'मुलुकमा अदृश्य लडाईँ चलिरहेको छ'

|

चितवन : सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा अहिले अदृश्य लडाईँ चलिरहेको बताएका छन्। उनले जनप्रतिनिधिले मोजमस्ती (रिल्यक्स) गरे लोकतन्त्रमाथि खतरा उत्पन्न हुने बताएका हुन्।

अच्युतराज स्मृति प्रतिष्ठानले बुधबार चितवनमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले मुलुकमा गुणात्मक परिवर्तन भए पनि निरंकुशतावादीहरूको चलखेलले गर्दा नदेखिने लडाईँ चलिरहेको बताएका हुन।

ठूला आन्दोलनपछिको राजनीतिक परिवर्तन घोषणा भए पनि राज्य संरचना पुरानै 'स्कुल' अनुसार चल्दा उपलब्धि गुम्ने खतरा रहेको बताएका हुन्। केहि नियम कानुन परिवर्तन भए पनि अझै धेरै कानुन पञ्चायतकालीन भएकाले परिवर्तनलाई संस्थागत गरी विकासतर्फ लम्कन समस्या भइरहेको प्रचण्डको भनाइ थियो।

विगतमा २००७ साल पछिका विभिन्न राजनीतिक उतारचढावलाई हेर्दा परिवर्तन उल्ट्याउँदै पुरानै राज्य संरचना हाबी हुनेगरेको स्मरण गर्दै प्रचण्डले यसपल्ट पनि त्यस्तो भए अहिलेसम्म कहिल्यै नभएको दुर्घटना हुने चेतावनी दिएका हुन्। उनले भने, ‘२००७ सालपछि राणासाशनबाट शाह साशनतर्फ रुपान्तरण हुँदा केहि अधिकार जनताले पाए पनि पुरानै राज्य संरचनाको निरन्तरता थियो। ३० वर्षे पञ्चायत घोर निरंकुसतातर्फ फर्कियो। २०४६ सालको ऐतिहासिक जनआन्दोलनपछि पनि राजतन्त्र अन्तर्गतकै बहुदल थियो। हरेक परिवर्तन निरंकुसताकै सेरोफेरोमा रहँदा जनताले पूर्ण अधिकार पाएनन्।’

यसअघिको राजनीतिक उपलब्धी उल्टिए पनि धेरै ठुलो क्षति नभएको प्रचण्डको भनाइ थियो। अहिलेको गुणात्मक परिवर्तन उल्टिए इतिहासमा कहिल्यै नदेखिएको दुर्घटना हुने उनको भनाइ थियो।

१० वर्षे जनयुद्ध, ०६२, ०६३ सालको जनआन्दोलपछिको विस्तृत शान्ति सम्झौता, १२ बुँदे समझदारीपछिको परिवर्तन इतिहासकै गुणात्मक परिवर्तन भएको प्रचण्डको भनाइ थियो। राजतन्त्र, एकात्मक प्रणालीको अन्त्य गर्दै गणतन्त्र स्थापना र संघीय प्रणालीमा मुलुक अघि बढेको बताउँदै उनले भने ‘गरिब, महिला, आदिवासी, मधेसी, दलीत लगायत पछाडि पारिएका समुदायको प्रतिनिधित्व राज्य सञ्चालनमा पहुँच पुगेकाले अहिलेको परिवर्तन मात्रात्मक नभइ गुणात्मक हो।’

यस्तो अवस्था रहे पनि डराइहाल्नुपर्ने अवस्था भने नरहेको प्रचण्डको भनाइ थियो। मुलुकमा राजनीतिक दलको नेतृत्वमा भएका उपलब्धिलाई संस्थागत गर्दै समृद्धिमा अघि बढ्ने कि पुरानै शासन निरंकुशतन्त्र उल्ट्याउने भन्ने प्रतिक्रियावादीबीच अदृष्य लडाई चलीरहेको भए पनि परिवर्तनकारीको पल्ला भारी रहेकाले डराइहाल्नु पर्ने अवस्था नरहेको उनले बताए। जनताका प्रतिनिधिले 'रिल्याक्स' गरे भने खतरा आउन सक्ने भएकाले सचेत रहन सबैलाई आग्रह गरेका छन। सम्भावित खतरालाई मध्यनजर गर्दै अहिलेको उपलब्धिलाई सबै मिलेर जोगाउँदै समृद्धिको यात्रामा अघि बढ्नुपर्नेमा प्रचण्डले जोड दिए।

अहिलेको दुई तिहाईको सरकारले जनताका आकांक्षा, आवश्यकता, गुनासो र आलोचनालाई धेरै सम्बोधन गर्ने प्रयास गरिरहेपनि पुरानो शैलीका कारण समस्या भएको प्रचण्डको भनाइ थियो। संविधान बनेर निर्वाचन सम्पन्न गरिसकेपछि मुलुक तीव्र विकासको यात्रामा अघि बढेकाले नेपालीको समृद्धिको सपना चाँडै पुरा हुने विश्वास उनले व्यक्त गरे। उनले दुई ठूला अर्थतन्त्र भएका मुलुक चीन र भारतको बीचमा रहेको नेपालले सक्दो फाइदा लिनुपर्नेमा जोड दिँदै मुलुकले नसोचेको विकासको फड्को मार्ने जिकिर गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.