|

पर्वत : मोदी गाउँपालिका–७ राम्जाका असिनापीडित नागरिकलाई जिल्ला प्रशासन कार्यालयले राहित वितरण गरेको छ। कार्यालयका कर्मचारी प्रभात लामिछानेका अनुसार ५२ पीडित परिवारलाई एक लाख ९८ हजार रुपैयाँ वितरण गरिएको हो। 

कार्यालयका अनुसार असिनाले घरको छाना पूर्ण रूपमा भत्किएका परिवारलाई ६ हजार, आंशिक क्षति भएकालाई ४ हजार र सामान्य क्षति भएकाहरूलाई २ हजार रुपैयाँका दरले रकम वितरण गरिएको हो। जेठ ९ गते परेको असिनाले १५ घरको छाना पूर्ण क्षति, १७ घरको आंशिक क्षति र २० घरको सामान्य क्षति भएको थियो।

प्रशासन कार्यालयको टोली पीडित घरपरिवारको घरमै पुगेर राहत वितरण गरेको हो। ‘असिनाका कारण उक्त क्षेत्रमा लगाइएको बालीनाली समेत पूर्ण रूपमा क्षति भएको छ,’ कार्यालयका कर्मचारी लामिछानेले भने, ‘तर प्रशासनले घर क्षति भएका पीडितहरूलाई मात्र राहत वितरण गरेको छ।’  बालीनालीमा पुगेको क्षतिबारे स्थानीय तह र कृषि ज्ञान केन्द्रले राहत दिने प्रशासन कार्यालयले बताएको छ। 

फलेवासमा पुगेन राहत

असिनाले क्षति पुर्‍याएको फलेवास नगरपालिका–३ शंकरपोखरीका किसानहरु राहत नपाउँदा चिन्तित बनेका छन्।

असिनाले घरका छानाहरू, नगदे तथा खाद्यान्न बाली पूर्ण रूपमा क्षति भए पनि अहिलेसम्म राहत नपाएको उनीहरुको गुनासो छ। पुर्कोट, रुग्दी, कुँडापानी, पात्लेखेत, चाम्लेश्वार, भलपोखरा, देउपुजा, थुम्का, थापाथर, भैरवनाथ लगायतका गाउँका असिनापीडित भएका छन्।

पुर्कोटमा रहेका करिब ५० घर दलित परिवार रहेका छन्। उनीहरुको मकै असिनाले सोत्तर पारेपछि गाईवस्तुलाई खुवाउनु परेको बताए। ‘कसैले केही राहत दिएको छैन। न घरमा बीउ छ न त मकै र तरकारी नै रह्यो,’ स्थानीय नारायण परियारले भने। 

असिनाले क्षति भएपछि नगरप्रमुखसहितको टोलीले अवलोकन गरेको भए अहिलेसम्म राहत नपाएको लक्ष्मी भण्डारीले बताइन्। खेतबारीमा लगाइको ८० प्रतिशतभन्दा बढी बाली क्षति हुँदा समेत जनप्रतिनिधिहरूले राहत उपलब्ध गराउन चासो नदिएको उनीहरुको गुनासो छ।

नगर उपप्रमुख मञ्जु अधिकारीले भने क्षतिबारे विवरण सङ्कलन गर्ने काम भइरहेको बताउँछिन्। ‘जिल्ला प्रशासन कार्यालय, कृषि ज्ञान केन्द्रसहित स्थानीय तहले पनि क्षतिबारे विवरण सङ्कलन गरेका छन्,’ उनले भनिन्, ‘कृषकहरू ठूलो मारमा पर्नुभएको छ, राहत उपलब्ध गराउँछौं।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.