|

अछाम : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गगन थापाले रामारोशन क्षेत्रको विकासका लागि संसदमा कुरा उठाउने बताएका छन्। आइतबार पर्यटकीय क्षेत्र रामारोशनको अवलोकन गर्दै नेता थापाले रामारोशनलाई धर्तीको स्वर्गका रूपमा बयान गरेका छन्। ‘रामारोशन हेर्दा लाग्यो यो त साच्चिकै भूस्वर्ग हो’ उनले भने,
‘यस्तो राम्रो ठाउँको प्रचारप्रसार र संरक्षण हुन नसक्नु दु:खको कुरा हो।’ नेता थापाले रामारोशन आफ्नो स्मृतिमा अडेर बसिरहने बताएका छन्।

उनले रामारोशन क्षेत्र अछामका लागि प्रकृतिले दिएको वरदान भएको बताए। रामारोशनका १८ वटा घाँसे मैदान र १२ वटा तालले यहाँ आउने जोकोहीलाई लोभ्याउने उनको विश्वास छ।

‘यस क्षेत्रको विकासका लागि हामी सबैसँग समन्वय गर्न तयार छौँ, यसै गाउँपालिका अध्यक्ष भास्करसँग समन्वय गर्न तयार छु, यस्तो राम्रो ठाउँलाई गुमराहमा राख्नु दु:खको कुरा हो।’ रामारोशन तालको अवलोकनपछि नेता थापा गाउँपालिकाको मुजाबगरमा आयोजित पार्टीको आमसभालाई सम्बोधन गर्न फर्किएका थिए। 

१२ बण्ड १८ खण्ड रामारोशन

रामारोशन क्षेत्र समुद्री सतहबाट २ हजारदेखि झन्डै ४ हजार मिटरसम्मको उचाइमा अवस्थित छ। घनघोर जंगलको हरियाली र १२ बण्ड १८ खण्डले नामकरण गरिएको यो क्षेत्रका ठूलाठूला गुफा साँच्चिकै रोचक र हेर्नलायक छन्। १२ वटा ताल र १८ वटा फाँट

भएकाले रामारोशनलाई १२ बण्ड १८ खण्ड भनिएको हो। एक घण्टा पहाड चढ्नेबित्तिकै देखिने डाँफेचरीको ताँती एउटा महत्वपूर्ण पाटो हो भने घोरल, झारल, थार, बाघ, भालु, बदेल, रतुवा, कालिजजस्ता जनावर र चराचुरुंगीहरूको आकर्षणको केन्द्र रामारोशनको अर्को विशेषता हो।

 रामारोशन पुग्दा त्यहाँका चराचुरुंगीको गीत र चुल्लु चरोको रुवाइ झन् अकर्षक लाग्छन्। हावासँगै फरफर हल्लिने रूखका पातहरू, जंगलमा मान्छे बोल्दा प्रतिध्वनि दिने डाँडापाखा रमाइला लाग्छन् छन्। उराठलाग्दा मनोरम रोशन र किनिमिन्निका विशाल मैदान एकदमै रमणीय छन्। यहाँका जंगली फलफूलहरू दाख, ताराचुक भनेका मुख्य आकर्षण हुन् भने जंगली बोटबिरुवामा देउला, धुपी, लौठदेखि हरियो वनजंगल पनि उत्तिकै आकर्षक छन्।

बीचमा विशाल मैदान पहाडी तराईजस्तै छ भने पूर्वमा चिन्डेनी, बागफाल र गोरेकोट पश्चिममा पडीपाखा, आकाशे भीर र किनिमिनी र रोशनको वाङे छहरा पनि उराठलाग्दा प्राकृतिक वरदान नै साबित भएका छन्। 

आफ्नै गतिमा बगिरहने कैलाशखोलाको जन्म पनि त्यसै रामारोशनमै भएको हो। बागफाल, चिन्डेनी र गोरेकोटको डाँडाबाट उम्रिएको कैलाशखोला रामारोशनका खोलाखोल्सा हुँदै दुई भागमा विभाजन भएर बग्ने गरेको पाइन्छ।

रोशन र किनिमिनीको बीच मैदानबाट तराईका नदीजस्तो जिगज्यागमा बग्दै रोला भन्ने ठाउँबाट औलाघाट छहरा हुँदै माछेमूल खोलाको दोभानमा पुग्दछ। दर्जनौँ हेलिप्याड र  एअरपोर्ट बनाउन सकिने यी मैदानहरू संरक्षणबिना झन् ओरालो लाग्दै छन्।

तीनतिरबाट डाँडाकाँडाहरूले घेरेर बीचमा दुईवटा विशाल मैदान बनेको रामारोशन यो एउटा मनमोहक दृश्य भएको र राज्यको ध्यान बेलैमा पुग्यो भने पर्यटकीयस्थल बन्ने सम्भावना बोकेको भूमि हो।  अटल र चहकिलो स्तम्भका रूपमा उभिएको चाखाको डाँडो हेर्दा मनै उमंग हुन्छ। 

रामारोशनमा थुप्रै मनमोहक ताल छन्। रामेमा करिब १० बिघाभन्दा बढीको जंगली मैदानमा तीनवटा ताल छन्। चारैतिर मैदानी भूभाग भएको यो मैदानमा ४० प्रतिशत भूगोल दलदलले भरिएको छ भने २० प्रतिशत भूगोल जंगलले भरिएको देख्न सकिन्छ।

अन्य ४० प्रतिशत भूभागमध्ये २० प्रतिशत भूभाग अजिंगरजस्तो बेरिएर कलकल मैदानको बीचबाट बग्ने कैलाश खोलाले ओगटेको छ। यो पर्यटकहरूका लागि स्मारिक मानिने भूमि अकासे भीरमा बांगे छहरा अनि गणचुच्चे र रोशन गडा हेर्नलायक छन्।
 

चाखा डाँडा अर्को सौन्दर्य

रामारोशनको अर्को सौन्दर्यको नमुना हो चाखाडाँडा। यो डाँडा यहाँको सबैभन्दा उच्च ठाउँमा अवस्थित छ। चाखा भन्ने चुचुरोमा बडिमालिकाको सहायक थान छ, जसलाई चाखा मन्दिर पनि भन्दछन्। पूर्वजहरूको भनाइअनुसार भक्तजनहरूले सो मन्दिरमा दर्शन गरेर त्यहाँबाट बडिमालिका जाने बाटो अघि बढ्दछ।

सयौं जडीबुटीको बारी नै लाग्ने यो क्षेत्र कताकता स्वर्गको मीठो सपना सजाउनेहरूका लागि विपनामा नै परिणत भएजस्तो अनुभूत गर्न सकिन्छ। त्यसैले पनि चाखाडाँडा पर्यटकीय सौन्दर्यको अर्को आकर्षण केन्द्र मानिन्छ।

ठूलाठूला रूखहरू नभेट्टाइने नांगो चुचुरोबाट राति चिसापानी, नेपालगन्ज, महेन्द्रनगरमा बत्ती बलेको सहजै देख्न सकिने स्थानियवासी बताउँछन्। एकताका राजारजौटाले युद्ध गर्दा बस्ने गरेका कोटजस्तो लाग्ने यो स्थलमा अचम्मका ढुंगाहरू र चारैतिर रस्सी बेरेजस्तो ससाना गडाको आकर्षण कुनै जमानाका मान्छेहरूले बनाएको जस्तो लाग्दछन्।
चुचुरोबाट एक किलोमिटर फेदीमा चिराचिरा भएर बगेका खोलाहरू देखिन्छन्। पूर्वमा मुहार फर्काएर उभिएको चहकिलो चाखा हिमाल पुसमाघमा हिउँ पर्‍यो भने पोखराको माछापुच्छ्रे जस्तो सेताम्य देख्दा बाह्रै महिना सेतै रहे हुन्थ्यो भन्ने मनमा लाग्दछ। 

पर्यटकीय, धार्मिक र ऐतिहासिक अनुसन्धान गर्न पनि अति महत्वपूर्ण स्थानका रूपमा विकास गर्न सकिने रामारोशन क्षेत्रलाई सिमसार क्षेत्रमा रुपमा पहिचान दिन लागीपरेको गाउपालिका अध्यक्ष झंकर साउद भास्कर बताउँछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.