|

रौतहट : रौतहटमा दुई छुट्टा छुटै सडक दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ। चन्द्रपुर नगरपालिका १ स्थित मंगलपुरमा बस र ट्रक ठोक्किँदा दुई र गरुडामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

मंगलबार विहान पूर्वपश्चिम राजमार्गअन्तर्गत पौराइको जंगलमा बस र ट्रक ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन। जंगलमा रोकी राखेको भारतीय तीर्थयात्री सवार बसलाई मालवाहक ट्रकले पछाडिबाट ठक्कर दिँदा २ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ। काठमाडौंबाट जनकपुरतर्फ गइरहेको ना.६ ख. ९०३० तीर्थयात्री बोकेको बसलाई को.१ ख २६२५ नम्वरको मालबाहक ट्रकले पछाडिबाट ठक्कर दिएको रौतहट प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उक्त बसमा भारतको उडिसा राज्यका ६० तीर्थ यात्रु सवार रहेको खुलेको छ। ट्रकले ठक्करबाट उडिसा राज्यको उपरा साही नयरखण्डाला मन्दिर जागामारा भुवनेश्वर खोडदाहाका ५२ वर्षीय विजयकुमार जेना र ५४ वर्षीय चरण विशालको घटनास्थलमा ज्यान गएको रौतहट प्रहरीका डीएसपी नवीन कार्कीले बताए।

मृतक दुवै जनाको शव चन्द्रनिगाहपुरस्थित सरकारी अस्पतालमा राखिएको छ। घाइतेमध्ये ६ जनाको चन्द्रपुरमा र ३ जनाको वीरगञ्जमा उपचार भइरहेको डीएसपी कार्कीले बताए। ट्रकले तीर्थयात्रु बोकेको बसलाई ठक्कर दिँदा सडक भन्दा २० मिटर पर जंगलमा बस पुगेको थियो। घटनापछि फरार रहेको ट्रक चालक प्रहरीले नियन्त्रणमा लिएको छ। यसैगरी रौतहटको गरुडामा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ।

चन्द्रनिगाहपुर गौर सडकखण्डको बिर्ता प्रहरी स्कुल अगाडि आमा–छोरा सवार मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु भएको हो। बिर्ताबाट गरुडा जाँदै गरेको बिआर २२ एन ३२९८ नम्बरको भारतीय मोटरसाइकलको पछाडि बसेकी राजपुर नगरपालिका ९ की ७० वर्षीया शेख भुउली साहको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ।

मोटरसाइकल चालक छोरा २४ वर्षीय शेख मुसरफलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पैदल यात्रीलाई जोगाउने क्रममा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा महिला गम्भीर घाइते भएकी हुन्। गम्भीर घाइते उनको उपचारका क्रममा चन्द्रनिगाहपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयका प्रहरी प्रमुख, प्रहरी निरीक्षक विजय श्रेष्ठले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.