|

रौतहट : रौतहटको चन्द्रपुर नगरपालिकामा कालोपत्रे (पिच) सडक निमार्ण गरेको हप्ता दिन बित्न नपाउँदै उक्किएर भत्किन थालेको छ। चन्द्रपुर नगरपालिका-९ को सिन्धुरेघारीदेखि चेतनगरसम्मको करिब १ किलोमिटर ८ सय मिटर सडक निर्माण भएको एक हप्तामै भत्किएको हो।

डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरमार्फत् बन्दना-भगवती-कामख्या जेभी बत्तिसपुतली काठमाडौंले उक्त सडक कालोपत्रे गर्ने जिम्मा पाएको हो।

भिडियो :

सिन्दुरेघारीदेखि बिनुवा टोलसम्मको १८ सय मिटर सडक कालोपत्रे गर्न १ करोड ६० लाखमा निर्माण कम्पनीले जिम्मा लिएको छ। तर निर्माण कम्पनीले काम गरेको दुई हप्ता नबित्दै कालोपत्रे उप्किन थालेपछि स्थानीय आक्रोशित छन्।

ठेकेदार कम्पनीले गुणस्तरहीन सामग्री प्रयोग गरेका कारण बन्दै गरेको सडक भत्कन थालेको स्थानीयबासिन्दा सूर्यबहादुर थापाले बताए। पिच सडक धमाधम हातले भत्काउदै स्थानीय थापाले प्रश्न गरे ‘यो पिचलाई गुणस्तरीय भन्ने? यस्तो गुणस्तरहीन पिच भत्काएर फेरि निर्माण गर्नुको विकल्प छैन।’

सरकारले दिगो विकासको लक्ष्य लिएको अवस्थामा निर्माण कम्पनीले कागजी प्रक्रिया मिलाई बजेटको दुरुपयोग गरेको स्थानीयको भनाई छ। गुणस्तरहीन काम गर्ने यस्ता निर्माण कम्पनीलाई कारवाही हुनु पर्ने उनीहरूको माग छ।

निर्माण स्थलमा सडकको परियोजनाका बारेमा कुनै किसिमको होडिङ्बोर्डसमेत नराखिएकाले स्थानीयसमेत कालोपत्रे कसले र कतिको लागतमा गरेको बारेमा अनभिज्ञ छन्। यस विषयमा चन्द्रपुर नगरपालिका-९ का वडाअध्यक्ष गोविन्द दुलाललेसमेत सडकको कालोपत्रे गुणस्तरहीन भएको स्वीकार गरेकाछन्।

यता, डिभिजन सडक कार्यालय रौतहट चन्द्रनिगाहपुरका डिभिजन इन्जिनियर दरोगा साहले एक दुई स्थानमा त्रुटी भएकाले सच्चाउन निर्देशन दिएको बताए। एक/दुई स्थानमा निमार्ण गर्दा त्रुटी भएको र अन्य स्थानमा काम राम्रै भएको डिभिजन प्रमुख साहले बताए।

निमार्ण कम्पनीका प्रतिनिधि राम नारायण यादवले स्थानीयले कामलाई गुणस्तरहीन भनेर आरोप मात्र लगाएको बताए। उनका अनुसार गौर-पिपरा-समनपुर-विश्रामपुर-नुनथर सडकअन्तर्गत उक्त सडकमा कालोपत्रे गरिएको हो। करिब ७५ प्रतिशत काम सकिएको छ। काममा विभिन्‍न आएकाले कालोपत्रे उप्किएको हुन सक्ने निर्माण कम्पनीका प्रतिनिधि यादवले स्वीकार गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.