|

दाङ : बबई गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ। कार्यक्रमअन्तर्गत सोमबारदेखि १०० जनालाई रोजगार प्रदान गरिएको छ।

गाउँपालिकाका सातवटै वडाबाट १०÷१० जना तथा गाउँपालिकाबाट ३० जना गरी १०० जनालाई रोजगार प्रदान गरिएको गाउँपालिकाका रोजगार संयोजक बिप्लव भट्टराईले जानकारी दिए। ‘हाम्रो कार्यक्रम खासमा एक आर्थिक वर्षमा १०० दिन रोजगारी दिने हो,’ उनले भने, ‘तर यस आर्थिक वर्षको अन्तिम भइसकेकाले ३० दिन रोजगार प्रदान गर्न लागेको हो।’

गाउँपालिकामा चार हजार २४६ जनाले बेरोजगार फाराम भरेको छन्। तीमध्ये चालु आर्थिक वर्षमा अतिविपन्न वर्गलाई छनौट गरिएको संयोजक भट्टराईले बताए। छनोट भएकाहरुलाई विकास निर्माणको काममा रोजगार प्रदान गर्ने र त्यसबापत दैनिक ५१७ रुपैयाँ तलब भत्ता प्रदान गर्ने बताइएको छ।

त्यसका लागि गाउँपालिकामा २४ लाख रुपैयाँ बजेट आएको गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलले जानकारी दिए। उनले आगामी वर्ष २०० जनालाई रोजगारी दिने योजना रहेको बताए। 

रोजगारीका लागि छनौट भएकाहरुलाई सडक, विद्यालय, वडा कार्यालयको भवन निर्माण कार्यमा खटाइने छ। 

त्यसैगरी प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि घोराही उपमहानगपालिकाले प्रत्येक वडाबाट २५ जना छनोट गरेको छ। चालु आर्थिक वर्षको असार मसान्तसम्म काम गर्ने गरी उपमहानगरले ३६ वटा योजना छनोट गरेका छ। उक्त योजनामा १९ वडाबाट २५ जनाका दरले ४७५ जना कामदार छानिएका रोजगार संयोजक शरद पाण्डेले जानकारी दिए।

उपमहानगरपालिकाका विभिन्न आयोजनामा काम गर्ने गरी ४० हजारदेखि पाँच लाख रुपैयाँसम्मको योजना छनोट भएको बताइएको छ। छनोट भएका कामदारले सरसफाइ, वृक्षारोपण, कल्भर्ट निर्माण, बाटो मर्मत, सिँचाइ पोखरी निर्माण, कुलो निर्माण, बगैँचा निर्माण, पर्खाल निर्माणजस्ता काममा खटाइने छ।

एक महिनामा सक्नुपर्ने आयोजनाका लागि केन्द्र सरकारले एक करोड रुपैयाँ विनियोजन गरेको छ। कामदारले दैनिक ५०० रुपैयाँ पाउने छन्। कामदारले सात घण्टा काम गर्नु पर्ने छ। रोजगारीका लागि उपमहानगरपालिकामा १३ हजार २५७ जनाले फारम भरेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.