|

  • अनुश्रुति

हे मेरो देवता

देवादिदेव महादेव

तिम्रा दूतहरूसँग

अमृत पठाउदा पठाउदा

म थाकिसकेँ !

कतिन्जेल

मैले पठाएको अमृत घटघट पिएर

मेरो लागि

बिषको प्रसाद फिर्ता पठाउछौ हँ?

कालो बटुकीमा ...

थाहा छ तिमीलाई!?

तिमीले पठाएका सबै बिष

मेरो घाँटीमा अड्काएकी छु

मलाइ निलकण्ठ हुन मन्जुर छ

त्यहि बिष

तिमीलाइ फिर्ता पठाउन मन्जुर छैन !

औडाहा भएको

तिम्रो अनुहारमा झल्केको पिडा

हेर्न

सुन्न

मन्जुर छैन !

देवदूतको सामु

तिमीले पठाएका विषका एकएक थोपाहरू

तिमीले प्रेमले पठाएको भन्दै मुस्कुराउदै निल्दैछु !

बिषले पोलिएकी म

भित्रभित्रै पीडा सहेको देखेका छौ?

तिमीले पलपल चोट दिँदा पनि

तिमीले पलपल घात गर्दा पनि

मुस्कराएर तिम्रै भर परिरहेँ

आफैँ दोषी बनिरहेँ !

सायद

तिमीलाई आफ्नो भनेर

बारबार भूल गरिरहेँ

भनन मेरो देवता

कहिलेसम्म पत्थर बनेर

मन्दिरभित्रै सजिन्छौ ?

फूल

माला

अविर लगाएर

फल खाएर

लड्डु खाएर

धूपको सुगन्धमा रमाउँदै

कुन जुनीसम्म

शंखघण्टको आवाजमा

मन्त्रमुग्ध भइरहन्छौ ?

कतिन्जेल मलाई छल गरेर

अनेक रूप धर्छौ ?

सतीदेवी

गौरी

गोमासँग रासलिला गर्छौ?

कति स्वाङ् गर्छौ

 मेरै मायामा पागल छु भनेर !?

नपठाउ विष्णु

नपठाउ जालन्धरहरू

मलाई छल गर्नलाई

मेरो परीक्षा लिनलाई

नधर मृगमृग रूप

किरात रूप !

म हरहालतले

काँडा टेक्दैटेक्दै

वार नाघ्दैनाघ्दै

मृग रूप लिई

किरात रूप धरी

पहिल्याछु

तिमीलाई

सजाउँछु

तिमीलाई

मेरो शिरको ताज बनाएर !

लुकाउछु तिमीलाई

मेरो मुटुको धड्कन बनाएर !

हे झेली महादेव

कति लिन्छौ हँ मेरो प्रेम परीक्षा ?

मेरो मर्म छेदन गर्दै

किन त्रिशूल प्रहार गरिरहन्छौ ?

तिमीलाई थाहा छ ?

हरेक बिहान

मेरो आँखाको नानीमा

तिमी नै उदाउँछौ

मनमटुमा तिमी नै नाचिरहन्छौ !

मेरो

प्रत्येक ढुकढुकीले

प्रत्येक स्वासले

तिम्रै पूजा गर्दछ !

मेरो मुखले तिम्रै नाम जप्दछ !

म यी मेरा दुइ हातले तिम्रै आराधना गर्दछ !

आराधना गर्दछु

प्रवेशद्वारमा तैनाथ छन्

पुत्र गणेश

कुमार

उनले बिनामेरो अनुमति

कसैलाई दिँदैनन् प्रवेश!

भो-भो मेरो सेवामा

कुनै अप्सराहरू नपठाऊ

भो नपठाऊ कुनै देवदूतहरू

मलाई उनीहरूलाई कविता सुनाउनु छैन

मलाई उनीहरूसँग गीत गुनगुनाउनु छैन

वस्

तिमी मेरोसामू आउ

तिमी धड्किएको मेरो मुटुमा

मायाको हवाइजहाज उडाउ

मलाई मन्जुर छ तिमीभित्रै रित्तिन

मन्जुर छैन तिमीलाई गुमाउन

भो म सक्दिन !

अरूसँग रमाउन ?

हे मेरो ताण्डव नृत्यवाला

मलाई तिमीसँगै गुनगुनाउनु छ

जीवन गीत !

हे मेरो मनको देवता !

पार्वतीको प्रेम

कच्चा नठान

हे मेरो भोलेनाथ

 मेरो प्यारो महादेव !

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.