|

मुगु : मुगु जिल्लाको पूर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ गाउँपालिकास्थित पुलुमा रहेको प्रहरी चौकीमा कार्यरत प्रहरी वर्षौंदेखि जीर्ण भवनमा बस्न बाध्य भएका छन्। साविकको पुलु गाविस हालको गाउँपालिकाको केन्द्र रहेको स्थानमा प्रहरी चौकीमा कार्यरत प्रहरी जीर्ण भवनमा त्रासै त्रासमा रात बिताउँदै आएका हुन्।

हरेक हिसाबले पुलु प्रहरी चौकी जोखिममा रहेको छ। माथि कडा चट्टान र पहाड मूनि सानो समथल जमिन र छेउबाटै बगेको मुगु कर्णालीको उर्लदो भेलले प्रहरीलाई रात बिताउँनै सकस हुने गरेको छ। बर्खा लाग्ने बितिकै उर्लेर आउने कर्णालीले कति खेर बगाउने हो भन्ने चिन्ता, पानी पर्दा साविकको पुलु गाविसको जीर्ण चुहिने भवन भित्रको सकस तथा माथिबाट ढुंगा खस्ने डरले रातभरि जागा बस्नु परिरहेको प्रहरी जवान प्रेमबहादुर केसीले बताए।

अघिल्लो बर्खामा राति आएको कर्णालीको बाढीले धार परिवर्तन गर्दै प्रहरी चौकीको चर्पीसमेत बगाएपछि राति भागाभाग भएको र ओडारमा रात बिताउनु परेको उनले सुनाए। गर्मीको महिनामा राती सुत्दा तराईमा लामखुट्टेबाट बच्न झुल प्रयोग गरिने भए पनि पुलु प्रहरी चौकीमा कार्यरत प्रहरीले सर्पबाट प्रयोग गर्ने गरिरहेका छन्।

८ जना प्रहरीको भरमा गाउँपालिका

पुलुमा कार्यरत प्रहरीलाई बाढी, पहिरो, सर्पको मात्र त्रास होइन। उनीहरूले क्षमताभन्दा काम गर्नुपर्ने अर्को समस्या पनि छ। भूगोलको हिसाबले  हुम्लाको नम्खा गाउँपालिकापछि दास्रो ठूलो गाउँपालिका मुगमकामरोग गाउँपुलुमा ८ जना प्रहरी छन्।

पुलु प्रहरी चौकीमा रहेका ८ जनाको टोलीले गाउँपालिकाको दुई नम्बर वडाबाहेक अरू ८ वटै वडा हेर्नु परिरहेको छ। पुलु प्रहरी चौकीले वडा नम्बर दुई डोल्फुमा कुनै घटना घटे दुई दिन लगाएर पुग्नु पर्छ। प्रहरीको सञ्चार सेट तथा अन्य कुनै सञ्चार सम्पर्क हुन सक्दैन।

त्यस्तै, पुलुकै प्रहरीले नगरपालिकाको सिमाना काउलापानीसम्म हेर्नु पर्ने बाध्यता रहेको प्रहरी चौकी पुलुले जनाएको छ। सबैभन्दा त यार्सा संकलनको समयदेखि तिब्बतको हाटबजार बन्द नहुँदासम्म र असोज कार्तिकमा व्यापारिक चहलपहल हुने बेलासम्म प्रहरी जनशक्ति कम तथा भौगोलिक विकटताका कारण सुरक्षा दिन कठिन हुने गरेको छ।

दरबन्दीअनुसार प्रहरी छैनन्

मुगु जिल्लाभरिका लागि २ सय ५४ जनाको दरबन्दी रहको भए पनि दरबन्दी अनुसारका प्रहरी छैनन्। २ सय ५४ मध्ये अहिले १ सय ९० जना मात्र कार्यरत रहेकाले केही समस्या देखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जनशक्ति कम र भूगोल तथा छरिएका बस्ती भएकाले सुरक्षा व्यवस्था मिलाउन कठिन देखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रबावु रेग्मीले जानकारी दिए।

उनका अनुसार सोरु गाउँपालिका र मुगुम कार्मारोङ गाउँपालिकामा प्रहरी निरीक्षको कमाण्ड रहने गरि ईलाका प्रहरी चौकी राख्न प्रक्रिया अगाडी बढिरहेको र त्यस्तै जीर्ण भवनमा बस्दै आएका पुलु प्रहरी चौकीका प्रहरीका लागि सुरक्षित र व्यवस्थित भवन निर्माणका लागि गाउँपालिकासँग छलफल चलिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.