जनप्रतिनिधि भन्छन्- एक्लो प्रयासले सकेनौँ

|

धनगढी : कैलाली गोदावरी नगरपालिका-१० की मनीषा बोगटी एसइईको नतिजा कुरेर बसेकी छन्। उनलाई नतिजाको चिन्ता छ। परीक्षाको तयारी गरिरहँदा पढ्नुभन्दा बढी समय पानी बोक्नुपरेकाले तयारी भनेजस्तो नभएको उनको भनाइ छ। ‘पानी ल्याउन घण्टौँ हिँड्नुपर्ने थियो। परीक्षाको तयारी गरिँदा पनि पढ्ने समय मिलेन’ उनले भनिन्।

पिउने पानीको जोहो गर्नुपर्दा बोगटीले नियमित विद्यालय पनि जान पाइनन्।  ‘हप्तामा दुई तीन दिनसम्म मेरो विद्यालय छुटेको थियो,’ उनले भनिन् ‘कहिलेकाहीँ त चार/पाँच दिनसम्म पनि विद्यालय जान पाइनँ।’

गोदावरी नगरपालिका-१०, ११, र १२ का अधिकांश विद्यार्थीहरूको यही नियति छ। घरमा पिउने पानी ल्यार विद्यालय जानुपर्ने भएकाले अधिकांश विद्यार्थीहरू नियमित विद्यालय जान पाइरहेका छैनन्।

विद्यार्थी मात्रै होइन उनीहरूका अभिभावक पनि खानेपानीको व्यवस्था गर्न निकै समय खर्चनुपर्ने बताउँछन्।

सुदूरपश्चिम प्रदेशको राजधानी भएकै स्थानीय तहमा वर्षौंदेखि नागरिकहरू स्वच्छ पिउने पानीबाट वञ्चित भएका छन्। ‘धारामा पानी नआएपछि घण्टै लाइन लागेर खोलाको पानी ल्याउनुपर्छ ’ गोदावरी नगरपालिका १० भागेश्वरकी दुरपति बिकले भनिन्, ‘नजिक पानी छैन टाढा जानुपर्छ त्यहाँबाट धमिलो पानी ल्यार खान्छौँ।’

त्यस क्षेत्रमा दर्जनभन्दा बढी इनार छन्। गर्मी बढेसँगै इनारमा पानी सुकेको छ। इनारमा पानी नहुँदा पशु चौपायालाई पिउनको लागि पनि पर्याप्त पानी छैन।

पछिल्लो समय स्थानीय तहले केही स्थानमा डिप बोरिङ गाडिदिएपछि स्थानीयलाई केही राहत भएको छ। तर सबै क्षेत्रका नागरिकहरू त्यसको पहुँचमा पुग्न सकेका छैनन्।

पहुँचमा भएकाहरू पनि लाइनमा बसेर पानी भर्न बाध्य छन्। ‘वडा कार्यालयले बोरिङ गाडिदिएको छ हामीलाई केही राहत त भएको छ तर यहाँ पनि लामो लाइन बस्न बाध्य छौँ।’ स्थानीय झंकर कुवारले गुनासो गरे।

गाउँ छोड्दै स्थानीय

बालबालिका र वृद्धवृद्धाहरुलाई पनि खानेपानी लिन घण्टौँ हिँड्नुपर्ने बाध्यता रहेको छ। शुद्ध खानेपानी नपाएर गोदावरी नगरपालिका ११ र १२ का अधिकांश बासिन्दालाई स्वास्थ्य समस्या देखिने गरेको छ।

पानीकै अभावले विस्थापित हुनेहरूको संख्‍या पनि बढिरहेको  छ ‘हामी ३०/४० वर्ष पहिले यहाँ आएका हौँ’ भिखु भुलले सुनाए, ‘त्यो बेला देखिएका मान्छेहरू पनि विस्तारै गाउँ छोड्न थालेका छन्।’

यस क्षेत्रबाट अधिकांश कञ्चनपुर र कैलाली बसाइँसराइ गरिरहेको र कोही भारत नै बस्न थालेको उनको भनाइ छ। ‘यहाँ घर जग्गा भएका मान्छेहरू पनि यहाँ बस्दैनन्’ उनले भने, ‘कोही जग्गा जमिन बेचेर गएका छन्। कोही भने फेरि फर्कने गरी गएका छन्।’

एक्लो प्रयासले सकेनौँ : जनप्रतिनिधि

बिहीबारका हावाहुरीले यस क्षेत्रका नागरिकहरूलाई थप समस्यामा परेको छ। केही स्थानमा रहेका डिप बोरिङ पनि विद्युत् अवरुद्ध भएपछि बन्द भएका छन्।

पानीको सबैभन्दा बढी अभाव सृजना भएको गोदावरी नगरपालिका-१० भागेश्वरमा वडा कार्यायलले जेनेरेटर किनेर डिप बोरिङ चलाइरहेको छ, जहाँ पानी भर्न आउनेहरुको लर्को लाग्ने गरेको छ। पानीकै समस्या बिराल भएपछि वडा कार्यालयले जेनेरेटर किनेर पानीको तत्कालीन समस्या समाधान गरेको  वडा नम्बर १० का वडाध्यक्ष रवीन्द्र शाहीले बताए।

‘यो हाम्रो एक्लो प्रयास हो’ उनले भने ‘न त प्रदेश सरकारले सहयोग गर्‍यो  न केन्द्र सरकारले।’ पानीको अभावले  ३ सय घरधुरी रहेको उत्त क्षेत्रबाट करिब १५० परिवार बसाइँसराइ गरिसकेको उनले बताए।

गोदावरी को चुरे फेदीका बस्तीमा वर्षौँदेखि खानेपानीको हाहाकार भइरहेको छ। तर पनि सरोकार वाला निकायले चासो दिन सकेका छैनन्। तीनै तहको निर्वाचनमा पानीको एजेन्डा बोकेर चुनाव जितेका नेताहरूले पनि समस्याको समाधान गर्न पहल नगरेको सर्वसाधारणको आरोप छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.