|

यो एक श्रीलंकाली जोडीको प्रेमकथा हो, जसको सम्बन्ध घृणाबाट प्रेममा बदलियो।

गौरी मलार र रोशन जयातिलके दम्पतीलाई एघार वर्षकी छोरीसँग खेलिरहेको देख्दा उनीहरु दस वर्षअघि एकअर्काका कट्टर शत्रु थिए भनेर पत्याउन मुस्किल नै पर्छ।

२६ वर्षकी गौरी त्यतिखेर विद्रोही तामिल टाइगरमा बालसेनाको रुपमा आवद्ध थिइन्। उनलाई त्यतिखेर लाग्थ्यो, आफूहरुमाथि रोशनजस्ता मान्छेहरुले दमनकारी शासन चलाइरहेका छन्।

'मैले न कहिल्यै सिँहालीहरुलाई देखेँ न त बात नै मारेँ',' उनले भनिन्, 'हामीलाई ती खराब मान्छे हुन् र तिनले हामीलाई मार्छन् भन्ने लाग्थ्यो।'

रोशनालाई पनि विद्रोहीप्रति घृणा थियो। कयौं निर्दोषको ज्यान जाने गरी २६ वर्षसम्म गृहयुद्ध चलाउने विद्रोहीलाई रुचाउने कुरै थिएन।

'हो, हामी एकअर्कालाई दुश्मनका नजरले हेर्थ्यौं', २९ वर्षीय रोशनले भने, 'तर अहिले हामी खुसीसाथ वैवाहिक जीवन बिताइरहेका छौं। हाम्री छोरी हाम्रो प्रेमको निशानी हो।'

गौरी र रोशनको साझा सपना

यो रुपान्तरणको कारण के थियो जसले गौरी र रोशनलाई एकैठाउँमा ल्याइपुर्‍यायो? के कुराले उनीहरुको सोच बदल्यो, जसका कारण उनीहरुले एउटा सानो घर बनाउने, एउटा कार किन्ने र छोरी सेनुलीलाई त्यसमा राखेर स्कुल लाने–ल्याउने साझा सपना देखे?

सन् १९८३ मा जब तामिल विद्रोहीले बढ्दो सिंहाली राष्ट्रवादको विरोध गर्दै १३ सैनिकलाई एम्बुसमा पारेर मारे, त्यहाँबाट श्रीलंकामा द्वन्दले जरो गाड्यो। घटनाको प्रतिक्रियास्वरुप ठाउँ ठाँमा तामिल अल्पसंख्यकविरुद्ध हिंसा भड्कियो, जसमा कैयौं मारिए।

द्वन्दको प्रभाव गौरीको जीवनमा निरन्तर थियो नै, जुन सन् २००९ मा झन् बदलियो। यो त्यो दिन थियो, जुन दिन उनलाई ट्र्याक्टर हाँकिरहेका उनको प्यारो दाई सुब्रमन्यम एक विस्फोटमा परेको कुरा सुनाइयो।

गौरीको गाउँ सरकार नियन्त्रित भूभागनजिकै पर्थ्यौ। तर दक्षिणी श्रीलंकास्थित उनकै गाउँ विश्वमधुमा भने विद्रोहीको बलियो पकड थियो। त्यस क्षेत्रमा दुवै पक्षबीच गोलाबारी चलिरहन्थ्यो।

दाजु घटनामा परेको खबरले विक्षिप्त बनेकी गौरी दाजुको खोजीमा निस्किइन्। तर उनी विद्रोहीहरुको फन्दामा परिन्। उनीहरुले १६ वर्षकी गौरीलाई एक हप्ताको तालिम दिइ हतियार बोकाएर लडाईंमा धकेलिदिए।

मैले साथीलाई मर्दै गरेको देखें

'मैले मान्छेलाई गोली लाग्दै गरेको देखें, मर्दै गरेको देखें', गौरीले भनिन्, 'मेरो एउटा साथीलाई बमले उडायो, म बचाउने कोशिश गर्दै थिएँ, उसले हत्त न पत्त साइनाइड क्याप्सुल चपाइहाली। उसले मलाई भनी– घाउ गहिरो छ गौरी, अब बाँच्नुको केही अर्थ छैन।'

'नुहाउनेधुने त कल्पनै नगरौं, खाना पनि गतिलो पाइन्नथ्यो। त्यस्तो बेला म बाँच्नुको अर्थबारे घोत्लिन्थें।' रोशनको जीवनमा भने सन् २०१४ बाट द्वन्दले प्रवेश पाउँछ, जतिबेला उनी १४ वर्षका थिए।

त्यतिबेला उनको गाउँमा नयाँ वर्षको उत्सव चलिरहेका बेला विद्रोहीहरुले बम हानेका थिए। रोशनको गाउँ रहेको भभुनिया जिल्ला पनि विद्रोही र सरकार नियन्त्रित भूभागको सीमामा पर्थ्यो।

केही सेना र केही सर्वसाधारणसमेतको ज्यान जाने गरी भएको उक्त विस्फोटका कारण रिसको पारो चढेपछि रोशनले बुबाको बाटो समात्ने निधो गरे। अर्थात्, नागरिक सुरक्षा विभागमा भर्ना भए।

'दिनहुँजसो हामी आक्रमणका खबर सुन्थ्यौं', द्वन्दमा एकजना भाइ पर्नेलाई गुमाउनु परेको घटना सम्झँदै उनले भने, 'मान्छेहरु भयभित थिए। अरु त कुरै छोड्नुस्, परिवारै एकैचिहान नहोस् भन्ने भयले मान्छेहरु सपरिवार हिँड्दैनथे।'

सन् २००९ मा युद्ध रोकिँदासम्म त्यहाँ दुवै पक्षका गरी एक लाख मान्छेले ज्यान गुमाएको आँकडा छ। 

सन् २०१५ मा संयुक्त राष्ट्रसंघको अध्ययनले दुवै पक्षलाई गैरन्यायिक हत्याको भागिदार ठहर्‍यायो। सरकारी सुरक्षा संयन्त्र यातना तथा यौनजन्य हिंसाको दोषी पाइयो भने विद्रोही पक्षले बालबालिका र वयस्क समेतलाई जबरजस्ती द्वन्द्वमा सामेल गराएको ठहर भयो।

यी पनि हामी जस्तै मान्छे रहेछन् !

गौरीले महिनादिनभन्दा बढी समय युद्धमा बिताइन्। उनलाई मुटुसम्बन्धी समस्या रहेको थाहा पाएपछि कमाण्डरले छाडिदिने निधो गरे। त्यसपछि उनले सरकारी सेनासमक्ष आत्मसमर्पण गरिन्। गौरीजस्ता धेरैका लागि सरकारले पुनर्स्थापना कार्यक्रम चलाइरहेको थियो।

तामिलशासित छुट्टै देश स्थापना गर्ने विद्रोहीहरुको मुल मुद्दामा सहमत हुँदाहुँदै पनि सिंहाली समुदायका मान्छेहरुसँग समय बिताउँदै गर्दा गौरीलाई महसुस भयो, 'अरे! यी पनि त हामी जस्तै मान्छे रहेछन्।' अन्तत: उनी पनि नागरिक सुरक्षा विभागमा भर्ना भइन्।

उनको पोष्टिङ दक्षिणमा रहेको उद्यानकत्तुमा भयो, जहाँ उनको भेट भविष्यको पति रोशनसँग हुनेवाला थियो। सन् २०१३ मा गौरीको पोष्टिङ हुँदै गर्दा रोशन भने एक वर्षदेखि त्यहीँ थिए। तामिलबहुल क्षेत्रमा सेवारत् रोशन तामिल बोल्न नजानेर दु:ख पाइरहेका थिए। गौरी आएपछि रोशनका लागि भाषा उल्था गरिदिन थालिन्।  यो भेटले रोशनको भाषामात्रै होइन, जिवन नै रुपान्तर भयो।

'ऊ आफूलाई एक्लो–एक्लो ठान्थ्यो',गौरीले भनिन्, 'म उसलाई सकेसम्म सहज महसुस गराउन चाहन्थें। उसका लागि खाना बनाएर ल्याउँथें।'

एकअर्काप्रतिको भावना अब छ्याङ्ङ हुँदै थियो।

'मैले रोशनलाई भनें एकदिन। रोशन, म तिमीलाई तिम्रो आमाले ( जिवितै छँदा जति गर्थिन्) भन्दा धेरै माया गर्छु', गौरीले भनिन्।

'जब म छुट्टीमा जान्थें, गौरी रुन्थिन्', अब बोल्ने पालो रोशनको थियो, 'मसँग छुट्टीमा जाँदा खानपुग्ने पैसा छ कि छैन भनेर निधो लिन खोज्थिन्।'

प्रेमसामु परिवारको विरोध टिकेन

जब उनीहरुको सम्बन्धबारे अरुले चाल पाए रोशनले धेरै कुरा सुन्न पर्‍यो। आफन्तहरुले कराए, 'सिंहाली केटीहरु जति पनि पाइन्छन्, के भनेर तामिलको पछि लाग्नुपरेको?'

उनीहरुको बिहेका लागि रोशनकी आमा पनि मानिनन्, गौरीकी दिदी पनि मानिनन्। गौरीकी दिदी सोच्थिन् रे, सिंहालीसँग बिहे गरेपछि समुदायबाट टाढा जानुपर्छ, के होला, कसो होला।

तर परिवारको विरोध धेरै दिनसम्म टिकेन। उनीहरुबिच एकअर्काप्रतिको प्रेम देखेर दुवै परिवार पग्लिए।

'अन्तिममा सबै कुरा ठीक भयो', गौरीले रोशनकी आमालाई सम्झिइन्, 'नातिनी जन्मिँदा उत्पात खुसी हुनुभएको थियो।'

'हाम्री सानी परीले हाम्रो परिवारलाई अझै नजिक ल्याइदिइन् भनौं न!', गौरीले भनिन्।आजकल उनीहरु गौरीकी दिदीको घरमा बस्छन्। गौरीले रोशन दिदीको प्रिय ज्वाईं बनेको बताइन्, तीनै दिदी जो पहिले सिंहालीसँग बिहे गर्न हुन्न भन्थिन्।

फेरि त्यस्तो कहिल्यै नहोस्

सन् २०१४ मा विवाह गरेका रोशन र गौरी छोरी सेनुलीलाई हिन्दु मन्दिर र वौद्ध गुम्बा दुवै ठाउँमा उत्तिकै श्रद्धाका साथ लैजान्छन्। उनीहरुले विगतको विभाजनलाई विगतमै छाडिदिएका छन्।

तैपनि गत इष्टरका दिन २५० जनाको ज्यान जाने गरी भएको विस्फोट र त्यसले बढाएको मुस्लिमविरोधी भावना देखेर यो जोडी डराएका छन्। कतै पुरानै दिन फर्कने त होइन?

'लडाईंमा एक पक्षका मान्छेमात्र मारिँदैनन्', गौरीले भनिन्, 'धेरै मारिन्छन्, चाहे ती जुनसुकै जात वा धर्मका किन नहोउन्।'

'हामीलाई अर्को लडाईं चाहिएको छैन।'

(बिबिसीबाट अनूदित)

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.