|

तनहुँ : चालु आर्थिक वर्षको तेस्रो चौमासिकको अन्तिम महिना सुरु हुन केही दिन मात्रै हुँदा तनहुँमा विकास बजेट सक्न चटारो परेको छ। 

तनहुँमा चालु आर्थिक वर्षको साढे दश महिनामा विकास बजेटको आधा रकम पनि खर्च भएन। उक्त समयमा संघीय सरकारबाट विकासका लागि विनियोजित कुल बजेटको ४९ दशमलव २८ प्रतिशत मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय तनहुँले जनाएको छ ।

चालु आर्थिक वर्षका लागि संघीय सरकारबाट विकासका लागि विनियोजित एक अर्ब ५४ करोड ४१ लाख ३० हजार रुपैयाँ रकममध्ये विकासे कार्यालयहरुले जेठ १५ सम्ममा ७६ करोड १० लाख १७ हजार ४२४ रुपैयाँ मात्रै खर्च गरेका छन्। कार्यालयका अनुसार समयमा बजेट खर्च नगर्दा विकासका काम प्रभावित हुने र दुरुपयोग हुने जोखिम बढ्छ। केही आयोजनाको सुरुमा कम बजेट विनियोजन हुने र पछि बजेट थप भएर आउने लगायतका कारणले अन्तिम समयमा भुक्तानी लिन आउने हुँदा बढी देखिने कार्यालयले जनाएको छ। 

संघीय सरकारअन्तर्गतका पुँजीगत बजेटको टेन्डर प्रक्रियामार्फत् निर्माण सकिएपछि मात्रै भुक्तानी गरिने हुँदा खर्च पछाडि देखिने र पहिले कम खर्च भएको देखिएको कार्यालय प्रमुख कोष नियन्त्रक विष्णुहरि वाग्लेले बताए। कर्मचारी समायोजन, संघ, प्रदेश र स्थानीय सरकारका क्षेत्राधिकारबारे विवाद र अन्योल बढेकाले पनि विकास निर्माणको काम प्रभावित बनेको वाग्लको भनाइ छ। उनका अनुसार कबिर २० प्रतिशत रकम फ्रिज हुने सभ्भावना रहेको छ। उनले भने, ‘खर्चको अवस्था हेर्दा र विगतका वर्षको अनुभवका आधारमा करिब ८० प्रतिशत रकम खर्च हुने अनुमान गर्न सकिन्छ।’

पहिलो चौमासिकभित्र खरिद प्रक्रियाका चरणहरु पूरा गरी निर्माणको प्रक्रियामा जाने, निर्माण व्यवसायीले पनि आफ्नो तोकिएको कार्य समयमा गर्ने, सरकारी निकायले अनुगमन, मूल्यांकन गर्ने र छिटो गर्न प्रोत्साहित गर्ने हो भने विकासमा असारे चटारो नपर्ने उनको बुझाइ छ। विकास(पुँजीगत) बजेट खर्च कम भए पनि चालुतर्पmको खर्च भने ७३ दशमलव ०३ प्रतिशत भएको कार्यालयले जनाएको छ। 

चालुमा ८ अर्ब ४३ करोड ९० लाख ८ हजार ४८ रुपैयाँमा ६ अर्ब १६ करोड, २७ लाख ६ हजार २ सय १९ रुपैयाँ खर्च भएको छ। विकास वजेटमा डेढ महिना र साढे १० महिनामा हुने खर्च बराबरजस्तै छ। कोष तथा लेखा नियन्त्रण कार्यालय तनहुँका सूचना अधिकारी तथा कोष नियन्त्रक धर्मभक्त वस्यालले भने, ‘कामको चाप अन्तिम समयमा धेरै हुँदा खर्च प्रणालीमा पारदर्शीता र अनुशासन अनुरुप नहुने जोखिम बढी हुन्छ।’

प्रदेशमा २० दशमलब २१ प्रतिशत मात्रै खर्च

प्रदेश सरकारअन्तर्गतको विकास खर्च तनहुँमा निराशा जनक छ। प्रदेशको ९४ करोड ९३ लाख २५ हजार ३५० रुपैयाँ बजेटमा जेठ १५ सम्म १९ करोड १८ लाख ३० हजार ३९५ रुपैयाँ मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय तनहुँले जनाएको छ। 

प्रदेश सरकारले बजेट ढिलो पठाएको र यसअन्तर्गतका कार्यालय स्थापना हुन ढिलाइ भएकाले खर्च कम भएको प्रमुख कोष नियन्त्रक विष्णुहरी वाग्ले बताउँछन्। उनका अनुसार प्रदेश तहमा पुँजीगत बजेटको खर्च मंसिरपछि मात्रै सुरु भएको थियो।

‘संघीय सरकारबाट प्रदेश स्तरमा कार्यालय ढिलो हस्तान्तरण भयो, संगठन प्रक्रिया पनि ढिलो भयो,’ उनले भने, ‘कर्मचारी पनि पछि आए। यसले गर्दा पनि प्रदेशको खर्च कम भएको हो।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.