|

प्यूठान : गाउँ-गाउँमा पर्यटन भित्र्याउने चाहना तीव्र रुपमा वृद्धि भइरहेको समयमा पर्यटन विकास विकास प्रभावकारी बन्न सकेको छैन। आस्थाको केन्द्र तथा आकर्षण स्थललाई पर्यटनको माध्यय बनाउने तर पर्यटन शिक्षा, स्थानीय उपजको उत्पादनमा ध्यान जान नसक्दा पर्यटन ‘नाम मात्रको पर्यटन प्रवर्द्धन’ हुन पुगेको छ। 

गाउँ गाउँका स्थानीय युवा मिलेर पर्यटन प्रवर्द्धनका लागि स्थानीय तहमा पहल गरे पनि भौतिक पूर्वाधार निर्माणमा मात्र प्राथमिकीकरण गरिनुले स्थानीय आर्यआर्जनको माध्यम बन्न नसकेको पर्यटन क्षेत्रका जानकारहरू बताउँछन्। 

ग्रामीण पर्यटन प्रवर्द्धनमा पर्यटन शिक्षा र पर्यटन उद्यमशिलताको विकास अभावमा पर्यटकीय गन्तव्यको आसपास स्थानीय रुमल्लिएका छन्। भौतिक पूर्वाधारमा केही बजेट छुट्याउने सरकारले पर्यटन शिक्षा र उद्यममा लगानी गर्न नसक्दा पर्यटकको चाप बढ्दै गएका ठाउँमा स्थानीय उत्पादन, होम-स्टे, होटल जस्ता आर्थिक आर्जनका आयामको विकास हुन् नसकेको स्थानीय अगुवाको तर्क छ। 

प्यूठान आफैँमा पर्यटकीय गन्तव्यको रूपमा परिचित जिल्ला हो। हिन्दुको आस्थाको केन्द्र स्वर्गद्वारीदेखि प्रत्येक स्थानीय तहले आफ्ना पर्यटकीय गन्तव्यको प्रवर्द्धन भन्दै केही वजेट विनियोजन गरी पूर्वाधार निर्माण काम पनि गर्दछन। तर उद्यम विकास स्थानीय सरकारको प्राथमिकतामा नाम मात्रको पर्यटन प्रवर्द्धन भएको छ। थोरै काम धेरै अपेक्षाका कारण बर्सेनि विनियोजित बजेट प्रभावकारी भएको छैन। 

जिल्लामा अवस्थित स्वर्गद्वारी नगरपालिकामा स्वर्गद्वारी, सारीको भूवनोट, प्यूठान नगरपालिकामा भित्रिकोट, लिस्ने झुलेनी, नौबहिनी गाउँपालिका कठबरा दह र नौबहिनी, गौमुखी गाउँपालिकामा गौमुखी, तामाखानी, झिमरुक गाउँपालिकामा रक गार्डेन, ओखरकोट दरवार, लालिगुराँस रंगशाला, इख्नाथान, माण्डवी गाउँपालिकामा उदयपुरकोट गढी, मल्लरानीमा झाँक्री स्थान, मल्लरानी, ऐरावती गाउँपालिकामा ऐरावती बिजुलीकोट, सरुमारानीमा किमिचौर दह, सरुमारानी लगायतका पर्यटकीय गन्तव्यको रुपमा स्थानीय तहले मुख्य गन्तव्य दावी गरेका छन्। त्यति मात्रै होइन पर्यटकीय स्थलहरूको नामबाट स्थानीय पालिकाको नामाकरणसमेत गरिएको छ।

पर्यटकीय स्थलको रुपमा रहेका गन्तव्यको नामबाट नामकरण भएका नगरपालिका तथा गाउँपालिकाको प्राथमिकता सडकमा छ तर पर्यटन उद्यममा ध्यान जान नसक्दा पर्यटकीय स्थल क्षेत्रमा जनतामा खासै प्रभाव पर्न सकेको छैन। पछिल्लो समय प्यूठानको स्वर्गद्वारीमा मात्रै चार लाख पर्यटक भित्रिएको स्वर्गद्वारी आश्रमले बताएको छ तर प्यूठानका उद्यमीले तयार पारेको उत्पादनको निर्यात भने न्यून छ। 

प्यूठानमा नौबहिनीको अल्लो, टिमुर, रातोमुला, बाघमुखे चुलेसी लगायतका थुपै कोसेलीका सम्भावना हुँदाहुँदै पनि व्यवस्थित उद्यममा आधारित पेशामा आवद्ध युवायुवतीको अभावमा पर्यटक रित्तो हात फर्किने गरेका छन्। 

सुनसान जिल्लाका होम-स्टे

पर्यटन उद्यमको एउटा नमुना एसियाको पहिलो पूर्ण सरसफाइयुक्त गाउँ धनबाङको मगर सामुदायिक होम-स्टे सञ्चालनका केही महिना चर्चामा रहे पनि अहिले सुनसान बन्न पुगेको स्थानीय बताउँछन्। स्थानीय उत्पादनको अभाव, अर्गानिकताको कमी, यातायात उचित प्रचारप्रसार लगायतका कुराको अभावका कारण होम स्टे सुनसान हुन पुगेका हुन्। 

जिल्ला बाहिरबाट करिव चार लाख पर्यटन वार्षिक रुपमा आउने गर्दा पनि स्वर्गद्वारीले सुन्तला र काफलबाहेक अन्य उत्पादनबाट आर्जन गर्न नसकेको स्वर्गद्वारी नगरपालिकाका अगुवा समाजसेवी ऋषिराम पुनले बताए। ‘ग्रामीण पर्यटनको देशव्यापी रुपमा लहर चलिरह्यो तर पर्यटकीय गन्तव्यका क्षेत्रहरूमा उद्यम विकास र बजारीकरणका पाटा सरकारका प्राथमिकतामा परेनन् ’ऋषिराम पुनले भने,‘संघीय संरचनामा आएपछि स्थानीय, प्रदेश र  केन्द्रीय सरकारले आर्थिक समृद्धि हासिलका लागि पनि पर्यटन उद्यममा जोड दिनु पर्दछ।’

प्यूठानको धनवाङ, ओखरकोट, ठुलाचौर, चौके लगायतका स्थानमा होमस्टे सञ्चालनका प्रयास नभएका होइनन्। युरोपियन पर्यटक ओखरकोटको डाँडोमा पुगेर होम-स्टेमा बसी सूर्योदयको दृश्यावलोकन पनि गरेका छन्। तर, सञ्चालनका केही हप्ता चर्चामा आएका होम-स्टेमा आउनेहरूको संख्या शून्य छ।

शुरु शुरुमा केही जना आए पनि उचित व्यवस्थापन तथा प्रचार प्रसारको अभावमा अहिले आउनेको संख्या शून्य भएको गौमुखी गाउँपालिका २ ठूलाचौरमा होम-स्टे सञ्चालक तुलवीर थापाले जानकारी दिए। ‘गौमुखीमा आउने पर्यटकको संख्या वृद्धि हुँदै गएको छ’ थापाले भने,‘आउने पर्यटकलाई बसाल्न सकेका छैनौँ। फाइदा लिन सकेका छैनौं।’ 

बाइसमुलमा होम-स्टेदेखि कृषि गाउँ

पछिल्लो समयमा प्यूठानको झिमरुक उपत्यकाको नजिकै बुलबुल मुल (बाइसधारा) मा होम स्टे सञ्चालन गर्न थालिएको छ। राष्ट्रपति महिला उत्थान कार्यक्रमको सहयोगमा स्थानीय बागेश्वरी महिला बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना ३० जना महिला सदस्यलाई होम-स्टे तालिम दिई ग्रामीण पर्यटन प्रवर्द्धनका लागि होम-स्टे प्रवर्द्धनको प्रयास गरिएको छ। यस गाउँका महिलाको बचतबाट उठेको रकमबाट होजियारी उद्योगसमेत चलेको छ। 

हर्वल साबुन उत्पादन भएको छ। तर, बजार र प्रचार प्रसारको अभावका कारण उचित आम्दानी पाउन नसकेको बागेश्वरी महिला बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सिवा गिरीले बताइन। ‘बाइसमुल, मरेङ, छेपाने लगायतका पर्यटन गाउँमा आउने पर्यटकलाई होम-स्टेमा बसालेर मरन्ठानाको उत्पादन कोसेली लगेर जाने वातावरण होस भन्ने कामनासहित सबै लागि परेका छौं ’अध्यक्ष सिवा गिरीले भनिन्।

मरन्ठानमा बृहत माछा पालन, प्रदेश ५ को सहयोगमा सञ्चालित स्मार्ट कृषि गाउँ, व्यवसायिक तरकारी खेती, स्थानीय जातका कुखुरापालन, भैंसीपालन गरिरहेका छन्। 

पर्यटन उद्यमका लागि प्रविधि पार्क र होम-स्टे

प्यूठानको स्वर्गद्वारी नगरपालिकाले पर्यटन उद्यम विकासका लागि सूचना प्रविधि पार्क निर्माण गर्न लागेको जनाएको छ। डिभिजन वन कार्यालय र नगरपालिकाको गरी यस वर्ष  ४५ लाख वजेटमा पार्कको डिपिआर तयार गरी निर्माण गर्न लागेको स्वर्गद्वारी नगरपालिकाका नगरप्रमुख नेत्रबहादुर रोकायले जानकारी दिए। ‘करिब १८ करोडको डिपिआर तयार भइसकेको छ’ रोकायले भने, ‘यसले पर्यटन उद्यमशिलतामा जोड्ने छ।’ 

पवित्र धार्मिकस्थल स्वर्गद्वारी आउनेको संख्या वर्षेनी बढिरहेको छ। बाहिरबाट आएका मिठाई, माला लगायतका सामग्रीले पूजापाठ चलेको छ। तर, स्वर्गद्वारी नगरपालिकाले मन्दिरका लागि आवश्यक पर्ने फूल, मालाको उत्पादन गर्न पुष्प बगैँचा निर्माण गर्न थालेको छ। धनवाङसहित सुविधायुक्त ठाउँहरूमा होम-स्टे सञ्चालन गर्ने योजना रहेको नगरप्रमुख रोकायले बताए। 

हिल स्टेशन बनाउन सांसद खड्को पहल

प्यूठानको मल्लरानी, सरुमारानी, कोठीभिरलाई पर्यटकले गर्मी छल्न र सुन्दर दृश्यावलोकन गर्नका लागि हिल स्टेशनको रुपा विकास गर्न प्रदेश सरकार र केन्द्र सरकारलाई निवेदन गरेको प्रदेश ५ का प्रदेशसभा सदस्य कृष्णध्वज खड्काको भनाई छ।

‘पर्यटन प्रवर्द्धनमा सबैभन्दा पहिले घुम्नयोग्य, बस्न योग्य, कोसेली दिन सक्ने र प्वाइन्टको रुपमा हेर्न सक्ने गरी चक्र पथ वा सहज सडक बनाउनु जरुरी छ’ प्रदेशसभा सदस्य खड्काले भने, ‘स्थानीय सरकारले आफ्नो स्थानीय तहमा एक गन्तव्य विकास आफैँ गर्ने गरी स्थानीय सरकारले योजना बनाउन मेरो सुझाव छ।’

आर्थिक वर्ष २०७६/०७७ मा प्यूठानमा पर्यटन प्रवर्द्धनका लागि २ करोड बजेट परेको छ। प्रदेश सरकारले पनि पर्यटन प्रवर्द्धनमा प्यूठानलाई पनि सम्बोधन उनको भनाई छ। पछिल्लो समयमा आन्तरिक तथा वाह्य पर्यटकको पर्यटन क्रियाकलाप बढ्दै गएको छ। दीगो आर्थिक आर्जनका स्रोतको कुनै वास्ता नगरी पूर्वाधार विकास मात्रै पर्यटक आउने आधार मान्दा आएका पर्यटकबाट पनि ग्रामीण पर्यटन क्रियाकलापबाट स्थानीयले आर्थिक आर्जन गर्न सकेका छैनन्।

पर्यटन शिक्षा, होम-स्टे, गुणस्तरीय होटल, व्यवस्थित सडक लगायतका कामसँगै स्थानीय उत्पादनमा जोड गर्न स्थानीय सरकार, प्रदेश सरकारले बेलैमा सोच्न पर्ने देखिन्छ। ग्रामीणवासीको आर्यआर्जनको मुख्य माध्यम पर्यटन बनाउन पर्यटन उद्यममा ध्यान दिनु पर्ने स्थानीयको माग छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.