|

रसुवा : चीनसँगको एक मात्र अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा चीनले कडाई गर्न थालेको छ। पछिल्लो समय अवैध रुपमा तस्करी बढेसँगै चीनले कडाई गर्न थालेको हो।

कडाइ गरेसँगै चिनियाँ भन्सारले चार किलो सुनसहित एक नेपालीलाई पक्राउ गरेको स्रोतले जनाएको छ। जिल्लाको कालिका गाउँपालिका ५ का ३० वर्षीय समिर परियारलाई सुनसहित पक्राउ गरिएको बताइएको छ। जेठ २० गते केरुङबाट स्याउ लिएर नेपाल तर्फ आउँदै गरेको ना २ ख ६४०१ नम्बरको कन्टेनरमा चेकजाँचको क्रममा रसुवागढीमा रहेको चिनियाँ भन्सारले पक्राउ गरेको नाम नबताउने सर्तमा स्रोतले जनाएको छ। उक्त सुन स्याउको पेटीमा लुकाइछिपाइ  नेपाल भित्राउन लागिएको बुझिएको छ।

करिब १५ दिनअघि चिनियाँ भन्सारले एक्सरे मेसिन जडान गरेको छ। मेसिनले गाडीमा कुनकुन सामाग्री ल्याएको छ भन्ने प्रष्ट देख्न सकिने बताइएको छ।

नेपालतर्फ सुन पक्राउ गरेको धेरै घटनाहरु छन् तर चीनले भने इतिहासमा पहिलो पटक सुनसहित पक्राउ गरेको बताइएको छ। पक्राउ परेका परियारलाई चिनियाँ भन्सारले सिगात्से लगेको स्रोतले जनाएको छ।  तर उनको अवस्थाबारे नेपाली पक्षलाई कुनै पनि जानकारी नभएको बताइएको छ।

सुन पक्राउको विषयमा चर्चा भए पनि चिनियाँ पक्षबाट औपचारिक जानकारी नआएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भन्डारीले बताए। उनले भने 'बाहिर हल्ला हरु सुनीनमा आएको छ, तर चीनिया पक्षले हामीलाई औपचारिक जानकारी दिएको छैन्।'

पछिल्लो समय रसुवागढी नाकामा तस्करी बढेको चर्चा हुनथालेपछि चीनको केरुङ प्रशासन र नेपालतर्फको रसुवा प्रशासनले तस्करी नियन्त्रणका लागि कडाई गरिरहेको समेत भन्डारीले बताए। उनले भने 'नाकाबाट हुने अवैध तस्करी नियन्त्रणका लागि दुवै देशको प्रशासनले समन्वयात्मक रुपमा अघि बढेका छौँ।'

त्यस्तै, पछिल्लो समय सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भई चीनले रसुवागढी नाकालाई अन्तर्राष्ट्रिय नाकाको रुपमा घोषणा गरे सँगै सुन तस्करीको दर बढ्दै गएको छ। जसले गर्दा पछिल्लो समय रसुवागढी नाका सुन तस्करीको ट्रान्जिट पोइन्ट बन्दै गएको छ।

तातोपानी नाका बन्द भएपछि रसुवागढी नाकावाट तस्करी बढिरहेको पाइएपछि रसुवामा सुरक्षा निकायले नियमनमा कडाई गरेपनि दैनिक जसो नै रसुवाबाट अबैध सुनको तस्करी भइरहेको बताइँदै आएको छ। नेपाल चीन र भारत जोड्ने त्रिदेशीय मार्गको रुपमा विस्तार भइरहेको रसुवागढी नाकामा पछिल्लो समय सुन तस्करी हुने क्रम बढ्न थालेको हो। सिमा नाकामा अबैध रुपमा तस्करी बढेसँगै नेपाल तर्फ प्रहरीले विशेष निगरानी गरिरहेको जनाएको छ भने चीनले पनि विशेष निगरानी बढाएको बताइएको छ ।

भूकम्प र पहिरोका कारण सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि सञ्चालनका आएको रसुवागढी नाकाबाट २०७१ सालदेखि नै सुन तस्करीको घटना सुरु भएको देखिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.