|

मकवानपुर : जिल्लाकाे उत्तरी क्षेत्रमा रहेको पर्यटकीय नगरी थाहाको एउटा गाउँ नै होम स्टेको रुपमा परिणत हुँदै गएको छ। थाहा नगरपालिका ९ मा रहेको चित्लाङमा होम स्टे फस्ट्याएको हो।

चित्लाङको होम स्टेमा पुगेका पाहुनाले सभ्य संस्कारमा स्वागत पाउने गर्छन्। होम स्टेमा बास बस्न जाँदा होम स्टे सञ्चालन गर्ने स–परिवारले स्वागत गर्न टिका लगाई सगुन दिने गर्छन्। थानकोट-चन्द्रागिरि केबलकार सञ्चालनमा आएपछि र मोटरबाटोको पहुँच भएपछि चित्लाङमा आन्तरिक एवं बाह्य पर्यटकको आकर्षण बढेको छ।चित्लाङमा पर्यटकको आवागमन बढेकाले होम स्टेको संख्या पनि थपिँदै गएको हो।

अहिले २० वटा भन्दा बढी होम स्टे सञ्चालनमा छन्। केही वर्ष अघिसम्म ५/७ वटा भन्दा धेरै होम स्टे नरहेको तत्कालीन जिल्ला विकास समितिका सामाजिक विकास अधिकृत रामकृष्ण थापाले जानकारी दिएका छन्। चित्लाङमा होम स्टे सबैभन्दा पहिले सुरु गरेका गुर्जुधारा होम स्टेका सञ्चालक बुद्धरत्न मानन्धरका अनुसार शुक्रबार र शनिबार होम स्टेमा बस्न आउने भए अग्रिम बुकिङ गर्नु पर्ने भइसकेको छ। उनले भने, 'बस्ने ठाउँ नपुगेर टेन्ट गाडेर राख्नुपर्ने स्थिति हुन्छ।' 

मासिक रुपमा २ सय जना सम्मलाई आफूले सेवा दिने गरेको मानन्धरले बताए। प्रतिव्यक्ति १५ सय रुपैयाँ सम्ममा सेवा दिंदै आएको होम स्टेहरूले मासिक रुपमा ७० हजार सम्म कमाउने गरेका छन्। होम स्टेमा आउने आन्तरिक एवं बाहय पर्यटकलाई स्थानीय स्तरमा नै उत्पादन भएको वस्तुहरुले स्वागत सत्कार गर्ने गरेको उनले बताए।

होम स्टेका पाहुनालाई चित्लाङमा उत्पादन गरिएका खाद्यवस्तु मात्रै खान दिइने गरिएको होम स्टे सञ्चालकहरूकाे भनाई छ। होम स्टेबाट विदाई हुने बेला पनि स्थानीय सञ्चालकहरूले शुभयात्राको कामनासहित सगुन र टिका लगाई विदाई गर्ने गर्छन्।

आन्तरिक एवं बाहय पर्यटक बाक्लो रूपमा आउन थालेकाले केही होम स्टेहरू रिसोर्टका रूपमा विकास हुँदै गएका छन्। होटल तथा लजले पनि होमस्टेको नाम दिएर सञ्चालन गर्ने क्रम बढ्न थालेको भन्दै होमस्टेको महत्व घट्न सक्ने उनी बताउँछन्। 

तत्कालीन राणा सरकारका प्रमुखहरू सिकार खेल्न आउँदा शासकहरूले आराम गर्नको लागि स्थानीय बासिन्दाको घर र सामग्री प्रयोग गर्ने जसवापत सरकारको तर्फबाट केही पैसा, गहना दिने चलनबाट घरमा पाहुना राख्ने अर्थात होम स्टेको सुरुवात भएको स्थानीय अगुवाको भनाई छ।

तत्कालीन जिविस मकवानपुरको सहयोगमा २०६८ स्थानीयले चार होम स्टे स्थापना गरेपछि व्यवसायिक रुपमा चित्लाङमा होम स्टे चलेको हो। राणाहरूको शासनकालमा चित्लाङको हावा (स्याँठ) लिन घर समेत बनाएको स्थानीयको भनाई छ। उक्त घरलाई अहिले पनि स्याँठ घर घर भनेर चिनिन्छ।

गुर्जुधारा होम स्टे अगाडि रहेको गुर्जुधारामा महाकवि लक्ष्मीप्रसाद देवकोटाले 'यात्री' कविता लेखेका थिए। जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको चित्लाङमा ऐतिहासिक तथा साँस्कृतिक महत्व झल्कने धेरै वस्तुहरू भएता पनि प्रचार हुन नसकेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.