|

पोखरा : कास्की जिल्ला कारागारमा जेल परेका व्यक्तिले लागुऔषध कारोबारको सेटिङ मिलाउने गरेको पाइएको छ। लागूऔषध मुद्दामा जेल बसिररहेका एक व्यक्तिले जेलबाटै लागुऔषधको कारोबार सेटिङ मिलाइरहेको प्रहरीले पत्ता लगाएको हो।

पोखरा ९ घर भएकी र हाल बुद्धचोकमा बस्ने देवीकुमारी गुप्तालाई पक्राउ गरेपछि जेलभित्रैबाट लागुऔषध विक्रिको लागि कास्कीमा सेटिङ हुने तथ्य पत्ता लागेको हो। ‘अमरसिंहचौरमा ठुलो परिमाणको लागूऔषध बिक्री हुँदै गरेको भन्ने सूचना आयो,’ कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले भने, ‘त्यहाँबाट देवीकुमारीलाई नियन्त्रणमा लिइयो। अनुसन्धान गर्दा जेलभित्रैबाट हुने सेटिङमा यि महिलाले लागुपदार्थ ओसारपोसार गरेको थाहा भयो।’

देवकुमारीले बोकेको झोला खोजतलासी गर्दा प्रहरीले ३०० थान डाईजापाम, ३०० थान फेनेरागन र ३०० थान नर्फिन गरी जम्मा ९०० थान लागू औषध पनि बरामद गरेको एसपी कार्कीले जानकारी दिए। ‘जेलबाटै श्रीमानले फोन गरेर लागुऔषध बुझेर अन्यत्र बुझाउनु भनेको रहेछ,’ एसपी कार्कीले भने।  उनको साथबाट प्रहरीले सामान पठाएको ९० हजार रुपैयाँको आईएमई भौचर समेत फेला पारेको छ।  

देवकुमारीका श्रीमान उदयकुमार गुप्ता लागूऔषध कारोबारमा कास्की कारागारमा थुनिएका छन्। उनैको सेटिङमा श्रीमती देवकुमारीले पोखरामा लागुपदार्थ ओसारपसार गर्दै आइरहेको खुलेको छ। श्रीमानले टेलिफोनमा भने अनुसारको ठाउँमा नियमित रूपमा लागुपदार्थ पुर्‍याउँदै आएको पनि उनले बताएकी छिन्।

बुुधबार नै कास्की प्रहरीले लागुऔषध कारोबारका डिलर गोविन्द थापालाइ गोली हानेर पक्राउ गरेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.