|

रुकुम : नेपाल पत्रकार महासंघ रुकुम पश्चिमको भवन अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको छानबिनमा परेको छ। भवन निर्माणमा भ्रष्टाचार भएको भन्दै आयोगमा निवेदन परेपछि अनुसन्धान सुरु भएको हो।

महासंघको जिल्ला सदरमुकाम खलंगास्थित चन्दननाथ टोलमा भवन निर्माण भएको छ। उक्त भवन निर्माणका लागि तत्कालीन जिल्ला विकास समिति, निर्वाचन क्षेत्र विकास कार्यक्रम र सूचना तथा सञ्चार मन्त्रालयको करिब २० लाख रुपैयाँ खर्च भएको छ।

भवन निर्माणका क्रममा भ्रष्टाचार भएको भनी निवेदन परेपछि छानबिन सुरु गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकोटाले बताए। ‘निवेदनपछि भवन निर्माणको बजेट निकासा गर्न पेश गरिएका बिलभर्पाई र कागजात नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको छ’ उनले भने, ‘अहिले सबै खुलाउन मिल्दैन।’

यता पत्रकार महासंघ रुकुम पश्चिमका अध्यक्ष गणेश बिक ‘चिन्तन’ले भने व्यक्तिगत रिसइबीले अख्तियारमा निवेदन दायर भएको र त्यो पुष्टि नहुने दाबी गरे। यद्यपि, भवन निर्माणको केही रकम महासंघको संस्थागत काममा खर्च भएको उनले स्वीकार गरे । तर, जिल्लास्थित पत्रकारहरुले भने महासंघको आर्थिक पारदर्शिताको विषयमा चित्त नबुझेको भन्दै बेलाबेला प्रश्न उठाउने गरेका छन्। 

आर्थिक अपारदर्शितालाई सबै साधारण सदस्यलाई प्रष्ट पार्नुपर्ने प्रेस युनियन रुकुम पश्चिमका सचिव लोकेन्द्र खनालको माग छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.