|

 मुगु : जिल्लाभरका अति विपन्न आर्थिक अभावमा पठन पाठनमा समस्या झेलिरहेका दलित छात्रालाई छात्रावृत्ति प्रदान गरिएको छ। विगत १४ वर्षदेखि अति विपन्न आर्थिक अभावमा पठनपाठनमा समस्या झेलिरहेका विद्यार्थीलाई छात्रावृत्ति प्रदान गदै आएको ग्रामीण समुदायक संस्था (जिएसएस) मुगुले यो वर्ष पनि १९ जना दलित छात्रालाई छात्रावृत्ति प्रदान गरेको हो।

बुधबार मुगु सदुमुकाम गमगढीमा एक औपचारिक कार्यक्रमको आयोजना गरी स्नातकस्तरसम्म अध्यन गर्ने १० जना दलित छात्रा लाई ९ हजारका दरले र मावि स्तरका विद्यार्थीलाई स्टेशनरी सामान, लत्ताकपाडा र ड्रेस सिलाउनको लागि नगद ७ सयका दरले ९ जना गरी १९ जना दलित छात्रालाई छात्रावृत्ति प्रदान गरिएको जिएसएस मुगुका कार्यक्रम संयोजक बासु रावलले जानकारी दिए। उनका अनुसार आर्थिक अभावले विद्यालय जान नसक्ने अवस्था भएका जिल्ला भरका दलित छात्रालाई छनोट गरी छात्रावृत्ति प्रदान गरिएको बताए।

यो वर्ष मात्र दलित छात्रा छात्रावृत्ति कार्यक्रमअनुसार २ लाखभन्दा बढीको साम्रगी र नगद सहयोग गरिएको छ। दलित छात्रालाई विद्यालय स्तरमा पहुँच बढाउन र उनीहरूको मानवीय विकास गर्न यो कार्यक्रम गदै अध्यक्ष बलराम सहानीले बताए। दलित छात्रावृत्ति कार्यक्रमले दलित छात्रालाई थप टेवा पुगेको उनको भनाइ छ।

विगत २०६२ सालदेखि यो कार्यक्रमलाई निरन्तता दिँदै आएको बताउँदै अध्यक्ष साहानीले अहिलेसम्ममा २५५ जना दलित छात्रालाई सहयोग गरेको र त्यसमध्ये १८ जना प्राविधिक तर्फ स्वरोजगार भएका छन् भने १६ जना अस्थायी रोजगारी पाएका र १ जना नेपाल सरकारको स्थायी कर्मचारी भएको जानकारी दिए।

छात्रावृत्ति पाएसँगै खुसी हुँदै रारा बहुमुखी क्याम्पसमा विएड सेकेन्ड सेमिस्टारमा अध्यनरत छात्रा सन्तोषि नेपालीले छात्रावृत्ति कार्यक्रमले जीवन परिवर्तन गरेको बताइन्। 'भर्ना गर्ने पैसा हुँदैन त्यो बेला विद्यालय छाड्नुको विकल्पबाहेक अरु हुँदैन। यस्तो सहयोग गदै जाँदा आर्थिक विपन्न भएका दलित छात्रा लाई बिद्यालय जान धेरै सहज भएको छ' उनले भनिन्।

कार्यक्रम बोल्दै जिल्ला समन्वय समितका प्रमुख पूर्णबहादुर रोकाले भौतिक विकास मात्र नभई मानवीय विकास पनि अपरिहार्य भएको बताए। उनले विद्यार्थीलाई पनि नियमित विद्यालय जान र छात्रावृत्तिको सदुपयोग गरी जीवनउपयोग बनाउन आग्रह गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.