|

काठमाडौं : वातावरण तथा दिगोपनासम्बन्धी वैश्विक सम्मेलन काठमाडौंमा आयोजना हुने भएको छ। २२–२४ नोभेम्बर २०२० मा आयोजना हुने कार्यक्रममा विश्वका ख्यातिप्राप्त वैज्ञानिकदेखि नोबेल पुरस्कार विजेता सहभागी हुनेछ।

त्रिभुवन विश्वविद्यालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्राध्यापक रेजिना मास्के बेन्जूले त्रिभुवन विश्वविद्यालय, सुदुर पश्चिम विश्वविद्यालय, नेपाल खुल्ला विश्वविद्यालय, अमेरिकाको क्यालिफोर्निया स्टेट विश्वविद्यालय, फ्लोरिडा स्टेट विश्वविद्यालय, वायोमिङ्ग विश्वविद्यालयको सहकार्यमा सम्मेलन हुन लागेको जानकारी दिइन्। सम्मेलनमा साँढे तीन सय ख्यातिप्राप्त वैज्ञानिक सहभागी हुने उनले बताइन ।

‘‘वातावरण तथा दिगोपना’’ सम्बन्धि वैश्विक सम्मेलन वायु प्रदुषण तथा जलवायु परिवर्तन, फोहर मैला व्यवस्थापन, दिगो विकास तथा वातावरणीय नीति विषयमा केन्द्रित हुने र कार्यक्रममा प्रस्तुत कार्यपत्र अन्तर्राष्ट्रिय जर्नलहरुमा प्रकाशित हुने उनको भनाइ छ।

पत्रकार सम्मेलनमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. तीर्थ खनियाँले सँसारका दिग्गज वैज्ञानिकहरु सहभागी हुने सम्मेलन नेपालमा आयोजना हुनु गर्वको विषय भएको बताए। उनले जलवायु परिवर्तनले नेपालमा मात्र नभई संसारमै नकारात्मक असर परिरहेकाले यसबारे थप अध्ययन अनुसन्धान र बहस जरुरी रहेको बताए।

उनले उक्त सम्मेलन वातावरणसम्बन्धी अध्ययन अध्यापन गर्ने नेपालीहरुको लागि पनि कोशढुंगा सावित हुने बताए। खनियाँले भने, ‘हाम्रा वैज्ञानिकहरु संसारभरिका ख्याँतिप्राप्त वैज्ञानिकहरुसँग जोडिन पाउनु गर्वको विषय हो। संसारभर विज्ञ वैज्ञानिकहरु यो सम्मेलनमा भाग लिन आउँदैहुनुहुन्छ। हाम्रा वैज्ञानिक र विद्यार्थीहरुको लागि पनि यो सम्मेलन सिक्ने मौका हो।’

क्यालिफोर्निया स्टेट विश्वविद्यालयका सह–प्राध्यापक मोहन बहादुर डाँगीले वातावरणबारे अध्ययन–अनुसन्धान गर्न चाहनेका लागि नेपाल चासोको क्षेत्र भएको बताए। सगरमाथाको मुलुक भएकाले नेपाल शोधकर्ताहरुका लागि जलवायु परिवर्तनबारे अध्ययनको उपयुक्त क्षेत्र हुनुले पनि वैश्विक सम्मेलन काठमाडौंमा हुनलागेको बताए।

सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउन लागेको अवसरमा वैश्विक सम्मेलनमा साँढे तीन सय वैज्ञानिकहरु सहभागी हुँदा विश्वभर सकारात्मक सन्देश जाने बताए। जोन्स होपकिन्स विश्वविद्यालयका प्राध्यापक रोनाल्ड कोहेनले कार्यक्रमको महत्वबारे प्रकाश पारेका थिए।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक केदार रिजालले उक्त अन्तराष्ट्रिय सम्मेलनले आफ्ना अनुसन्धानमा आधारित ज्ञानको आदान प्रदानमार्फत यस्ता वातावरणीय समस्याहरुको पहिचान गरि समाधानका उपायहरु सुझाउन समेत प्रेरित गर्ने विश्वास दिलाए।

रिजालले भने, ‘हामीले १७/१८ देश घुम्दा वातावरणसम्बन्धी काम गरेका र अध्ययन तथा अनुशन्धान गरिरहुनभएका विज्ञहरूले यो सम्मेलनमा सहभागी जनाउन र यसलाई सफल बनाउनको लागि चासो देखाउनुभएको छ।’ स्थानीय सरकार र यसका प्रतिनिधिहरुको प्रत्यक्ष सहभागिता र सहकार्यमा वातावरणको संरक्षण गर्नेतर्फ पनि सम्मेलनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको विश्वास छ ।

आयोजक संस्थाका अनुसार उक्त सम्मेलनमा वायु प्रदुषण तथा जलवायु परिवर्तन, फोहर मैला व्यवस्थापन र दिगो विकास तथा वातावरणीय नीति गरि तीन महत्वपूर्ण सत्र हुनेछन्। उक्त सम्मेलनमा ख्यातीप्राप्त व्यक्तित्वहरुवाट तिन पुर्ण सत्र मन्तव्य रहनुकासाथै सात वटा सम्म विज्ञहरुवाट विशेष प्रस्तुति रहने अयोजकले जनाएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.