७ दिनभित्र डेंगु नियन्त्रण हुन्छ : प्रदेश सरकार

|

विराटनगर : सुरुमा सुनसरीको धरानमा देखा परेको डेंगुको संक्रमण झापा र मोरङमा पनि देखा परेको छ ।  धरानवासीले जम्मा पारेर राखेको पानी नफ्याँक्दा रोग फैलँदै गएको हो । सुनसरीमा हालसम्म ५ सय ४८ जनामा डेंगुको संक्रमण देखा परेको छ । 

उनीहरुको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान विजयपुर अस्पताल र इटहरीका अस्पतालमा उपचार भइरहेको छ । मोरङमा पनि ९ जनामा डेंगुको संक्रमण देखा परेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 

मोरङको सुन्दर हरैँचामा ४ जना, उर्लाबारीमा १, बेलबारीमा १, केराबारीमा १ र विराटनगरमा महानगरपालिकामा २ जनामा डेंगुको संक्रमण देखा परेको जिल्ला स्वास्थ्य प्रमुख ज्ञानबहादुर बस्नेतले बताए । 

झापामा ३ जनामा डेंगुको संक्रमण देखा परेको छ । झापा, मोरङ र सुनसरी गरी जम्मा ५ सय ६० जनामा डेंगु देखा परेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

७ दिन भित्र नियन्त्रण
सुनसरीको धरानमा डेंगुको प्रकोप फैलिँदै गएपछि प्रदेश सरकारले यसको नियन्त्रणमा तदारुकता देखाएको छ । डेंगु झापा र मोरङमा पनि देखा परेपछि प्रदेश सरकारले ७ दिनभित्र नियन्त्रणमा लिने गरी काम अघि बढाउन मातहतका निकायलाई निर्देशन दिएको छ । 

विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा बुधबार अपरान्ह बसेको प्रदेश १ सामाजिक विकासमन्त्री, आन्तरिक मामिला तथा कानुन मन्त्री, झापा, मोरङ र सुनसरीका प्रमुख जिल्ला अधिकारी, स्वास्थ्य कार्यालयका प्रमुख र सुरक्षा निकायका प्रमुखहरुको बैठकमा बोल्दै सामाजिक विकास मन्त्री जीवन घिमिरेले सात दिन भित्रमा डेंगुका लार्भा नष्ट गर्ने बताए।

डेंगु प्रभावितको उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोशी तथा मेची अञ्चल अस्पतालमा विशेष व्यवस्था मिलाउने तथा अन्य निजि क्षेत्रका अस्पतालहरुलाइपनि व्यवस्थागर्न अनुरोध गर्ने आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले बताए।

डेंगु प्रभाव नियन्त्रणका लागि तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई शिक्षक, विद्यार्थी, सामाजिक तथा राजनितिक क्षेत्र, नागरिक समाज, विभिन्न पेशाकर्मीहरुको सहयोगमा सचेतना अभियान सुरु गर्न प्रदेश सरकारले अनुरोध गरेको छ । यसकालागि आवश्यक समाग्रीको व्यवस्था प्रदेश सामाजिक विकास मन्त्रालयले गर्ने भएको छ । 

सामाजिक विकास मन्त्री जीवन घिमिरेले उपचारमा मात्रै ध्यान दिइँदा समस्या समाधान नभएकाले प्रदेश सरकारले नियन्त्रणमुखी अभियान सुरु गरेको बताए।
सुरुमा धरानमा देखा परेको डेंगुको संक्रमण धरानवासीले जम्मा पारेर राखेको पानी नफ्याँक्दा फैलँदै गएको हो । धरानका स्थानीयले लामो समयसम्म पानी जम्मा गरेर राखेकाले त्यही पानीमा डेंगुका लार्भा देखा परेको छ । 

तर खानेपानीको अभाव भएका कारण धरानका स्थानीयले अझै उक्त पानी फ्याँक्न नमानिरहेको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका सागर प्रसाईले बताए। बीपी प्रतिष्ठानमा मात्रै १५ सय ७४ जनाले डेंगु परिक्षण गराएकोमा ४ सय ७४ जनामा पोजेटिभ देखिएको उनले बताए ।

विराटनगरमा नियन्त्रण अभियान

यसैबीच डेंगुको संक्रमण देखापरेपछि विराटनगर महानगरपालिकाले औषधी छर्न सुरु गरेको छ ।  विराटनगर महानगरपालिका वडा नम्बर १ मा एक जना पुरुष र वडा नम्बर ३ मा एक जना महिलामा डेंगुको संक्रमण देखिएपछि महानगरपालिकाले सतर्कता अपनाएको महानगरले जनाएको छ ।

महानगरपालिकाले डेंगु नियन्त्रणका लागि मालाथिन फगी स्प्रे गर्न सुरुगरेको महानगरले जानकारी दिएको छ । महानगरपालिकाले एक दिनमा ४ वटा वार्डमा औषधी छर्नेगरी काम सुरु गरेको महानगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख लजिता योञ्जनले जानकारी दिइन्। 

१९ वटा वडा रहेको महानगरपालिकामा यस अघि प्रतिनिधिसभा सांसद अमनलाल मोदीले ६ वटा औषधी छर्ने मेसिन वितरण गरेका थिए । सांसद मोदीले आफ्नो निर्वाचन क्षेत्रपर्ने विराटनगरको १, २, ३, ८, १० र १९ नम्बर वाडमा उक्त मेसिन वितरण गरेका थिए । 

तर प्राविधिक अभाव र २ वटा मेसिन बिग्रिएको, २ वटा मेसिन डेंगु प्रभावित इटहरी धरानमा पठाएका कारण एक दिनमा ४ वटा वाडमा मात्रै औषधि छरिएको स्वास्थ्य शाखा प्रमुख योञ्जनले बताए। महानगरपालिकाले कटहरी गाउँपालिकाबाट समेत २ वटा मेसिन ल्याएर औषधि छरिरहेको उनले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.