|

चितवन : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चन्दाले मात्रै क्रिकेट रंगशाला बनाउन नसकिने बताएका छन्।

बुधबार चितवन पुगेका अध्यक्ष दाहालले पत्रकारहरुसँग कुरा गर्दै अर्बौं लगानी हुने क्रिकेट रंगशाला जस्ता संरचना चन्दाले मात्रै बनाउन नसकिने भएकाले सघाउनका लागि सरकारले योजना बनाएको खुलासा गरे ।

‘चितवनमा बन्न लागेका जस्ता रंगशालालाई सरकाले प्रोत्साहन गर्ने नीति लिएको छ। आवश्यक पर्दा सरकारले सहयोग गर्छ’, उनले भने, ‘चितवनको रंगशाला राष्ट्रिय गौरवकै आयोजनाका रुपमा छ। यो चितवनको लागि मात्रै नभएर देशकै लागि पनि महत्त्वपूर्ण छ। सबै चितवनबासीले यसलाई बनाउन सघाउनुपर्छ।'

यो रंगशाला बनाउने क्रममा पैसा पुगेन भने सघाउने नीति सरकारले लिएको छ । ‘चन्दा उठाएर मात्रै पनि रकम पुगेन भने यस्ता आयोजनालाई प्रोत्साह गर्ने भनेको छ सरकारले’, दाहालले थपे, ‘चन्दाले मात्रै यति ठुलो आयोजना बन्दैन, त्यहीकारण यो वर्षका नीति तथा कार्यक्रममा एउटा आधार तय गरेका छौँ।’

रंगशाला निर्माणमा भएको अवरोधलाई उनले ठुलो काममा सानातिना समस्या आउने प्रतिक्रिया दिए। ‘रंगशालामा अहिले भएको अवरोध सानोतिनो कुरा हो। ठुलो काम भएकाले यस्ता समस्या आउनु सामान्य हो। साना साना समस्या चिर्दै रंगशाला निर्माण अघि बढ्छ।’

प्रदेश ३ को राजधानी हेटौँडामै

अध्यक्ष दाहालले प्रशेश नम्बर ३ को राजधानी ५ वर्षका लागि हेटौँमा नै राख्ने गरी छलफल भइरहेको सुनाए । ‘प्रदेश ३ को राजधानी र नाम टुंगिन सकेको छैन’, उनले भने, ‘५ वर्षका लागि त्यसैलाई कायम राख्ने कि भन्नेमा पनि छलफल भइरहेको छ।’

विधेयकमा तयारी भएन

अध्यक्ष दाहालले आफ्नै पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले विभिन्न विधेयक ल्याउँदा आवश्यक तयारी नगरेकोले विवादित भएको बताएका छन्।

‘सरकारले विधेयक ल्याउँदा तयारी राम्रो नगरेको देखियो। सरकारले पार्टी र सरोकारवालासँग राम्रो छलफल गरेको देखिएन’, उनले भने, ‘गृहकार्य गरेर नल्याउँदा विवाद भएको हो । मिडिया काउन्सिल विधेयक पनि परिमार्जन गरेर लैजानुपर्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.