|

काठमाडौं : सरकारको नेतृत्व गरिरहेको दल नेपाल कम्युनिस्ट पार्टीका सांसद रामवीर मानन्धरले गुठी संस्कृतिलाई सामन्तवाद भनेको भन्दै संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिनुपर्ने माग गरेका छन्।

शनिबार रिपोर्टर्स क्लबको साक्षात्कारमा बोल्दै सांसद मानन्धरले गुठी विधेयकको विरोधमा सडकमा ओर्लिएका जनताको माग सम्बोधन गर्नुको सट्टा मन्त्री बाँस्कोटाले आगोमा ध्यू थप्ने अभिव्यक्ति दिएको भन्दै राजीनामा दिनुपर्ने माग गरेका हुन्। मन्त्री बाँस्कोटाको भनाइले गुठी संस्कृतिको अपमान गरेको, धर्म र जातीबीच लडाईँ गराउन खोजेको भन्दै उनले अपमान गर्ने विभागीय मन्त्री पद्मा अर्यालय र सरकारका प्रवत्ताको दिनगन्ती शुरु भएको बताए।

मानन्धरले भने, ‘मन्त्रीहरूको दिनगन्ती सुरु हुन्छ। याद गर्नुहोस्।  गणतन्त्रको पनि दिनगन्ती सुरु हुन्छ कि भन्ने हामीलाई चिन्ता लागिरहेको छ।‘

सांसद मानन्धरले सरकारले गुठी विधेयक फिर्ता नलिए काठमाडौंमा आन्दोलन चर्काउने चेतावनी दिए। उनले वधेयक फिर्ताको विषयलाई सरकारको प्रतिष्ठासँग जोड्ने काम भयो भने त्यसले सरकारलाई नै नोक्सान पुर्‍याउने दाबी गरे। उनले २४० वर्षे  राजतन्त्रलाई फाले जस्तै जनताले यो सरकारलाई पनि फाल्ने चेतावनी दिए।

सांसद मानन्धरले भने, ‘मन्त्री पद्मा अर्यालले पनि यो कुरा बुझ्नुपर्छ। सुन्नुपर्छ। फेबदल गरेर कसैको इज्जत र जात जाँदैन। जात र इज्जतको लागि गरेको हो भने गर्नुहोस्। केही फरक परेन तर त्यो जात र इज्जत पनि यो देशबाट निकाला हुन सक्छ है फेरि। किनभने २४० वर्षको राजतन्त्रलाई निकाल्ने हामी जस्तै कार्यकर्ता हुन्। नेपाली जनता हुन्। त्यसकारण यसलाई ठूलो स्वरले भन्यो भन्ने नठान्नुहोला। यदि यो विधेयक बारे २ गते प्रधानमन्त्रीले केही बोलेनन् भने ४ गते हेर्नुहोला। फेरी पनि मैले दोहोर्‍याएर भन्छु ४ गते पर्खेर बस्नोस्। ४ गते उपत्यकामा तपाईं हामीले सोचेको जस्तो दिन हुनेछैन।‘

सँगसँगै राजसंस्थाविरुद्ध लडेर आएकाहरूमाथि नै सरकारले दमनको नीति लिएको भन्दै उनले आक्रोश पोखेका थिए। उनले भने, ‘आफ्नो औकात नबिर्सनुहोला, काठमाडौंमा कसरी बस्नुभएको थियो? के गर्नुभएको थियो? के खानुभएको थियो? कुन घरमा सुत्नुभएको थियो? कसरी संरक्षण थियो? त्यो ख्याल गर्नुहोला।‘

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भिमसेनदास प्रधानले गुठी विधेयक फिर्ता नभए सरकार संकटमा पर्ने चेतावनी दिए।

उनले भने, ‘सरकारले बुझोस्। राजा फाल्ने शक्तिले तपाईंलाई फाल्ने मान्त्रै होइन तपाईंलाई मासमा ल्याएर धुलोपीठो बनाउँछ जनताले। याद गरोस् यो सरकारले।‘ उनले भूमिगत बसेर हुर्केका कम्युनिष्ट नेताहरूले आश्रय दिने नेवार समुदायलाई नै अपमान गर्नु बिडम्बनापूर्ण भएको टिप्पणी गरे।

संस्कृतिविद् डाक्टर गोविन्द टण्डनले सरकारले सबैको सहमतिमा राष्ट्रिय गुठी आयोग गठन गरेर निजी र सार्वजनिक गुठीको संञ्चालन गरि सम्पदाको संरक्षण गरि परम्परालाई कायम राख्नुपर्ने तर्क गरे।

गुठी विधेयकको सडक देखि सदनसम्म विरोध हुँदै आएको छ। राजधानी लगायत मुलुकका विभिन्न स्थानमा दिनहुँजसो गुठी विधेयकको विरोधमा प्रर्दशन हुँदै आएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.