पत्रकार अनुपमले खुलासा गरेका थिए सिएफएल भ्रष्टाचार काण्ड

|

विराटनगर :  नेपाल पत्रकार महासंघ प्रदेश समितिद्वारा इटहरी उप महानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले पत्रकारलाई धम्की दिएकोे विषयमा अध्ययन गर्न गठित समितिले मंगलबार प्रतिवेदन बुझाएको छ । 

समितिले पत्रकार विराट अनुपम (गौतम)को नाक भाँचिदिने र त्यसकालागि १ करोड खर्च गर्ने भनि दिएको धम्की तथा पत्रकार कृष्ण बहाव र विवश रेग्मीमाथि शारीरिक आक्रमण गर्ने लगायतका अभद्र व्यवहार प्रमुख चौधरीबाट भएको ठहर गरेको छ । प्रतिवेदनमा  प्रमुखको व्यवहार अभद्र र गम्भीर भएको पनि उल्लेख छ। 

पत्रकारहरुले महानगरपालिकाको भ्रष्टाचार विरोधी अभियानमा बाधा गरेको भन्ने भनाई भ्रामक र आधारहीन भएको भन्दै पत्रकार अनुपमले नै सिएफएल काण्ड सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

प्रतिवेदनमा उपमहानगरपालिकाका प्रमुख चौधरी पदीय हैसियत र मर्यादा विपरित अराजकरुपमा प्रस्तुत हुनु गलत भएको पनि उल्लेख गरिएको छ । 

पत्रकारको फोनले मेयर उत्तेजित

नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहनकाजी न्यौपानेको संयोजकत्वमा गठित छानविन समितिले पत्रकार बिराट अनुपमको फेसबुक स्टाटसमा कमेन्ट लेखेको विषयमा प्रमुख चौधरीलाई फोन गरेर उत्तेजित बनाउनु गलत भएको ठहर गरेको छ । 

यस विषयमा प्रमुख चौधरी आवद्ध राजनीतिक दल घटनाको विषयमा लामो समय मौन रहेको विषयमा पनि प्रतिवेदन बोलेको छ । 

विभिन्न सञ्चार माध्ययममा पत्रकार विरुद्ध अभिव्यक्ति दिएपनि पछिल्लो समय प्रमुख चौधरीले व्यक्त गरेका भनाई र भएका कमजोरी सच्याउने प्रतिवद्धतासहित विज्ञप्ति प्रकाशित गरेको भन्दै समितिले छ बुँदे सुझाव पेश गरेको छ । 

छानविन समितिले उपमहानगरपालिकाको प्रमुख चौधरीलाई आगामी दिनमा दण्डहीनतालाई निरुत्साहित गर्ने गरी प्रमुखको गतिविधि निगरानी गर्नुपर्ने र नसच्चिए कानूनी उपचारको बाटो खोज्नु पर्ने सुझाव दिएको छ । समितिले प्रमुख चौधरीलाई पदीय मर्यादा कायम राख्दै पत्रकारहरुले सोध्ने प्रश्नहरुबाट आगामी दिनमा उत्तेजित नहुन र आवेग नियन्त्रण गर्न पनि सुझाएको छ । 

समितिले पत्रकार महासंघलाई पत्रकार आचारसंहिता कार्यान्वयन गर्न र सुद्धिकरणमा ध्यान दिन पनि सुझाव दिएको छ । सँगै पत्रकार महासंघमा समाचारका विषयलाई लिएर आउने गुनासोहरु सुनुवाई गर्न छुट्टै संयन्त्र बनाउन पनि आग्रह गरेको छ । 

समितिले कानुनको परिपालना गर्न र प्रेस स्वतन्त्रता संरक्षणको सवालमा कार्यकर्ताहरुलाई प्रशिक्षित गर्न सम्बन्धित राजनीतिक दललाई सुझाव दिएको छ ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.