|

ढिमे (जाजरकोट) : ढिमे घरङ्गाका अमरबहादुर आग्री अहिले ओछ्यानमा थला परेका छन्। बोल्न, सुन्न र हिँड्डुल गर्न नसक्ने आग्री अहिले १७ वर्षको भए। गरिब परिवारका उनी अरूको सहारामा बाँचिरहेका छन्।

हात, खुट्टा नचल्ने, कान नसुन्ने र बोल्न पनि नसक्ने अमरको स्याहारका लागि एकजना दैनिक हेराला बस्नुपर्ने बाध्यता रहेको छ उनको परिवारलाई। घरको कुनै पनि परिवारका सदस्यले अमरले खाना र दिसापिसाब गर्ने समयमा ध्यान नदिए उनी आफ्नै ओछ्यानमा आफ्नै दिसा र पिसाबसँगै पल्टिरहन्छन्। उनको यो अवस्थाको हेरचाह बाबुआमाले गर्दथे। 

आमाको मृत्यु भएपछि झनै समस्या परेको अमर कसैले इसारा गरेर बोलेपछि बुझेजस्तो गरी चल्न र पल्टिन खोज्नुहुन्छ, तर उनको शारीरिक अवस्थाले त्यो चाहना कहिल्यै पूरा हुन दिँदैन। उनलाई दैनिक खुवाउने खाना पनि झिङ्गाले फोहरै फोहर बनाएको हुन्छ। अरूको सहारामा खाना खाने अमरले भोक लाग्दा खाना र तिर्खा लाग्दा पानी समयमा पाउन सक्नुहुन्छ।  

जन्मजातदेखि कै अमरको यो समस्यालाई आमाबुबाले उपचारको साटो उल्टै गाउँमै धामीझाँक्रीको मात्रै लगे। अरु उपचार गराउन सकेनन्। गाउँमा एक सिन्को पनि सम्पत्ति नभएका अमरका बाबु जने आग्रीले अर्थाभावमा अमरलाई धामीझाँक्रीबाहेक अन्यत्र कतै उपचारका लागि लान सकेनन्। धामीझाँक्रीका कारण अमरले कुनै उपचार पाउन सकेनन्। आमाले अमरको हेरचाह गर्दा बाबुले कमाउने र परिवार पाल्ने बाबुले हेरचाह गर्दा आमाले परिवार पाल्ने काम गर्ने गरेका थिए। 

अमरकी आमाको मृत्यु भएपछि बाबु जनेलाई परिवार पाल्न झनै समस्या भयो। अमरलाई हेरचाह गर्ने श्रीमती हुँदा गाउँको स्थानीय सामुदायिक वनको हेरालुको काम गरेर दिएको अन्नबाट दैनिक परिवार पालिरहेका थिए। श्रीमतीको मृत्युपछि छोराको हेरचाह गर्नुपर्ने भएकाले नियमित रुपमा काम गर्न नसकेको जनेले बताए। आफूसँग पैसा नभएकाले सुविधासम्पन्न ठाउँमा लगेर छोराको उपचार गराउन नसकेको जने बताउँछन्।  

जनेको नाममा गाउँमा कुनै पनि सम्पत्ति छैन। सम्पत्ति नभएर सुकुम्वासी भएका जनेलाई अहिलेसम्म कुनै सरकारी, गैरसरकारी निकायले सहयोग गरेको छैन। जन्मजातदेखि नै हातखुट्टा नचल्ने तथा बोल्नसमेत नसक्ने अमरलाई अहिलेसम्म पनि कुनै सुविधा कतैबाट प्रदान गरिएको छैन। यस्तो अवस्थाको छोरालाई कतैबाट सहयोग हुन्छ कि भनेर गाविस हुँदै छोरोलाई सदरमुकाममा लिएर गएको तर आफ्ना कुरा कसैले नसुन्दा पुनः घरमै लिएर आएको जनेले दुखेसो सुनाए। घरमा जनेका चार छोरा र पाँच छोरी रहेका छन्। जेठी छोरीको विवाह भएको र जेठो छोरा भारत गएर घर नआएकाले जनेलाई परिवार पाल्न समस्या छ। 

कुनै पनि सम्पत्ति नभएकाले जनेको परिवारको बसोबासका लागि गाउँका सबै मिलेर सार्वजनिक ठाउँमा खरले छाएको सानो टहरो बनाइदिएको छ। परिवार ठूलो भएको र काम गरिखाने अवस्थाका कोही नहुँदा गाउँको सामुदायिक वनको हेरालु बनाई गाउँभरिबाट एक सय ३८ घरधुरीले धान, मकै, गहुँ, जौ उठाएर दिने गरेको राम सिंहले बताए। जनेलाई गाउँले त्यतिकै दिन असहज मान्ने गरेकाले वन हेरालु बनाई त्यसबापत अन्न दिने गरेका छन्। ढिमे–४ घरङ्गामा रहेको सामुदायिक वनबाट जनेको परिवारलाई पालिएको छ। 

जनेले सरकारले वितरण गरेको हलिया परिचयपत्र पाए। सरकारले प्रमाणित गरेको हलियाको विवरणमा जनेको नाम छ तर कुनै सुविधा भने लिन पाएका छैनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.