|

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भीमसेन दास प्रधानले गुठी सम्बन्धी विधेयक संविधान विपरित भएको भन्दै तत्काल फिर्ता लिन सरकारको ध्यानाकर्षण गराएका छन्। 

प्रतिनिधिसभाको विहीबारको बैठकमा बोल्दै उनले संविधानले गरेको व्यवस्था विपरित सरकारले गुठीसम्बन्धी विधेयक ल्याएको दाबी गरे ।

राजधानीमा गुठीसम्बन्धी विधेयक लगायत सरकारले संविधान विपरित ल्याएका विधेयक विरुद्ध काठमाडौंमा दिनहुँ विरोध प्रर्दशन र आन्दोलनहरु भइरहेको भन्दै उनले समयमै सच्चिनँ सरकारलाई चेतावनी दिए।

'काठमाडौंमा आन्दोलनको हुरी चल्दैछ । बादल गर्जिँदै छ दिनका दिन आन्दोलनको', उनले भने, 'विधेयक तुरुन्तै फिर्ता गरी सरोकारवालासँग विधेयक संशोधन गरेन भने आन्दोलन चर्किन्छ  र त्यो आन्दोलनले कहाँ पुर्‍याउँछ भनेर भन्‍न सकिन्‍न।' 

काठमाडौं उपत्यकाबासीको आन्दोलन कुनै शक्तिले थेग्न नसक्ने भन्दै उनले समयै सचेत हुन सरकारको गम्भीर ध्यानाकर्षण गराए।

'काठमाडौंका जनता उठेपछि कुनै पनि शक्तिले रोक्न सक्दैन । हेक्का राख्नुहोस् अहिले केपी शर्मा ओलीको सरकार ढल्ने भन्‍ने चिन्ता होइन', उनले भने, 'संविधानप्रति नै जनताले अनास्था गर्लान् भन्‍ने चिन्ता हो । काठमाडौंका जनता जुरुक्क उठेपछि राजतन्त्र फालियो ।'

गुठीसम्बन्धी विधेयकमार्फत् सरकारले ऐतिहासिक, पुरातात्विक महत्व, धर्म, संस्कृति र सम्पदामाथि धावा बोल्ने काम गरेको आरोप उनले लगाए।

सभामुख कृष्ण बहादुर महराले विहिबारको बैठक प्रारम्भ भएको जानकारी गराएलगत्तै नेपाली कांग्रेस र राजपाका सांसदहरुले उभिएर सभामुखको ध्यानाकर्षण गराएपछि उनले भीमसेनदास प्रधानलाई बोल्न समय दिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.