|

काठमाडाैं : अर्थमन्त्री डा युवराज खतिवडाले नेपालको बैंकिङ प्रणाली दक्षिण एशियाकै सुदृढ रहेको बताए।

अर्थमन्त्री खतिवडा निक्षेप तथा कर्जा सुरक्षण कोष भवनको मंगलबार शिलान्यास गर्दै सम्पूर्ण बैंकिङ प्रणालीलाई बलियो बनाउन बैंकको क्षमता बढाउने, कारोबारलाई सुरक्षित बनाउँदै बैंकप्रति विश्वसनीयता बढाउन तथा परदर्शीता ल्याउन विभिन्न कदम चालिएको बताए। उनले भने, 'निष्क्रिय कर्जा एक प्रतिशतको हाराहारीमा रहेको छ। सम्पूर्ण परिसूचकमा नेपालको बैंकिङ प्रणाली राम्रो छ।'

अर्थमन्त्री डा खतिवडाले नेपालको बैंकिङ प्रणाली सक्षम भएकाले नै विदेशी बैंकले नेपाली बैंकलाई ऋण दिन पत्याएको बताए। उनले कोष स्थापना भएपछि बैंकको निक्षेप डुब्यो भन्नु पर्ने अवस्थाको अन्त्य भएको बताए। अर्थमन्त्री डा खतिवडाले भने,'पछिल्लो १० वर्षमा कुनै पनि बैंकको काउन्टरमा निक्षेप कर्ताले निक्षेप लिन भीड लागेको छैन। अहिले साना लगानीकर्ताको तीन लाखको निक्षेप बीमा गरिएको छ। आफ्नो पैसा डुब्दैन भनेपछि लगानीकर्ता ढुक्कले बस्नुभएको छ।'

निक्षेप बीमाको रकम र बीमा दायित्व बढ्दै गएकाले कोषको जिम्मेवारी बढेको उल्लेख गर्दै उनले कोषलाई १० अर्बको चुक्ता पुँजी भएको बलियो निक्षेप बीमा गर्ने र कर्जा सुरक्षण गर्ने संस्थाका रुपमा लैजाने बताए।

कोषको व्यवस्थापनलाई बलियो बनाउँदै जनशक्ति विकास गर्ने, संस्थागत सुदृढीकरण, सूचना प्रविधिमा आधारित कारोबारलाई बढाउँदै लैजाने र जोखिमको निरन्तर अनुगमन, विश्लेषण र जोखिम व्यवस्थापन गर्ने बीमा संस्थाका रुपमा कोष रहेको छ', अर्थमन्त्रीले भने, 'जोखिमको निरन्तर अनुगमन, विश्लेषण गरी त्यसका आधारमा कोषले कार्ययोजना बनाउनुपर्छ।' 

प्राथमिकता प्राप्त क्षेत्रमा कर्जा प्रवाहमा हुने जोखिम न्यूनीकरण गर्ने अभिप्रायले सरकारले निक्षेप तथा कर्जा सुरक्षण कोषको व्यवस्था गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.