ सालको पुससम्ममा सक्ले लक्ष्य राखेको छ। नेपाली र चिनियाँ गरेर झण्डै ५०० हाराहारी कामदारले विमानस्थलको विभिन्न निर्माणको काम गरिरहेका छन्। रनवेको काम सकिइसकेको निर्माण कम्पनीले ट्याक्सी पार्किङमा पनि दोस्रो चरणको काम सकिइसकेको छ। २०१७ को नोभेम्बरमा निर्माण सुरु भएको विमानस्थलमा टर्मिनल भवन धमाधम बनिरहेको छ।

सम्झौता भने २०२१ को जुलाइ १० सम्म छ। विमानस्थलमा निर्माण भइरहेको टर्मिनल भवन १४ हजार वर्गको हुनेछ। टर्मिनल भवनको शिलान्यास स्व. पर्यटन मन्त्री रवीन्द्र अधिकारीले गत भदौमा गरेका थिए। उक्त टर्मिनल स्वदेशी र विदेशी उडानको लागि छुट्याइएको छ। आठ हजार स्क्वायर मिटर अन्तर्राष्ट्रिय र ६ हजार स्क्वायर मिटर आन्तरिक उडानका लागि प्रयोग हुनेछ।

पोखरा विमानस्थलमा ल्याण्ड गर्ने विमानहरू अहिले विश्वमा धेरै उडान भरिरहेका मझौला खालका १८० सिट क्षमताका विमानहरूले उडान भर्नेछन। मुनाकर्मीका अनुसार २०१९ मा ६० प्रतिशत र २०२० को भित्र ४० प्रतिशत काम सक्ने आयोजनाको लक्ष्य छ।

वान-वे एप्रोचको यो विमानस्थलमा पूर्वबाट मात्र जहाज अवतरण गर्न सक्छन्। २०२१ को जुलाइमा अन्तर्राष्ट्रिय उडान गर्ने लक्ष्य आयोजनाको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.