५ दिनदेखि कोही भोक भोकै, कोही खुला आकाश मुनि

|

धनगढी : धनगढी उपमहानगरपालिका ४ उत्तरबेहेडिमा चाउमिन बेचेर गुजारा चलाइरहेकी पार्वती चौधरीलाई बिहीबारको हावाहुरीले तंग्रिनै कठिन हुने गरी थला पारेको छ। हावाहुरीले घरमा पूर्ण क्षति पुराएपछि विगत ५ दिन देखी उनी आफन्तको घरमा आश्रय लिएर बसिरहेकी छन्। उनका दुई छोरी पनि छन्। अर्काको घरमा केही भन्छन् कि भन्ने पिर छ उनलाई। ‘जति दिन्छन् त्यति खान्छु। थप्न पनि गारो लाग्छ’ उनले भनिन्, ‘एक दुई दिन त भोकै सुतेँ।’

४ वर्ष पहिलो मोटरसाइकल दुर्घटनामा परी उनले श्रीमान् गुमाइन्। त्यसपछि एकल बनेकी पार्वतीले सानो ठेलामा चाउचाउ र चना बेचेरै छोरीहरूलाई निजी विद्यालय बढाइन्। उनी जेठी छोरी १६ वर्षकी भइन्। यसै वर्ष उनले धनगढीकै एक निजी विद्यालयबाट एसईई समेत दिइन्। जसोतसो चलिरहेको उनको दैनिकलाई बिहीबारको हावाहुरी पूर्णरुमा प्रभावित पारिदिएको छ।

ढलेको आफ्नो घर हेर्दै उनले भनिन्,‘भगवानले पनि दुखिलाइ नै दुख दिँदो रहेछ।’ चाउमिन बेचेर जेनतेन गर्जो टारी रहेकी चौधरीलाई अब ढलेको घर कसरी ठडाउने भन्ने चिन्ता छ। ‘कहिले सम्म यसरी अरूको घरमा बस्नुपर्ने होला’ लामो सास फेर्दै उनले भनिन्, ‘फेरि घर बनाउने सपना पनि अधुरै रहला जस्तो छ।’

आमानजिकै टोलाएर बसेकी उनकी १६ वर्षीया छोरी निशा चौधरीको चिन्ता पनि ढलेको घर कसरी उठाउने भन्ने छ। ‘४ वर्ष पहिले बुवाले छोडेर जानुभयो। पापी हावाहुरीले बुवाका तस्बिरहरू पनि नराखी उडायो’ निशा भावुक भइन्। ८ वर्षीया उनकी कान्छी छोरी शोभा हावाले उडाएका भाँडाकुँडा र लत्ता कपडा उठाउँदै थिइन्। ‘खण्डहर भएको घर हेर्न आउनेहरूको भीड मात्रै बढेको छ। रमिता हेर्छन् अनि फुर्किन्छन्’ पार्वतीले भनिन्,‘सहयोग गर्छौ भन्ने त कयौँ भेटिए। तर सहयोग गर्न केही आएनन्।’ 

धनगढी उपमहानगर १ सरस्वती टोलकी सुनिता पार्कीको पीडा पनि पार्वतीको भन्दा फरक छैन।  ठेलामा सामान्य व्यापार गरेर दैनिक गुजारा चलाइरहेकी पार्कीको ठेलामा क्षतिपुगे पनि अहिले साँझ बिहान दुई छाक टार्ने हम्मे हम्मे परेको छ। ‘बिजुलीको पोल मेरै ठेला माथि ढल्यो’ क्षेत् बिक्षेत भएको ठेला देखाउँदै उनले भनिन्, ‘घर हावाले उडायो कहाँ बस्ने भन्ने चिन्ता छ। ठेला हावाले भाँच्यो के खाने भन्ने चिन्ता छ।’

हावाहुरीको ५ दिनसम्म पनि तीनै तहको सरकारले राहतमा तदारुक्ता नदेखाउँदा कैलालीका हावाहुरी पीडितको थप बिचल्ली भएको छ। लत्ताकपडा र खाद्यान्न नष्ट भएको ५ दिनसम्म पनि केही राहत नपाउँदा एक छाक खाएर गुजारा चलाइरहेको धनगढी १ की शारदा पार्की बताउँछिन्। ‘अब त केही पाइन्छ कि भन्ने आशा पनि मर्न थालेको छ’ उनले भनिन्, ‘रहेको अन्नबाली र भएको पैसा पनि सकिन लाग्यो।’

बिहीबारको हावाहुरीले कैलालीमा मात्रै सात हजार ८४४ जना प्रभावित भएका छन्। २ हजार २१६ घरमा क्षति पुर्‍याएको छ। हावाहुरीले ८४ जना घाइते भएका छन् भने २ जनाको ज्यान गएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसानर हावाहुरीले कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र कैलारी गाउँपालिकामा सबै भन्दा बढी क्षति पुर्‍याएको छ।

धनगढी उपमहानगरपालिकामा मात्रै तीन हजार १४६ जना प्रभावित भएका छन् भने १ हजार ५२ घरमा क्षति पुगेको छ। गोदावरीमा एक हजार जना प्रभावित भएका छन् भने ३५० घरमा क्षति पुराएको छ। कैलाली गाउँपालिकामा एक हजार ५०० प्रभावित भएका छन् भने १०० घरमा क्षति पुगेको छ। ती मध्ये कहिले राहतको नाममा त्रिपाल पाए पनि अधिकांश त्योबाट पनि वञ्चित भएका छन्। 

प्रदेश सरकारले मृतकका परिवारलाई एक लाख ५० हजार दिने निर्णय गरेको छ तर मृतकका परिवारले कहिले रकम पाउँछन् त्यो भने अझै अन्योलमै छ। पूर्ण क्षति भएका घरहरूलाई २० हजार दिने र आंशिक क्षति भएका घरहरूलाई १० हजार दिने प्रदेश सरकारको निर्णय कार्यान्वयनमा ढिलाइ हुँदा विगत ५ दिनदेखि हावाहुरी पीडितहरू खुला आकाश मुनि रात काट्न बाध्य छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.