|

यौन हिंसाको आरोपमा मुद्दा खेपिरहेका बलिउड अभिनेता नाना पाटेकरलाई अदालतले सफाइ दिएको छ। अभियोग पुष्टि गर्ने प्रमाण नभेटिएपछि उनलाई सफाइ दिइएको हो।

अभिनेत्री तनुश्री दत्ताले सन् २००८ मा सुटिङका दौरान नानाले आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्। उनको यही आरोपसँगै भारतमा #MeToo अभियान चर्किएको थियो। त्योसँगै दत्ताले पुलिसमा उजुरी दर्ता गरेकी थिइन्। अदालतले उक्त आरोप पुष्टि गर्ने प्रमाण नजुटेको भन्दै नानालाई 'क्लिनचिट' दिएको हो।

नानालाई सफाइ दिइएकोमा अभिनेत्री दत्ता आक्रोशित देखिइन्। उनले 'प्रहरी प्रशासन र न्याय व्यवस्थाप्रतिको विश्वास टुटेको' प्रतिकृया दिएकी छन्। 'अनुसन्धान नटुंगिँदै अदालतमा रिपोर्ट पेश गर्नुको अर्थ के हो?', उनले भनिन्, 'यहाँको पुलिस नानाको इशारामा नाचिरहेको छ। नानाले अदालतबाट सफाइ पाउन पैसा र शक्ति खर्चेका छन्।' दत्ताले घटनाका साक्षीहरुसँग प्रहरीले कुरै नगरेको आरोप लगाइन्।

दश वर्षअघि प्रहरीले उजुरीसमेत लिन नमानेको स्मरण गर्दै उनले हार नखाइकन अत्याचारविरुद्ध लडिरहने बताइन्। 'मैले आशा मारेको छैन', उनले भनिन्, 'न्याय नपाएसम्म लडिरहन्छु।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.