नेपालको दबाबमा ६ घण्टापछि सुचारु

|

भद्रपुर (झापा) : नेपाल-भारत सीमावर्ती नाकामा फेरि भारतीय पक्षको हेपाहा व्यवहार सुरु भएको छ । भद्रपुर-गलगलिया नाकामा भारतीय पक्षलेनेपाली नम्बर प्लेटका मोटरसाइकलमा रोक लगाएर हेपाहा व्यवहार देखाएको हो ।

नेपाल-भारत सन्धिमा नेपाली नम्बरका सवारीसाधन नजिकैको रेल्वे स्टेसन, बसपार्क, पुलिस थाना वा बजारसम्म जान सक्ने उल्लेख छ। तर, सन्धिको उल्लङ्घन गर्दै भारतीय पक्षले नेपालबाट विहारको गलगलिया बजार जाने मोटरसाइकमा रोक लगाएको हो ।

भारतीय सीमा सुरक्षा बल (एसएसबी) बलको अधिकारक्षेत्र मिच्दै गलगलिया भन्सारले नेपाली नम्बर प्लेटका मोटरसाइलकमाथि रोक लगाएको हो। गलगलिया भन्सार कर्मचारीले शनिवार बिहानदेखि नेपाली नम्बर प्लेटका मोटरसाइकललाई प्रवेश गर्न दिएनन् । भन्सारले मोटरसाइकल चालकसँग भारतीय राजदूतावासको कागजात मागेका थिए।

कागजात नभएका मोटरसाइकललाई भन्सारले सीमाक्षेत्रमै पार्किङ गरेर बजार जान लगाएका थिए । भन्सारको यो व्यवहारले नेपाली जनताले घण्टौँ सास्ती झेल्नु परेको थियो ।

भन्सारले सन्धिको धज्जी उडाउँदा भारतीय सरोकारवाला निकायले चासो देखाएनन् । नेपाली पक्षको दबाबमै मोटरसाइकलमाथि लगाएको बन्देज फुकुवा गर्न गलगलिया भन्सार बाध्य भयो।

सुपरिटेन्डेन्टको मनपरी

भारतीय व्यापारी र केही नेपाली व्यापारीको पक्षमा वकालत गर्दै गलगलिया भन्सारका सुपरिटेन्डेन्ट बलिराम पासवानले नेपाली नम्बर प्लेटको मोटरसाइकललाई सीमाक्षेत्रमै रोक्न आदेश दिएको खुलेको छ । भद्रपुर भन्सारले व्यापारीमाथि कडाइ गरेको भन्दै नेपाली पक्षलाई दबाब दिन मोटरसाइकलमाथि रोक लगाएको खुलेको हो ।

नेपालको सवारीसाधनमाथि रोक लगाउने गलगलियाका सुपरिटेन्डेन्टको हुकुमी शैलीप्रति त्यहाँका व्यापारी पनि आक्रोशित देखिए । सुपरिटेन्डेन्ट पासवानले सीमाक्षेत्रमा मोटरसाइकलमाथि रोक लगाउन कर्मचारीलाई आदेश दिएका थिए ।

सुपरिटेन्डेन्ट पासवानलाई उचाल्ने भारतकै व्यापारी मधुसूदन रहेको त्यहाँका व्यापारीहरूको भनाइ छ । व्यापारी मधुसूदनको सल्लाहमा सुपरिटेन्डेन्ट पासवानले नेपाल-भारत सन्धिको धज्जी उडाइ दिए ।

के भन्छन् सुपरिटेन्डेन्ट पासवान ?

विहारको किशनगञ्ज जिल्लामा अन्तरगत पर्ने गलगलिया भन्सारले नेपाली नम्बरको मोटरसाइकलमाथि रोक लगाएको गुनासो वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठ समक्ष आइपुग्यो ।

समस्या आएपछि प्रहरी निरीक्षक श्रेष्ठ भद्रपुर भन्सारका नायव सुब्बा रेवतL गिरी, पत्रकार, केही व्यापारीसहित छलफलका लागि गलगलिया भन्सार पुगे।

सुपरिटेन्डेन्ट पासवान, एसएसबी ४१ बटालियनका डीएसपी रीना, भारतीय व्यापारीसँग छलफल सुरु भयो । तर, छलफलमा भन्सारका सुपरिटेन्डेन्ट पासवानले भारतीय र नेपाली व्यापारीलाई भद्रपुर भन्सारले बढी पैसा असुलेको विषयमा कुरा उठाए ।

उनले मोटरसाइकल रोकेर व्यापारीको पक्षमा वकालत गर्न छलफलका लागि नेपाली पक्षलाई बोलाइएको घटना खुल्यो । नेपाली नम्बर प्लेट मोटरसाइकल किन रोकेको विषयमा थाहाकर्मीले सुपरिटेन्डेन्ट पासवानलाई प्रश्न गर्दा उनले भने, ‘मेरो अधिकारको कुरा हो, भारतीय दूतावासबाट कागजात लिएर आउनुहोस्, अनि मोटरसाइकल जान दिन्छौ ।’

थाहाकर्मीले फेरि सुपरिटेन्डेन्ट पासवानलाई प्रश्न गरे?  व्यापारीबीचको कुरा जोडेर मोटरसाइकल रोक्नु र नेपालको भन्सारले के गर्‍यो के गरेन, त्यसबारे तपाईंको केही सरोकार छ? प्रत्युत्तर भने, ‘व्यापारीसँग किन बढी पैसा लियो, त्यही मेरो कुरा हो। नेपालको कानुन म जान्दिनँ ।’

फेरि सोधियो, 'दुवै देशको सन्धि अनुसार सवारीसाधनलाई बजारसम्म त जान दिनु पर्‍यो नि? उनले भने, ‘नेपालका चारवटा नाका चलाएर आएको हुँ, मलाई कानुन सिकाउनु पर्दैन ।’

६ घण्टापछि खुल्यो बन्देज

भद्रपुर भन्सारका नायव सुब्बा रेवती गिरीले नेपालको भन्सार प्रक्रिया र कानुनको विषयमा गलगलिया भन्सारका सुपरिटेन्डेन्ट पासवानलाई प्रस्टाएपछि अनन्त: उनी पछि हटे ।

छलफलकै क्रममा उनले रोकेर राखेका मोटरसाइकललाई गलगलिया बजारसम्म जान आदेश दिए । बिहान ७ बजेदेखि मोटरसाइकलमाथि लगाएको रोक दिउँसो १ बजे खुलेको हो ।

‘भद्रपुर भन्सारमा भारतीय व्यापारीलाई कडाइ गरेको भन्दै नेपालको मोटरसाइकलमाथि भारतले रोक लगाइएको रहेछ', प्रहरी निरीक्षक श्रेष्ठले भने, ‘एसएसबीले रोक लगाएको होइन। गलगलिया भन्सारले रोकेको रहेछ। छलफलपछि मोटरसाइकल सुचारु भइसकेको छ ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.