|
प्रतिनिधिमूलक तस्वीर

काठमाडौं : करिब १३ घण्टाको अवधिमा ५ स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ। बुधबार १७:२० बजेदेखि बिहीबार ६:०० बजेसम्मको सो अवधिमा सर्लाही, नुवाकोट, मकवानपुर र सिन्धुलीमा  भएका दुर्घटनामा ६ जनाको मृत्यु भएको हो।

दुर्घटनामध्ये सर्लाही, हरिपुर नगरपालिका-७ स्थित सडकमा ना२५ प ६९२२ र ज५ प ७८८६ नम्बरका मोटरसाइकल एकापसमा ठक्कर खाई भएको दुर्घटनामा गम्भीर घाइते भएका दुवै मोटरसाइकल चालक ईश्वरपुर नगरपालिका-१५ का ३० वर्षीय अनिल चौधरी र सोही नगरपालिका-१४ का ३५ वर्षीय अशोक चौधरीको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका अन्य ४ जनामध्ये २ जनालाई थप उपचारको लागि वीरगंज पठाइएको छ भने २ जना उपचारपछि डिस्चार्ज भएका छन्। दुवै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैगरी, सर्लाही, मलंगवा नगरपालिका-९ बसपार्कमा ना२ ह १२२३ नम्बरको टेम्पु अनियन्त्रित भई दुर्घटना हुँदा टेम्पुमा सवार बरहथवा नगरपालिका-५ घर भई मलंगवा नगरपालिक-४ डेरा गरी बस्ने ३५ वर्षीय रवि मेस्तरको घटनास्थलमै मृत्यु भएको छ। टेम्पु चालक फरार रहेकोले प्रहरील खोजी गरिरहेको छ।

यसैगरी, नुवाकोट, ककनी गाउँपालिका-४ स्थित सडकमा बा२ क ६३६३ नम्बरको टिपर सडकबाट करिब ३ सय मिटर तल खसेर घरको छानामा पर्दा गम्भीर घाइते भएकी घरमा सुतिरहेकी ५८ वर्षीया माइली माया तामाङको ग्राण्डी अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका टिपर चालक र सहचालकको सोही अस्पतालमा उपचार भइरहेको छ।

यसैगरी, मकवानपुर, हेटौंडा भीमफेदी गाउँपालिका-१ स्थित सडकमा बा७च ३८४८ नम्बरको कारले बा४१प ५३८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक ३० वर्षीय बिबेस तामाङको छाउनी अस्पतालमा  उपचारको क्रममा मृत्यु भएको छ। कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैगरी, सिन्धुली, सुनकोशी गाउँपालिका-५ भोटेखोलास्थित सडकमा प्रगतिशील माध्यामिक विद्यालय रातामाटाको ना३ख ३५२० नम्बरको गुडिरहेको बसको झ्यालबाट टाउको निकाल्दा भोटेखोला लेखेको बोर्डमा टाउको ठोक्किएर कक्षा ९ मा अध्यनरत रामेछाप खाडादेवी गाउँपालिका-३ बस्ने रामजी श्रेष्ठका छोरा १४ वर्षीय रमिस श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटना भएका सबै स्थानमा तत्काल खटिई गएको स्थानीय प्रहरीले उद्दार कार्य गर्नुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.