|

काठमाडौं : सातवटै प्रदेशले आज आफ्नो दोस्रो बजेट ल्याउँदैछन्।

अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले प्रदेश सरकारले असार १ गते नै बजेट ल्याउनुपर्ने व्यवस्था गरे अनुसार प्रदेश सरकारहरुले आज बजेट सार्बजनिक गर्न लागेका हुन्। प्रदेश नम्बर १ ले गतवर्षकै हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ। चालु आर्थिक वर्षमा ३५ अर्ब ९३ करोडको बजेट सार्वजनिक गरेको प्रदेश नम्बर १ ले आगामी आर्थिक बर्षका लागी करिब ३६ अर्ब रुपैयाँको बजेट ल्याउन लागेको प्रदेश योजना आयोगले जनाएको छ । 

प्रदेश नम्बर २ ले करिब ३२ देखि ३४ अर्ब रुपैयाँ सम्मको बजेट ल्याउने गृहकार्य गरेको छ। चालु आर्थिक बर्षका लागी २९ अर्ब रुपैयाँको बजेट ल्याएको प्रदेश नम्बर २ ले करिब ४ अर्बको बजेट बृद्धि गर्दै बजेट ल्याउने तयारी गरेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ। यस्तै प्रदेश नम्बर ३ ले सबैभन्दा धेरै ५० अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ। पहिलो वर्ष ३५ अर्ब ६१ करोड रुपैयाँ बजेट ल्याएको प्रदेश नम्बर ३ ले आगामी आर्थिक बर्षका लागि करिब ५० अर्ब हाराहारीको बजेट ल्याउने गृहकार्य गरेको हो।  त्यस्तै गण्डकी प्रदेशले आगामी आर्थिक बर्षका लागी करिब ६ अर्बले वृद्धि गरी ३० अर्ब रुपैयाँको हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ।  

प्रदेश नम्बर ५ ले झन्डै २५ प्रतिशतले बजेट वृद्धि गर्ने गरी ३५ अर्ब हाराहारीको ल्याउँदै छ। प्रदेश नम्बर ५ ले पहिलो वर्ष २८ अर्बको बजेट ल्याएको थियो। यस्तै कर्णाली प्रदेशले केन्द्र सरकारसँग ऋण नलिने गरी बजेट ल्याउने जनाएको छ। बजेटको आकार भने ३० देखि ३२ अर्ब रुपैयाँ हाराहारीको हुने आर्थिक तथा योजना मन्त्री प्रकाश ज्वालाले जानकारी दिए । सुदूरपश्चिम प्रदेशले  सबैभन्दा सानो बजेट ल्याउने तयारी गरेको छ । गतबर्ष २५ अर्ब रुपैंयाको बजेट ल्याएको सुदूरपश्चिम प्रदेशले अहिले करिब ४ अर्ब रुपैयाँले बजेटको आकार वृद्धि गरेर बजेट ल्याउने तयारी गरेको छ। प्रदेशहरुले पहिलो बजेटमध्ये औसतमा २२ प्रतिशत मात्र खर्च गरेका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.