ब्लग

भूमे धून सुन्दै हुर्किएका हामी

असार १, २०७६

    हामी केटाकेटी छँदा हो, दाङमा रोल्पा, रुकुमका मगरहरू बसाइँ सर्ने क्रम शुरू भएको। हामी बढ्दै गयौं उनीहरूको संख्या बाक्लिँदै गयो। हामीले खाम बोल्ने भनेर चिन्थ्यौं उनीहरूलाई। खाम बोल्ने अर्थात् मगर खाम कुरा बोल्ने। खाम भनेको मगर भाषामा भाषा हो। यो पश्चिमका मगर खासगरी रोल्पा, रुकुम क्षेत्रमा बढी बोल्ने गरिन्छ।

    हाम्रो गाउँमा पनि मगर खाम कुरा गर्नेहरू बाक्लिँदै गए। अहिले त लगभग हाम्रो गाउँ ‘सुपैलाखुटी’मा उनीहरूकै संख्या बढी हुदैछ होला। अर्थात् हामी पुराना वस्ती भएका धेरै त्यहाँ छैनन्। बसाइँ सरेर वा विभिन्न कारणले गाउँ छाडे।

    हाम्रो गाउँ घोराही बजारबाट नजिकै छ। दाङ गर्मी ठाउँ भए पनि हाम्रो गाउँ उत्तरतिरको महाभारत पर्वतको फेदैमा पर्छ। त्यही पहाडको बनपाखाहरूमा घाँस र दाउराको भारी बोक्दै हुर्किएका हौँ। म स्कुल पढ्दासम्म त्यहाँ घाँस, दाउरा काट्न जंगल जाने चलन निकै थियो। बिदा दिन तथा अन्य दिन बिहान बेलुकीको समय मिलाएर निकै बनतिर कुद्थ्यौं हामी। घरमा दाउराको खल्यान लगाउने प्रतिस्पर्धा हुन्थ्यौं एउटै उमेरका दाजुभाइ, दिदीबहिनीबीच।

    हामी बढ्दै गयौं गाउँमा पनि नयाँ मान्छेहरू बढ्दै गए। उनीहरू विस्तारै हाम्रा छिमेकी भए। कुनै न कुनै नातेदारमा बदलिँदै गए। उनका छोराछोरीहरू मित्र बने। उनीहरूसँगै उनले बोल्ने भाषा, लगाउने पोशाक, मान्ने चाडपर्व आफ्नो जस्तै लाग्न थाले। त्यसै पनि एउटै समुदाय भएकाले आफ्नै जस्तो नलागेको होइन। बच्चा दिमाग र मनले के सोच्थ्यो कुन्नी उनीहरू आफ्नै जस्तो लाग्थ्यो। खानपान, रहनसहन सबै उस्तै थिए। भाषामा मात्रै हामीसँग मात्रृभाषा थिएन। उनीहरू पुर्खाले जोगाउदै आएको मात्रृभाषा खररर बोल्थे हामी अनौठो मानेर सुन्थ्यौँ।

    हामी खाम भाषी मगरलाई सेस(लेक)बाट आएका भन्थ्यौं। उनीहरूले हामीलाई ‘बर्मेनी’ भन्दा रहेछन्। जो मैले धेरै पछि मात्रै थाहा पाए। बर्मेनीको अर्थ मलाई अझै पनि थाहा छैन। यसको अर्थ के होला भनेर केहीलाई सोधेकी पनि थिएँ। तर, उपयुक्त उत्तर पाउन सकिनँ। तर, खाम बोल्ने मगरहरूले हामीलाई बर्मेनी नै भन्छन्।

    त्यसो त हामी पनि मगर नै हौं। तर पहिचान हराएको मगरभन्दा हुन्छ होला। नेपालको २०६८ सालको राष्ट्रिय जनगणनाअनुसार २० लाख बढी मगर समुदायको जनसंख्या छ। यो नेपालमा बसोबास गर्ने आदिवासी जनजाति समुदायमध्येकै ठूलो जनसंख्या हो। नेपाल मगर संघ यसमा धेरै संख्या छुटेको दाबी गर्छ। त्यसो त मगर समुदाय यस्तो समुदाय हो जो हिमाल, पहाड, तराई, पूर्व-पश्चिम सबै क्षेत्रमा बसोबास गर्दै आएको छ। तर यसको मूलबसोबास भनेको पहाडी क्षेत्रमै हो।

    पहाडबाट बसाइँ सरेर आउने मगरहरूले सँगै आफ्नो परम्परा, रितिरिवाज, भेषाभूषा, भाषा बोकेर आए। तर, हामी पहिलेदेखि दाङमा बस्दै आएका मगर समुदाय यी कुराबाट निकै टाढा छौँ। कहिलेकाहीँ मलाई लाग्थ्यो हाम्रा पुर्खाले आफ्नो भाषा किन नबोलेका होलान्। बोलिरहेको भए आज हामी पनि बोल्न सक्थ्यौं होला।

    त्यसो त राणाकालमा यहाँका आदिवासीहरूले आफ्नो मातृभाषा बोल्न नपाएको कुरा त यहाँलाई जानकारी नै छ। सायद त्यही कारण हुन सक्छ हाम्रा पुर्खाले दाङमा आएर आफ्नो मातृभाषा बोल्न छाडेको। तर, मलाई अहिले किन छाड्नुपरेको आफ्नो भाषा भन्ने महसुस हुन्छ।

    मेरा घरपरिवार मात्रै होइन त्यस्ता धेरै आदिवासी समुदाय छन् जो बसाइँसराइको क्रममा अन्यत्र गएपछि आफ्नो भाषा, भेषभूषा, परम्परा बिर्सदै गएका छन्। अहिले जम्मा जनसंख्याको अधिकांश संख्याले आफ्नो भाषा बोल्दैन। यसमा विभिन्न कारण होलान्।

    खैर म अब भूमेतर्फ फर्कन्छु। भूमे देवताको पूजा हामीले पनि दाङमा गर्थ्यौं। हामी मन्दिर धाउने भन्दा पनि बराह, भूमे, देउराली देउता पूज्दै हुर्किएका हौं। हाम्रा पुर्खाले यति कुरा चै बचाइराखिदिएका छन्। अहिलेको नयाँ पुस्ता धेरैलाई यसको बारेमा जानकारी छैन। आधुनिकताका कारण हुनसक्छ उनीहरूलाई त्यति चासो पनि छैन। तर, म सानैदेखि यस्तो कुरामा अलिक चासो राख्थे।

    छोरी मान्छेले पूजापाठ गरिहाल्ने त्यति चलन छैन। तर, मलाई यी सबै कुराहरूमा छुट जस्तै थियो। म घरको नातीनातिनामध्ये जेठो भएको कारण हुनसक्छ जानै हुँदैन भनेका हरेक ठाउँमा मेरो प्रवेश थियो। त्यसकारण सानैमा छोरीमान्छेले यो गर्न हुँदैन भन्ने कुराको सामना खासै गर्नुपरेन।

    मेरो बाजे (डम्बर सिं) समाजका कहलिएकामध्ये हुनुहुन्थ्यो। गाउँदेखि त्यो एरियामै सबैले मान्ने। त्यसैले बच्चैदेखि उहाँले सँगै हिँडाउनुहुन्थ्यो। मलाई  पनि घुम्न खुब मन पर्थ्यो। त्यसैले पनि होला ति पूजापाठ सबै कर्महरूलाई मैले नजिकबाट हेर्न पाएँ। महसुस गर्न पाएँ।

    पहाडबाट बसाइँ सरेर आएकाहरूले आफ्ना चाडपर्व पनि मनाउथे। दशैंतिहार त्यति मनाउने चलन छैन तर भूमे, माघे सकराती भव्य मनाउँछन्। उनीहरूले मनाउने चाडपर्वहरूमा हामी पनि विस्तारै सहभागी हुन थाल्यौं। माघे सकराती त हामीले पनि मनाउने मुख्य पर्व नै हो। तर यसको महत्व के छ? मनाउने विधिहरू के छन् भन्ने बारेमा त्यति जानकारी थिएन।

    तर उनीहरूसँगको संगतले सबै कुराहरू जानकारी हुन थाल्यो। भूमे पर्व रहेछ भनेर ती खाम भाषीहरूकै संगतले थाहा पाए। केटाकेटी भएकाले सबै ठाउँमा जान रहर पनि थियो र मेरालागि भन्ने हो भने चासो बढी थियो। नयाँ कुरा जान्न खोज्ने उत्सुकता बच्चैदेखि उत्पात थियो ममा। त्यै भएर होला हाम्री आमा र फुपूले बच्चामा मलाई कति सुन्नुपरेको ठूलाका कुरा भनेर पनि भन्नुहुन्थ्यो। तर मलाई त जान्नु थियो ती कुराहरू।

    जेठको अन्तिम लागेसँगै खाम भाषी मगरगाउँमा भूमे बाजा घन्किन थाल्थे। त्यै धुनसँगै हामी खुब रमाउँथ्यौं। अब त उनका छोराछोरी हाम्रा साथी भइसकेका थिए। उनीहरूको भाषा नबुझे पनि खस भाषामा कुरा गर्न सक्थ्यौं। त्यसैले उनीहरूको परम्परा पनि आफ्नो बन्दै गए।

    प्रवेशिका पास गरेपछि २०६३ सालमा म सदरमुकाम घोराहीमै बसेर पढ्न, काम गर्न थाले। त्यसले मलाई मगर संघ, मगर विद्यार्थी संघसँग नजिक बनायो। त्यहाँबाट संस्थागत रूपमै भूमे, माघे सकराती लगायतका आफ्ना परम्परा, भेषभूषा, संस्कृतिलाई नजिकबाट बुझ्ने मौका मिल्यो। थुप्रै अग्रज र भाइबहिनीहरूको संगतले म विस्तारै मगर खाम बुझ्न सक्नेसम्म भए। यद्यपि, अहिले फेरि बिर्सन पनि थालेको छु। भाषा भन्ने कुरा प्रयोगमा नआए हराउने कुरा त हो।

    कलेजको पढाइ चल्दै थियो पत्रकार बन्ने हुटहुटीले पत्रकारितातर्फ लागेँ। मगर विद्यार्थी संघको संस्थागत जिम्मेवारीहरू थपिँदै, बढ्दै गए। लेखन पनि विस्तारै राम्रो बन्दै गयो। १७ वर्ष पुगेकी एउटा केटी समाजको हितको कुरा, आफ्नो समुदायको हित, संस्कृति, परम्पराको रक्षा कसरी गर्ने भनेर भाषण गर्ने बन्न पुगेँ। यसले मेरो व्यक्तिगत क्षमताको पनि विकास गर्दै लग्यो। एकठाउँको सिकाइले अर्को ठाउँमा पनि सहयोग गर्दै गयो।

    पढाइ अगाडि बढाउनु, पत्रकारितामा राम्रो गर्नु, सँगै सामाजिक क्षेत्रको काम पनि निरन्तरता दिनु त्यो उमेरमा अलिक गाह्रै कुरा थियो। उमेर कच्चा थियो। हाम्रा समुदायमा त्यतिबेला यस्तो गर भनेर बाटो देखाइदिने अभिभावकको कमी नै थियो। जे गर्‍यो आफ्नै मन सोचेर, बुझेर गर्नुपर्ने अवस्था थियो। तर जेहोस् मैले सकिनसकी अगाडि बढाएँ।

    भूमे खोज्न रोल्पा/रूकुम

    मेरो मामाघर रोल्पा। म दाङ जन्मिएर कहिलेकाँही म पनि रोल्पा जन्मिनुपर्ने नि भनेजस्तो लाग्थ्यो। कति कुरा त्यहाँका मान्छेले बच्चैमा सिकेर आउँदा रहेछन् भन्ने महसुस हुन्थ्यो। त्यसैले २०५९ सालमा म रोल्पा गएँ पढ्न। पहाडमा अवश्य पनि दाङभन्दा ३/४ गुणा बढी दु:ख थियो। घरको सबै काम सकेर आधा/एक घण्टा उकालो/ओरालो हिँडेर स्कुल जान्थ्यौँ।

    त्यतिबेला माओवादी युद्ध चलिरहेको थियो। जसले सन्त्रास पनि उत्तिकै थियो। चार वर्ष रोल्पा बसेर २०६२ सालमा एसएलसी पास गरेपछि दाङ झरेँ म। दाङ झरेपछि जीवनमा धेरै कुरा परिवर्तन हुँदै गए। कतिपय स्वाभाविक परिवर्तन थिए भने कतिपय मेरा इच्छा, बाध्यताका परिवर्तन थिए। तर, ती कुराले मलाई मेरो जीवनमा फाइदा धेरै घाटा कम गरेका छन् भन्ने लाग्छ। हरेक कुराको राम्रो र नराम्रो पाटाहरू त छन् नै तर पनि यसबाट मैले निरन्तर मिहिनेत र लगनशीलताले सफलता नै मिल्छ भन्ने पाठ सिकेकी छु।

    दाङ भूमे धून सुन्दै हुर्किएको मैले मगर संघले आयोजना गर्ने पर्व कार्यक्रमहरूले मात्र पुगेन मलाई। साँच्चिकै मगर गाउँ कस्तो होला? त्यहाँका मान्छेहरू कसरी बाँचेका होलान्? त्यहाँको भूगोल कस्तो होला? अनेक कुराहरूको जिज्ञासा थियो मनमा। त्यही कुरालाई मेट्न म २०६६ सालमा रूकुमतिर हान्निए। मगर खाममा पहिलो फिल्म बन्दैथ्यो 'मोड्याल्नी'।

    मोड्याल्नी भनेको लोकन्ती भनेको हो। ध्रुव पुन मगर र विवेश बुढा मगरले फिल्म निर्माण/निर्देशन गर्दैथिए। उनीहरूकै टिममा म पनि रुकुमतिर हान्निए। साथमा गायिका ज्योति मगर पनि थिइन्। पाल्पा, गुल्मी, बाग्लुङ हुदै कैयौं दिन पैदलयात्रा गरेर रुकुम पुगियो। रूकुमको चर्चित मगर गाउँ तकसेरा, कोल, बाग्लुङको ढोरपाटन लगायतका क्षेत्रमा फिल्मको सुटिङ भयो।

    म केही दिन बसे। त्योबेला रूकुमका केही ठाउँमा मात्रै बाटो पुगेका थिए। बाँकी सबै ठाउँमा पैदलयात्रा गर्नुपर्थ्यो। त्यही बेला हो मैले एक्लै एक दिनको पैदलयात्रा तय गरेँ। पछि रुकुम सदरमुकाम मुसिकोट, सल्यान हुँदै दाङ फर्किएँ।

    अर्को यात्रा २०६७ सालमा गरेँ। त्यो रोल्पा  र रुकुमको थियो। रोल्पाको ऐतिहासिक गाउँ थबाङ, उवा तथा रूकुमको लुगुम गाउँमा यात्रा गरेका थियौँ। अहिलेका नेपाल मगर संघका अध्यक्ष नवीन रोका मगरले भूमेको बारेमा डकुमेन्ट्री बनाउने प्रोजेक्ट थियो। म उनीहरूसँगै हिँडे। त्यहाँ पुगेर भूमेका हरेक विधिहरूमा सहभागी हुने मौका पाएँ। एक दशक पहिलेको कुरा हो। त्योबेला अहिलेजस्तो स्मार्ट फोनको चलन थिएन।

    आइसकेको थियो तर सबैले बोक्न सम्भव थिएन। एउटा सानो सोनीको डिजिटल क्यामेराको भरमा म भूमेका हरेक विधिहरूमा सहभागी भएँ। रुकुमबाट थबाङ हुदै दाङ फर्किएँ। यी कुराहरूले मेरो लेखनयात्रामा धेरै कुरा सिकाएको छ भन्ने लाग्छ। त्यही यात्रामा हो मैले भूमेको बारेमा अध्ययन गरेको हुँ। जो केही समयपछि पुस्तकको रूप पनि दिँदैछु।

    अहिले पश्चिम क्षेत्रका मगरहरूले भूमे पर्व मनाइरहेका छन्। पछिल्लो चरणमा पश्चिम क्षेत्रका मगरहरू देश, विदेश सबै क्षेत्रमा पुगेका छन्। त्यसैले हरेक ठाउँमा भूमे मनाइन्छ। यसले संस्कृति संरक्षणमा थप टेवा दिएको छ भन्ने लाग्छ। तर अधिकांशलाई भूमे भनेको मगरको एउटा नाच हो भन्ने बुझाइ छ।

    यो एउटा रमाइलोका निम्ति गरिने नाच मात्रै होइन। भूमे भनेको मगर समुदायको ऐतिहासिक राज्यसत्ता, भूमिको आराधनासँग जोडिएको विषय हो। इतिहासमा मगर गाउँहरू कसरी सञ्चालन हुन्थे? भन्ने कुरा, आफ्नो भूमिप्रतिको श्रद्धा कसरी व्यक्त गर्दछन् भन्ने कुराहरू भूमे पर्वमा छ।

    यसवर्ष देश तथा विदेशमा भूमे मनाइँदै छ। यसलाई एउटा रमाइलोका रूपमा मात्र भन्दा पनि यसभित्रको वास्तविकतालाई बुझाउन आवश्यक छ भन्ने लाग्छ। खासगरी हाम्रो नयाँ पुस्तालाई यी कुराहरू बुझाउनुपर्छ भन्ने लाग्छ।

    यसवर्ष मैले भूमेका बारेमा लेखिनँ। यसअघिका थुप्रै लेखहरूमा मैले भूमे लेखेकी छु। तर यसवर्ष अनुभव पनि लेख्नुपर्छ जस्तो लागेर भूमे, मगर समुदाय र यससँग जोडिएका अनुभवहरू लेखेर यसवर्षको भूमेको शुभकामना दिन चाहान्छु। धन्यवाद। जेदो (नमस्कार)।

    यो पनि पढ्नुस्ः

देविका घर्ती मगर

देविका थाहाखबरकी संवाददाता हुन्। उनी राजनीतिकसँगै महिला, जनजाति तथा सांस्कृतिक मुद्दामा कलम चलाउँछिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]