झापाको तापक्रम ३५ डिग्रीभन्दा बढी हुँदा कन्याममा १९ डिग्री

|

इलाम : मौसमविज्ञहरुका अनुसार यस वर्ष नेपालमा मनसुन केही साता ढिलो हुने भएको छ। लामो समयसम्म पानी नपर्दा र मनसुन समयमै सुरु नहुँदा तराईमा खपिनसक्नु गर्मी बढेको छ।

यस गर्मीबाट प्रदेश १ को तराई क्षेत्रमा पर्ने जिल्लाहरु पनि अछुतो छैन। ३८ डिग्रीभन्दा बढी तापक्रममा हुँदा दिउँसो सडकमा हिँडिसक्ने अवस्था छैन। गर्मीले जनजीवन प्रभावित बनेको छ। 

तराईमा यस्तो गर्मी भए पनि नजिकैको इलामको कन्याममा शनिबार १९ डिग्री तापक्रम थियो। झापाबाट केही माथि उक्लेपछि पुगिने कन्याममा गर्मीबाट छलिन आन्तरिक पर्यटक बाक्लिन थालेको छ। अझ शनिबारको दिन त मेची राजमार्गमै पर्ने यस क्षेत्रमा ट्राफिक जाम नै हुन थालेको छ। बाह्रै महिना पर्यटकहरूको घुइँचो लागे पनि गर्मीको त्यो संख्या अझ बढी हुन्छ। 

धरानबाट घुम्न आएका दिपन लिम्बु कन्यामलाई पूर्वको स्वर्गको उपमा दिए। ‘३२ डिग्रीको तातोबाट कन्याम प्रवेश गर्दा एसीमा छिरे झै लाग्यो’ शनिवार कन्याम भेटिएका उनले भने।

साँझ पर्दै जाँदा कन्याममा पर्यटकहरुको चाप पनि बढ्दै जान्छ। रात अन्तुमा बिताउने योजना बनाएर आउने पर्यटकहरु साँझ मात्र कन्याम आइपुग्छन्। सूर्योदय नगरपालिकाको कन्याम–अन्तु सर्किट पर्यटकहरुको प्रमुख रोजाइ बन्न पुगेको छ। वडा नम्बर ६ का अध्यक्ष शिव बस्नेत कन्याममा अझै लगानी आवश्यक रहेको बताउँछन्। ‘पर्यटकहरुको चाप दिनानु दिन बढ्दैछ लगानीकर्ताहरु पनि कन्यामप्रति आर्कषित छन्,’ उनले सुनाए, ‘आज मात्रै ५० करोड लगानी गर्न एउटा समूह आएको छ।’

कन्याम क्षेत्रमा रहेको घोडा र नेपाली मौलिक पहिरनमा रमाउने पर्यटकहरुको कमी छैनन्। कन्यामको चिया बगानमा फोटो खिच्ने र घोडा चढ्ने काम पर्यटकहरुको प्रमुख आकर्षण हो। ग्रामीण परिवेशमा घोडा चढ्नु नौलो नभए पनि सहरी परिवेशका तथा बाह्य पर्यटकहरुका लागि नौलो र आकर्षक काम बनेको छ। बाह्रै महिना पर्यटकको चाप हुने यस क्षेत्रलाई प्रदेश १ सरकारले सूर्योदय नगरपालिकालाई पर्यटकीय गन्तव्य घोषणा गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.