|

सिन्धुली : सिन्धुलीको घ्याङलेख गाउँपालिकाले गाउँपालिका भित्रका वृद्धवृद्धालाई सम्मान गरेको छ। गाउँपालिका भित्रका ७५ वर्षभन्दा माथिका वृद्धवृद्धालाई सुत्न आवश्यक पर्ने सिरक, डस्ना, तन्ना, सिरानी लगायतका सामग्री वितरण गर्दै गाउँपालिकाले सम्मान गरेको हो।

गाउँपालिकाको आर्थिक वर्ष २०७५/०७६ को लक्षित वर्गको कार्यक्रमअन्तर्गत गाउँपालिकाका वृद्धवृद्धालाई ओड्ने र ओछ्याउने सामग्री वितरण गर्न सुरु गरिएको गाउपालिकाले जनाएको छ। गाउँपालिकाको पाँचवटै वडाका ७५ वर्ष नाघेका  करिव ३ सय वृद्धवृद्धालाई वितरण गर्ने लक्ष्य रहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सन्तोष नेपालीले जानकारी दिए।

उनका अनुसार गाउँपालिकाको वडा नं. २, बस्तीपुरका ५० जना बृद्धबृद्धाहरुलाई सिरक डस्ना लगायतका ओड्ने ओछ्याउने वितरण गरिएको छ। ‘गाउँपालिकाका लागि वृद्धवृद्धाको योगदान महत्वपूर्ण छ। त्यस्ता व्यक्तिलाई सम्मान गर्नुपर्छ भन्ने गाउँपालिकाको निर्णयअनुसार वितरण गरिएको हो’ उनले भने।

बस्तीपुरमा गाउँपालिकाका अध्यक्ष जगत बहादुर भोलनको अध्यक्ष्यतामा एक औपचारिक कार्यक्रमको आयोजना गरि उक्त सामग्री वितरण गरिएको हो। प्रति व्यक्ति ३ हजार बराबरका कपडा वितरण गरिने उनको भनाइ रहेको छ। ती सामग्री पाएपछि वृद्धवृद्धाले खुसी व्यक्त गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.