विप्लवमाथिको निगरानी बढाइयो

|

काठमाडौं : सरकारद्वारा प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सशस्त्र तालिम र गतिविधि गरिरहेको कुरा सुरक्षा निकायले अस्वीकार गरेको छ । 

विप्लव नेकपाले काठमाडौं उपत्यका आसपासका जिल्लामा सशस्त्र तालिम र गतिविधि गरिरहेको हल्ला चलिरहेकै बेला सुरक्षा निकायले यस्तो प्रतिक्रिया दिएको हो ।

गतसाता सोलुखुम्बुको छेस्काम प्रहरी चौकीमा विप्लपका सेना कम्ब्याक ड्रेसमा पुगेको घटना सार्वजनिक भएपछि उसले सैन्यगतिविधि गरिरहेको चर्चा छ । प्रहरी प्रवक्ता विश्वराज पोखरेलले विप्लवले सैन्य तालिम गरिरहेको भन्ने सूचना प्राप्त नभएको जानकारी दिए। 

सरकारले प्रतिबन्ध लगाएपछि विप्लवका गतिविधिहरू नियन्त्रण गरिरहेको प्रवक्ता पोखरेलले थाहाखबरलाई बताए। सुरक्षाकर्मी माग भएर आएका स्थानमा थप गर्ने योजना रहेको उनले बताए ।

उपत्यका आसपासका मकवानपुर, काभ्रे, धादिङ, नुवाकोट, सिन्धुपाल्चोकसहितका जिल्लामा विप्लव नेकपाले तालिम चलाएको स्रोतले जनाएको छ । 

विप्लव नेकपाले दुर्गम गाउँ र भौगोलिक विकटताका कारण सुरक्षा निकायको ध्यान जान नसक्ने स्थानमा आफ्नो सैन्य तालिम र गतिविधिहरूलाई सक्रिय बनाएको हो । 

यसको पुष्टि गृह मन्त्रालयले गरिसकेको छ । गृहमन्त्री रामबहादुर थापाले संसद बैठकलाई जानकारी गराउँदै विप्लव नेकपाले जनसेनाका ४ कम्पनी खडा गरेका बताएका थिए । 

विप्लव नेकपाले सुरक्षा निकायलाई आक्रमण गर्ने कुनै नीति नरहेको यसअघि नै स्पष्ट पारेको छ । तर विकट गाउँहरूमा भइरहेका उसका सशस्त्र तालिम र गतिविधिहरूले विभिन्न आशंकाहरू उब्जाएको छ ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.